चेक अनादर, बैंकिङ कसूर लगायतका मुद्दामा फरारलाई धमाधम पक्राउ गर्दै प्रहरी, एक सातामा ६५ पक्राउ



काठमाडौं । नेपाल प्रहरीले चेक अनादर, बैंकिङ कसूर, जुवा, लेनदेन लगायतका मुद्दामा बर्षोदेखि फरार रहेको व्यक्तिलाई धमाधम पक्राउ गर्न थालेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले अहिले परिसरले ३५ वर्ष पुराना दोषीलाई समेत पक्राउ गरी कारबाहीको प्रकृया अघि बढाएको बताए ।

अदालतबाट बिभिन्न मितिमा फैसला भई कैद र जरिवाना ठेकिएका ६५ जना ब्यक्तिलाई परिसरले पुस १२ गतेदेखि १७ गतेसम्म पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालत समक्ष पेश गरेको मैनालीले जानकारी दिए । अदालतद्वारा ६५ जनाबाट १० बर्ष ७ महिना ४५ दिन कैद र जरिवाना वापत २७ लाख २१ हजार २९३ असुल उपर गरिएको परिसर प्रवक्ता समेत रहेका मैनालीले बताए ।

यस्तै पुस १७ गते ज्यान मार्ने उद्योग, जालसाँजी, बाल यौन दुरुपयोग, चेक अनादर, बैंकिङ कसूर, सवारी ज्यान, जुवा, लेनदेन बिगो र आफूलाई फाइदा तथा बैंकलाई हानी पुर्‍याउने लगायतका कसूर मुद्दामा भएका फैसला कार्यान्वयन गर्ने क्रममा २६ जनालाई पक्राउ गरिएको छ । सबैलाई अदालतसमक्ष पेश गराइएको मैनालीले बताए । अदालतले २६ जनालाई ६ बर्ष ५ महिना १० दिन कैद र जरिवाना बापत ९ लाख ८२ हजार ५०८ रुपैयाँ असुल उपर गरिएको छ ।

प्रहरीका अनुसार २०४४ वैशाख ८ गतेदेखि सवारी ज्यान मुद्दामा अदालतद्वारा ३ हजार ५० रुपैयाँ तोकिएको र सोहि मितिबाट फरार रहेका चन्द्रागिरी नगरपालिका–१५ का ६० बर्षीय दीपक श्रेष्ठलाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएको छ ।

यस्तै पुस १८ गते लागुऔषध, सवारी ज्यान, विद्युतीय कारोवार अपराध, केही सार्वजनिक अपराध, लिखित कीर्ते, कीर्ते जालसाँजी, सम्बन्ध बिच्छेद, बैंकिङ कसूर र जुवा लगायतका कसूर मुद्दामा भएका फैसला कार्यान्वयन गर्ने क्रममा १५ जनालाई पक्राउ गरिएको छ । १५ जनाबाट ४ बर्ष ११ महिना २८ दिन कैद र ३७ लाख ९० हजार ७३१ रुपैयाँ जरिवानाबापत असुल उपर गरिएको मैनालीले बताए ।

यस्तै २०५० साउन ११ गतेदेखि लागूऔषध मुद्दामा अदालतबाट ४ बर्ष ११ महिना १९ दिन कैद र ५ हजार रुपैयाँ फैसला गरी उक्त मितिबाट फरार रहेका काठमाडौं–३० मैतिदेवीका ५९ बर्षीय श्याम कृष्ण शाहीलाई पक्राउ गरी जिल्ला अदालत काठमाडौ पेश गरिएको मैनालीले बताए ।


क्लिकमान्डु