सानिमा बैंकका सीईओले लिए २ करोड १४ लाख तलब भत्ता



काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई २ करोड १४ लाख ६ हजार रुपैयाँ तलब, भत्ता बापत भुक्तानी गरेको छ ।

सीईओलाई २ करोड १४ लाख ६ हजार रुपैयाँ भुक्तानी गरेको बैंकले अन्य प्रमुख व्यवस्थापकहरुलाई ४ करोड ६१ लाख १ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

बैंकका अनुसार गत वर्ष माघ ११ गतेसम्म भुवन कुमार दाहाल सीईओ रहेका थिए भने माघ १२ गते निश्चल राज पाण्डे सीईओ भएका हुन् । बैंकले भुक्तानी गरेको तलब भत्ता दुवै सीईओले दिएको रकम हो ।

बैंकले संचालक समितिका अध्यक्षलाई प्रति बैठक भत्ता १३ हजार र संचालकलाई प्रति बैठक भत्ता १२ हजार रुपैयाँ दिने गरेको छ । यो बाहेक अध्यक्ष तथा संचालकहरुलाई पत्र–पत्रिका, टेलिफोन, इन्टरनेट आदि सेवाका निमित्त प्रति सदस्य मासिक १२ हजार रुपैयाँ दिने गरेको छ ।

बैंकले संचालक समितिका सदस्यहरुलाई आव २०७८/७९ मा बैठक भत्ता बापत जम्मा ३५ लाख ७८ हजार रुपैयाँ भुक्तानी गरिएको छ ।

उक्त तलब, भत्ता तथा सुविधाहरूमा प्रचलित कानून अनुसार करकट्टी गरेर मात्र भुक्तानी गर्ने गरिएको बैंकले जनाएको छ ।


क्लिकमान्डु