विमान दुर्घटनामा ज्यान गुमाएका ४ भारतीय पशुपति दर्शनका लागि आएका थिए नेपाल



काठमाडौं । आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा भारतको उत्तर प्रदेशका चार युवकसहित भारतबाट पाँच जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा ज्यान गुमाउने भारत उत्तर प्रदेशका चारजना नेपाल पशुपति मन्दिरको दर्शनका लागि आएको पाइएको छ ।

भारतीय सञ्चारमाध्यम द इण्डियन एक्सप्रेसले दुर्घटनामा ज्यान गुमाउने पाँचमध्ये उत्तर प्रदेशका अभिषेक कुशवाहा, विशाल शर्मा, अनिल कुमार राजभर र सोनु जायसवाल रहेका छन् । ज्यान गुमाउने पाँचौं भारतीय व्यक्ति सञ्जय जायसवाल रहेका छन् । तर, उनको बारेमा भने कुनै जानकारी उपलब्ध रहेको छैन ।

उत्तर प्रदेशबाट पशुपतिनाथ मन्दिरको दर्शनका लागि आएका चार जनाहरुमा २५ देखि ३० उमेर समूहका रहेको समाचारमा जनाइएको छ ।

भारतको उत्तर प्रदेशको गाजीपुरका उनीहरुको परिवारलाई निधनको जानकारी पुगिसकेको छ । जागीपुर जिल्ला ज्याजिस्ट्रेट आर्यका अखौरीले बताएअनुसार प्रशासनले मृतकको परिवारलाई सम्पर्क गरेको छ ।

भारतीय मिडिया रिपोर्टकाअनुसार निधन भएका चार जनाहरुमध्ये सोनु जायसवालको चक जैनव र अलावलपुरमा घर थियो । तर, उनी हाल वाराणसीमा बस्ने गरेका थिए । त्यस्तै, विशाल शर्मा भारतको अलावलपुर, राजभर चक जैनब र कुशवाहा जागीपुरको नोनहारा क्षेत्रको धरवामा बस्ने गरेका थिए ।

सोनु जायसवाल पेशाले व्यावसायी थिए भने विशाल शर्मा एक निजी कम्पनीमा कार्यरत थिए । त्यस्तै, राजभर र कुशवाहा भने सँगै जागीपुरमा एउटा जनसेवा केन्द्र सञ्चालन गरेर बसेका थिए ।

सोनु जायसवालका बुबा राजेन्द्र जायसवालले बताएअनुसार उनले शनिबार बुहारीलाई सम्पर्क गर्दा छोरा सोनु सुरक्षित नेपाल पुगेको जानकारी पाएका थिए । सोनु र उनकी श्रीमती आफ्ना तीन सन्तानसँगै हालसालै मात्र वाराणसीमा बस्न थालेका थिए । राजेन्द्रले भनेका छन्, ‘जब यो घट्ना भयो, तब सोनु फेसबुक लाइभ गरिरहेको थियो । सामाजिन सञ्जालमा उसको प्लेन भित्रको भिडियो आएको थियो ।’

आफूले शनिबार मात्रै बुहारीलाई सम्पर्क गरेर छोराको बारेमा बुझेको पनि उनी बताउँछन् ।

द इण्डियन एक्सप्रेसको समाचारमा उल्लेख गरिए अनुसार यी चारै जना पशुपतिनाथ मन्दिरको दर्शनका लागि आएका थिए । राजेन्द्र भन्छन्, ‘सोनु धेरै समयदेखि पशुपतिनाथ जाने सोच बनाइरहेको थियो । त्यसैले आफ्नो साथीहरुसँगै त्यहाँ जान भनेर निस्किएको थियो ।’

पोखरा विमानस्थल नजिकै भएको दुर्घटनामा ६८ जनाको निधन भएको पुष्टि भइसकेको छ । विमानमा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्यहरु थिए ।


क्लिकमान्डु