प्रचण्डलाई नेपालको आग्रह: आफैंलाई सर्वेसर्वा ठान्ने प्रवृत्तिको पछि नलाग्नुस्



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफैंलाई सर्वेसर्वा ठान्ने प्रवृत्तिको पछि नलाग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् ।

प्रतिनिधि सभा विघटन गर्न नहुने संविधानको व्यवस्थालाई अझै स्वीकार नगर्ने ओलीले आफूलाई सुप्रिमो ठान्ने गरेको उल्लेख गर्दै उनले त्यस्तो नहुन प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका हुन् ।

पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले भ्रष्टाचार नियन्त्रण गर्ने, विकास, निर्माणको कामलाई गतिदिने आशा र अपेक्षासहित आफ्नो पार्टीले प्रधानमन्त्री प्रचण्डलाई १५ बूदे शर्तसहित विश्वासको मत दिएको बताए ।
‘मैले जे गरेँ, ठिक गरेँ । शिक्षा नलिने, नचेत्ने, त्रुटि भएको महसुस नगर्ने, अहंकार प्रर्दशन गर्ने, सबै कुराको ज्ञाता मै छु भन्ने ठान्ने, आफूलाई सुप्रिम र सुप्रिमो ठान्ने नेपाली राजनीतिमा यो प्रवृत्ति देखिन्छ,’ उनले भने, ‘ यो प्रवृत्तिको सरकार वर्तमान प्रधानमन्त्री नभइदिनु होला । मेरो आग्रह छ ।’

अध्यक्ष नेपालले प्रतिनिधिसभा विघटन गर्न नमिल्ने संविधानको व्यवस्था भए पनि केपी ओलीले आफूले ठिक गरे भनेर अझै पनि अहंकार प्रस्तुत गरिरहेको बताए ।


क्लिकमान्डु