गलेश्वर मन्दिरको पाँच महिनाको आम्दानी तीन करोड



म्याग्दी । बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिरमा पाँच महिनाको अवधिमा तीन करोड रुपैयाँभन्दा बढी आम्दानी भएको छ ।

गलेश्वर शिवालय क्षेत्र विकास कोषको बुधबार भएको १७औँ कार्यकारी सभामा चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनाको अवधिमा तीन करोड ३७ लाख रुपैयाँ छ सय ४५ आम्दानी भएको जानकारी गराइएको हो ।

कोषका कोषाध्यक्ष कुमारी रोकाले कर्मचारी तलब, पूजा, संस्कृत विद्यालय र ज्येष्ठ नागरिक आश्रम सञ्चालनमा सो अवधिमा २० लाख दुई हजार खर्च भई तीन करोड १६ लाख ९७ हजार रुपैयाँ बचत भएको जनकारी दिए ।

‘गत असार सम्मको आम्दानी दुई करोड ९० लाख ८२ हजार रुपैयाँ थियो’, उनले भने, ‘खातामा रहेको ब्याज, भक्तजनले चढाएको भेटी, दान र भाडालगायत शीर्षकमा भएको आम्दानीबाट खर्च कटाएर पाँच महिनाको मात्र २६ लाख १५ हजार रुपैयाँ बचत भएको छ ।’

मेलापर्वमा भेटी २२ लाख ५६ हजार, मण्डप भेटी आठ लाख २२ हजार, ब्याज आम्दानी पाँच लाख ५९ हजार, यज्ञ दर्ताबापत एक लाख ६३ हजार, यात्री निवास शुल्कबाट एक लाख ३१ हजार, दान दुई लाख ५८ हजार ८६, जिन्सी सामान बिक्रीबाट एक लाख ९९ हजार र स्टल भाडा दुई लाख २२ हजार रुपैयाँ सङ्कलन भएको छ ।

आव २०७८/७९ मा रु ४० लाख ८५ हजार भेटीसहित ९१ लाख ८२ हजार रुपैयाँ आम्दानी भएको थियो । भेटी, महायज्ञबाट सङ्कलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब दश करोड रुपैयाँको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए ।

‘गलेश्वरमा भक्तजनले चढाउने भेटी मेलाको भोलिपल्टै र अन्य समयमा मासिकरुपमा गनेर सार्वजनिक गर्ने गरिएको छ’, उनले भने, ‘भेटी व्यवस्थित गर्न थालेपछि दानवीरले खुलेर सहयोग गर्न थालेका छन् ।’

डभरत संस्कृत माविका तीन शिक्षकको तलबका लागि मासिक ७२ हजार रुपैयाँ, आश्रमका ज्येष्ठ नागरिक र तीर्थयात्रीलाई भोजन गराउँदै आएको अन्न क्षेत्रका भान्छेलाई मासिक रु १७ हजार तलब मन्दिरको आम्दानीबाट दिने गरिएको छ ।

कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ ।

हिन्दू धर्मग्रन्थमा सतीदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउनको सोमबार, बालाचर्तुदशी र शिवरात्रि पर्वमा विशेष मेला लाग्छ । अन्य समय दैनिक पूजाआजा हुने गलेश्वर मन्दिरमा भक्तजनको चाप पनि बढ्दै गएको छ ।


क्लिकमान्डु