नारायणगढ–मुग्लिन सडक: पुस ३० र माघ १ गते दिउँसो पनि खुला गरिँदै



चितवन । हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सक्रान्ति मेलालाई लक्षित गरी नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन खुला रहने भएको छ ।

यही पुस ३० र आगामी माघ १ गते दुई दिन दिउँसोको समयमा पनि खुला गर्न लागिएको हो ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार ती दुई दिन दिउँसोको चार घण्टा सडक रोकेर गरिँदै आएको काम स्थगन गरिने छ ।

तीर्थालुको चाप बढी हुने भएकाले सडक खुला राख्न लागिएको उनले बताए ।

अहिले सो सडकखण्डमा बिहान ११ देखि दिउँसो ३ बजेसम्म सवारी रोकेर पुल निर्माणका लागि भित्तो काट्ने काम भइरहेको ।

देवघाटमा स्नान गर्न विदेशीसहित देशैभरबाट भक्तजन आउने गर्दछन्। देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीका अनुसार पाँच लाखभन्दा बढी भक्तजन आउने अपेक्षा गरिएको छ ।

गएका वर्षहरूमा कोभिडका कारण आउन नपाएकाहरू यस वर्ष आउने अनुमानका साथ तयारी गरिएको उनले बताए ।

देवघाटबाट त्रिशूली वारपार गर्ने झोलुङ्गे पुलको मर्मत गरिसकिएको छ। वेणीमा वारपार गर्न २२ वटा र्‍याफ्टिङको व्यवस्था गरिएको छ ।

दासढुङ्गामा पक्की पुल भएकाले देवघाटको वेणीमा स्नान र दर्शन गर्न चाहनेलाई सोही पुल प्रयोग गर्न आह्वान गरिएको छ। यसका कारण झोलुङ्गे पुल र डुङ्गाको चाप घट्ने अनुमान छ ।

समितिले एक सय ५१ सदस्यीय मूल समिति र उपसमिति निर्माण गरेर काम गरिरहेको छ ।

मुख्यरूपमा स्नान गर्न आउनेहरू पानीमा डुब्न सक्ने भएकाले नेपाली सेना, नेपाल प्रहरी र क्षेत्र विकास समितिले तयार गरेका उद्धार टोली तयारी अवस्थामा राखिँदै छ ।

विद्युत्, खानेपानी, यातायात, पार्किङ, शौचालय लगायतलाई व्यवस्थित गर्न विभिन्न उपसमिति बनेका छन् ।

सवारीको अत्यधिक चाप हुने भएकाले पुस ३० गते बेलुकादेखि माघ १ गते बेलुकासम्म देवघाट आवतजावतका लागि एकतर्फी बाटो तय गरिएको छ ।

देवघाट जानेहरूलाई रामनगर हुँदै जानुपर्ने छ भने फर्किँदा आँपटारीको बाटो प्रयोग गर्नुपर्ने छ। दासढुङ्गाको पुलतर्फबाट भने जाने आउने दुवै सुविधा रहने छ ।

पुस मसान्तको बिहान त्रिवेणीमा बाँसको लिङ्गो गाडी पूजा गरेर मकर सङ्क्रान्ति मेलाको शुभारम्भ गरिने छ ।

मकर मेलामा देवघाटमा स्नान गरेरमा पुण्य प्राप्ति हुने जनविश्वास रहिआएको छ।


क्लिकमान्डु