रेमिट्यान्सको ३५ प्रतिशत रकम खाना र घर भाडामा खर्च
काठमाडौं । नेपालमा भित्रिएको रेमिट्यान्सको ३५ प्रतिशत खाना र घर भाडामा खर्च हुने गरेको पाइएको छ । राष्ट्रिय योजना आयोगले वैदेशिक रोजगारीले गरिबी निवारण र सामाजिक सुरक्षामा पुर्याएको योगदानबारे गरेको अध्ययनले वैदेशिक रोजगारीबाट आएको रकम अधिकांश खाना र घर भाडामा खर्च हुने देखिएको हो ।
खाना र घर भाडापछि भित्रिएको रेमिट्यान्सको २० प्रतिशत कपडा र श्रृंगारमा खर्च भएको अध्ययनले देखाएको छ । अध्ययनअनुसार शिक्षामा १५ प्रतिशत, १० प्रतिशत स्वास्थ्य र २० प्रतिशत चाड पर्व, घुमफिरमा खर्च भएको छ ।
वैदेशिक रोजगारीबाट प्राप्त रकमको महत्वपूर्ण हिस्सा खाना, पोसाक, मनोरञ्जन आदिमा खर्च हुने गरेको कारण लगानी हुन सकेको छैन । कुनै पनि परिवारको सदस्य वैदेशिक रोजगारीमा गएर रकम पठाउन थालेपछि दुर्गम स्थानमा बसोबास रहेका परिवार सुगम तथा अर्धसहरी क्षेत्रमा बसाइँ सरेर आउने क्रम जारी छ ।
वैदेशिक रोजगारीले ग्रामिण क्षेत्रबाट शहरी क्षेत्रमा बसाइँ सरेर जाने गरेको तथ्याङ्कहरुले देखाएको छ । सर्वेक्षण अनुसार विकट ग्रामिण वस्तीबाट वैदेशिक रोजगारीको कारण सुविधा सम्पन्न ग्रामिण क्षेत्र तथा सहर उन्मुख क्षेत्रमा जनसंख्याको करिब ५ प्रतिशत हिस्सा बसाइँ सरेर आएको देखाएको छ ।
यस्तै वैदेशिक रोजगारीले समग्र मानव विकासजस्तै प्रतिव्यक्ति आय, औसत उमेर, पोषण, शिशु मृत्युदर, साक्षरता, वैवाहिक अवस्थाजस्ता विषयमा समेत केही असर गरेको छ तर वैदेशिक रोजगारीमा गएका नेपालीहरुको मृत्यु, अंग भङ्ग, पारिवारिक विचलन आदिले समग्र मानव विकासमा पारेको प्रभावमा चुनौती थपेको अवस्था छ ।
वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणले मानिसहरुलाई भौतिक सुविधा नभएको स्थानबाट सुविधा सम्पन्न स्थानमा बसाइँ सर्न उत्प्रेरणा गरेको देखिन्छ तर हाल जमिनको मूल्य बढेको कारण धेरैले बसाइँ सर्न सकेका छैनन् ।
योजना आयोगले विप्रेषणबाट प्राप्त आम्दानी उत्पादनशील क्षेत्रमा प्रयोग नभएको औंल्याएको छ । विप्रेषणको ७० प्रतिशत घर खर्चमा सकिने अवस्था रहेकाले उक्त रकम प्रयोग गरी साना उद्योग, कृषि फर्म, आदि सञ्चालन गरेर स्वदेशमा बस्न चाहेमा थप ऋण अनुदान, तालिम आदि उपलब्ध गराउने ब्यवस्था गर्नुपर्ने सुझाव दिएको छ ।
वैदेशिक रोजगारीमा गएका ब्यक्तिको परिवारको खर्च वार्षिक रुपमा दुई लाखदेखि चार लाखसम्म रहेको छ । विप्रेषणको कारण बहुमत ७० प्रतिशतको खर्च गर्ने अवस्थामा परिर्वतन आएको छ । विप्रेषणले शिक्षामा पारेको प्रभावलाई हेर्दा आफ्ना बालबालिकालाई सस्तो विद्यालयबाट महँगो, लसरकारी विद्यालयबाट निजी विद्यालयमा स्थानान्तरण गरेको अवस्था छ ।
वैदेशिक रोजगारीबाट प्राप्त रकम खर्चको अवस्थालाई हेर्दा ४३ प्रतिशतले घर खर्चमा बढोत्तरी आएका कारण खर्चमा परिर्वतन आएको देखिन्छ । यसैगरी १४ प्रतिशत उत्तरदाताले स्वास्थ्य उपचारमा खर्च बढेका कारण खर्च गर्ने अवस्थामा परिवर्तन आएको छ भने अरु १४ प्रतिशतले विलासिताको वस्तुमा खर्च बढेको कारण विपे्रषणले खर्च गर्ने अवस्थामा परिर्वतन आएको अध्ययनमा उल्लेख छ ।
त्यसैगरी, विप्रेषण बैंकिङ्ग प्रणालीमा नआएको पनि निष्कर्ष निकालेको छ । श्रमिकहरु वैदेशिक रोजगारीमा जानुअघि नेपालमा बैंक खाता खोल्नै पर्ने व्यवस्था गर्ने र वैदेशिक रोजगारीको सिलसिलामा कमाएको रकम बैकिङ्ग प्रणालीबाट भित्र्याई त्यस्तो रकम उत्पादन मूलक लघु तथा साना उद्योग र रोजगारीमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन् ।
अध्ययनमा ५० प्रतिशत रेमिट्यान्स विभिन्न रेमिट्यान्स कम्पनीबाट प्रवाह भइरहेको पाइएको छ । त्यसबाहेक बैंकमार्फत् २० प्रतिशतm साथीभाइमार्फत् १५ प्रतिशत र १५ प्रतिशत अन्य च्यानलबाट रेमिट्यान्स भित्रिएको देखाउँछ ।
वैदेशिक रोजगारीमा गएको समय २० प्रतिशतको परिवार सदस्य विगत दुई वर्षदेखि वैदेशिक रोजगारीमा गएका छन्भने ३५ प्रतिशतका परिवार विगत ५ वर्षदेखि वैदेशिक रोजगारीमा गएका छन् । यस्तै ४५ प्रतिशत उत्तरदाताको परिवार सदस्य विगत ५ वर्षदेखि वैदेशिक रोजगारीमा गएका छन् ।
वैदेशिक रोजगारीमा जान परिवारले ३५ प्रतिशतले साहुसँग ऋण काढेर वैदेशिक रोजगारीमा जाने रकम जोहो गरेका छन्भने २५ प्रतिशतले बैंकमा धितो राखेर रकमको जोहो गरेका थिए । यस्तै २० प्रतिशतले घरको पशु चौपाया बेचेर रकमको जोहो गरेका छन्भने २० प्रतिशतले अन्य स्रोतबाट रकम जोहो गरेका थिए ।
धेरै जति उत्तरदाताले बैंक भन्दा अन्य स्रोतबाट रकम जोहो गरेको छ । नेपालमा अझै पनि सर्वसाधारणको विश्वास बंैक तथा वितिय संस्थामा भन्दा गाउँका ठुलाठालु व्यक्तिमा विश्वास रहेको अध्ययनले देखाएको छ ।
१५ प्रतिशत बुवा वैदेशिक रोजगारीमा गएका छन् भने २० प्रतिशतका छोरा वैदेशिक रोजगारीमा गएको अवस्था छ । यस्तै ५० प्रतिशतको श्रीमान् वैदेशिक रोजगारीमा गएको अवस्था छ भने १० प्रतिशतका दाजुभाइ वैदेशिक रोजगारीमा गएका छन् । यस्तै ५ प्रतिशतका परिवारका अन्य सदस्य जस्तै काका, काकी, श्रीमती वैदेशिक रोजगारीमा गएको अवस्था छ । परिवारको जुनसुकै सदस्य वैदेशिक रोजगारीमा गए पनि पारिवारको न्यूनतम आवश्कता पूरा गर्न पुग्ने रकम भने पठाउने गरेको अवस्था रहेको उल्लेख छ ।