स्याङ्जा २ र बाजुरामा पुनः मतदान नगर्ने निर्वाचन आयोगको निर्णय



काठमाडौं । निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नं.२ र बाजुरा जिल्लामा पुनः मतदान नगर्ने निर्णय गरेको छ ।

निर्वाचन आयोगले बुधवार स्याङ्जा २ र बाजुरा जिल्लामा पुनः मतदान नगरी मत गणना प्रारम्भ गर्ने निर्णय हो । सो क्षेत्रहरुमा निर्वाचनको क्रममा धाँधली भएको भन्दै उजुरी परेपछि मत गणना हुन सकेको थिएन ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले छानबिन समितिको प्रतिवेदनको आधारमा आयोगले स्याङ्जा २ र बाजुरामा पुनः मतदान गर्नु नपर्ने निर्णय गरेको जानकारी दिए ।

मत गणना कार्य शुरु गर्न सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतहरुलाई पत्र पठाइसकिएको उनले बताए ।

‘उजुरीको सम्बन्धमा पुनः मतदान गर्नु नपर्ने र गणनामा जानु पर्नेगरी निर्वाचन आयोगले निर्णय गरेको छ । यस सम्बन्धमा आयोगले सम्बन्धित निर्वाचन अधिकृतहरुलाई पत्र पनि पठाइसकेको छ । छानबिन समिति गठन भएको थियो ।आयोगकै निर्णयले छानबिन समितिलाई १२ गतेसम्मको समय दिइएको थियो । १२ गते समितिले काम टुंग्याउन सकेन १३ गतेमात्रै प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदनकै आधारमा आयोगले आज निर्णय गरेको छ ’ आर्यालले भने ।

उनले सम्बन्धित क्षेत्रहरुमा तत्काल सर्वदलीय बैठक बसेर मत गणना शुरु गर्ने मिति, समय र स्थान तोकेपछि मत गणना कार्य प्रारम्भ हुने बताए ।


क्लिकमान्डु