रवि लामिछाने: पार्टी बनेको ६ महिनामै उपप्रधानसहित गृहमन्त्री, पत्रकार हुँदा ओली र प्रचण्डलाई के भन्थे ?



काठमाडौं । समय थियो २०७३ साल वैशाख १९ गते । सञ्चारकर्मीका रुपमा रहेका रवि लामिछानेले त्यो बेला नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘सिधा कुरा प्रधानमन्त्री’सँग नामक कार्यक्रम चलाइरहेका थिए । कार्यक्रमको दोस्रो एपिसोड चलिरहेको थियो ।

त्यो बेला देशमा भूकम्प गएको वर्ष दिन भएको थियो । लामिछानेले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्ना प्रश्नहरुले घेरेका थिए । भूकम्पपछिको पुनः निर्माणमा केन्द्रित रहेको उक्त कार्यक्रममा लामिछानेले सञ्चारकर्मीका रुपमा प्रधानमन्त्री समक्ष प्रश्नहरु अघि सारेका थिए ।

उक्त घट्ना भएको अहिले ६ वर्षभन्दा धेरै भएको छ । अहिले यीनै सञ्चारकर्मी लामिछाने र त्यो बेला लामिछानेको प्रश्नको घेरामा घेरिएका ओली तथा अन्य दलहरुबीच गठबन्धन भएर नयाँ सरकार बनेको छ । र यो सरकारमा लामिछानेले देशको गृह प्रशासन चलाउने मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

उनी नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टीलगायतका अन्य पार्टीहरुसँग मिलेर बनेको गठबन्धनबाट गृहमन्त्री बनेका छन् ।

गत असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका पूर्व सञ्चारकर्मी लामिछानेले आफ्नो करिअरको पहिलो इनिङ्सलाई सञ्चारकर्ममा बिताएपछि दोस्रो इनिङ्सका रुपमा राजनीति सुरु गरेका थिए ।

लामिछानेको राजनीतिक यात्रालाई धेरैले अबको वैकल्पिक राजनीतिको सुरुवातको रुपमा आकंलन गरेका थिए । परम्परागत राजनीतिक दल तथा प्रणालीमार्फत वाक्क दिक्क भएका जनताहरुमाझमा चुनावी मैदानबाट उभिएका लामिछानेमाथिको विश्वास चुनावमा मतको रुपमा मतपेटिकामा खसेको थियो ।

परम्पारगत दलहरु मिलेर खानका लागि गठबन्धन बनाइरहेका आरोप लगाउने लामिछाने आखिरमा गठबन्धनकै साहरामा गृहमन्त्री बनेका छन् ।
प्रतिपक्षका रुपमा सरकारका हरेक नराम्रो कदममा चर्को आवाज बुलन्द पार्ने ठानिएका उनी कार्यान्वयन गर्ने स्थानमा पुगेका छन् ।


लामिछानेले आज राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उपप्रधानसहित गृहमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन् ।

भक्तपुरमा जन्मिएका लामिछाने सञ्चारकर्मीका रुपमा चर्चित हुनुअघि अमेरिकामा लामो समय बिताए । नेपाल फर्किएपछि पुनः सञ्चारकर्ममा जोडिएका थिए । सन् २०१३ को अप्रिलमा न्युज २४ टेलिभिजनमा ६० घण्टा लामो अन्तर्वाता चलाएर उनले रेकर्ड कायम गरेका थिए ।

एक दशकसम्म अमेरिका बसेका लामिछानेले न्युज २४ मा कार्यक्रम सञ्चालन गर्न थालेपछि भने उनको चर्चा बढ्दै गयो । मुख्य गरि वैदेशिक रोजगारीमा गएर विभिन्न समस्यामा परेका नेपालीहरुको मुद्दा उनले कार्यक्रममा उठाउँथे । जसकारण श्रमजीवि र भुईमान्छेका बीचमा रविको छवि ‘मसिया’को जस्तो बन्न थाल्यो ।

तर, यसबीच उनी विवाद रहित भने रहेनन् । चाहे त्यो विवादको कारण शालिकराम पुडासैनीको आत्महत्याको मुद्दा होस् वा रविकै नागरिकताको विषय । पटक पटक लामिछाने सञ्चारकर्ममै हुँदा पनि विवादमा रहेका थिए ।

रविको राजनीति यात्रा भने भर्खर शुरु भएको हो । न्युज २४ छाडेर उनी नयाँ टेलिभिजन ‘ग्यालेक्सी फो के’सञ्चालन गरेका उनलेत्यसलाई छाड्दै गत असार ७ गते याँ राजनीतिक दलको सुरुवात गरे । उक्त दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ थियो । टेलिभिजनकर्मीका रुपमा छवि स्थापित गरेका रविले राजनीतिमा लाग्दा पनि यो छविका कारण धेरै फाइदा पाए । उनको पार्टीबाट चुनावमा उठ्नेहरुलाई पनि ‘रविको पार्टीको मान्छे’ भन्ने भावनाकेन्द्रित भएर भोट हाल्नेहरु धेरै थिए ।

चितवन–३ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग प्रतिशोध साँध्ने जोस बोकेर चुनावमा उठ्ने घोषणा गरेका रवि अन्ततः अन्तिम क्षणमा चितवन–२ मा सरुवा भएका थिए । उक्त क्षेत्रबाट रविले आफ्ना प्रतिस्पर्धिहरुलाई भारी मतान्तरले पराजित गरे ।

अहिले रवि प्रचण्ड नेतृत्वको सरकारमा गृहमन्त्री पदमा छन् । धेरैले उनलाई अवसरवादीको ट्याग पनि लगाइरहेका छन् । तर, भर्खर राजनीतिमा प्रवेश गरेका रविको यो छलाङ भने निकै ठूलो रहेको छ ।

तर, जोसँग सत्ता साझेदारीमार्फत गृहमन्त्री पद लामिछानेले पाएका छन्, उनैसँग भने लामिछानेको विगत सुखद छैन।

लामिछानेले पटक पटक प्रचण्डमाथि कटाक्ष गर्ने र रिस पोख्ने काम गरेका छन् । २०७३ असोज ५ गते रविले सामाजिक सञ्जाल फेसबुकमा प्रचण्ड केन्द्रित हुँदै रोस पोखेका थिए, ‘तपाईंलाई ५ मिनेट मात्र भेट्ने पनि हैसियत मेरो रहेनछ । धेरै कुरें र धेरैलाई गुहारें । अब कुर्न पुग्यो, प्रधानमन्त्रीज्यु (पुष्पकमल दाहाल प्रचण्ड) । ठीकै छ । कुनै दिन उल्टो मलाई भेट्न पाए हुन्थ्यो भन्ने तपाईंलाई लाग्ने गरी मिहेनत गरौंला । यो मेरो दृढ संकल्प र आत्मविश्वास मात्र हो, घमण्ड हुँदै होइन् । मलाई त्यो दिनको प्रतीक्ष रहिरहनेछ ।’

त्यो बेला नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम सिधा कुरा प्रधानमन्त्रीसँगको प्रस्तोताको रुपमा कार्यरत लामिछानेलाई उक्त जिम्मेवारीबाट निकालिँदा उनले यस्तो अभिव्यक्ति दिएका थिए ।

चुनाव घोषणा भएपछि नै पनि रविले हालका नेताहरुलाई केन्द्रित हुँदै भनेका थिए, ‘बुढो भइसक्यो । घर बस्नुपर्छ । घरमा गमलामा पानी हाल्ने भन्ने कुरा पनि छ नि ? बेलुका बेलुका इभिनिङ हिँड्ने कुरा पनि छ । पृथ्वीमा गर्ने कुराहरु धेरै छन् । एकै पटक आर्यघाटमै बिसाउनु पर्ने के राजनीति भन्या त्यो ?’

रविको यस्तो अभिव्यक्तिका बीच प्रचण्ड र उनीबीच त एकप्रकारको वाक युद्ध नै चलेको थियो । चुनावको छेकोमा रविको पार्टी ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को चर्चा भइरहँदा प्रचण्डले रविका यस्ता अभिव्यक्तिहरुको जवाफसम्म फर्काउन भ्याएका थिए ।

यता अहिले सत्ता गठबन्धनका मुख्य खेलाडी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त झन् रविमाथि आफ्नो रिस पटक पटक पोख्न भ्याए ।

चुनावअघि आयोजित एक कार्यक्रममा ओलीले भनेका थिए, ‘सबैलाई चोर भनेको छ । अलिकति सरम हुन पर्दैन ? असभ्यता सिकाएको छ । यो सबै कुरासँग हामी सतर्क हुनुपर्छ । यो देश बिगार्ने भाँड्ने तरिका हो । भडुवा तरिका हो यो ।’

टेलिभिजन कार्यक्रमहरुमा भ्रष्टाचार, अनियमितता,घुसखोरी लगायतका विषयमा चर्को बोल्ने गरेका लामिछाने अब त्यसकै छानबिन र कारबाही गर्ने निकायमा पुगेका छन् । उनको कार्यशैली र काम आगामी दिनले देखाउने नै छ ।


क्लिकमान्डु