ओलीको प्रश्न: गरिब भए भन्दैमा सुकुम्बासीलाई डोजर लगाएर मार्नुपर्ने हो ?



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरिब भए भन्दैमा सुकुम्बासीलाई डोजर लगाएर मार्नुपर्ने हो भन्दै प्रश्न गरेका छन् ।

मंगलबार पार्टी कार्यालयमा राष्ट्रिय जनसांस्कृतिक महासंघले आयोजित गरेको बधाई तथा शुभकामना कार्यक्रममा अध्यक्ष ओलीले सोमबार बागमती किनारामा सुकुम्बासी बस्ती हटाउन डोजर पुगेको प्रशंगप्रति लक्षित गर्दै सुकुम्बासी दाजुभाइ-दिदीबहिनी भएको बताए ।

उनीहरुलाई पराजित गरेर नभइ समस्या समाधान गर्नु पर्ने बताए ।

‘सुकुम्बासी हाम्रा दाजुभाइ-दिदीबहिनी हुन् । अलि गरिब भए, त्यसकारण शत्रु घोषणा गरेर गोद्नु, ठोक्नु पर्ने, मार्नु पर्ने भन्ने होइन । पराजित गर्नु पर्ने होइन, समस्याको समाधान गर्नुपर्छ’ उनले भने ।

आफ्नो सरकारले सुकुम्बासी समस्या समाधान गर्न आयोग बनाएर काम तयार गरेको अवस्थामा गठबन्धन सरकारले त्यसलाई भंग गरेर कार्यकर्ता भर्ती गरेको उनको आरोप थियो ।

‘सुकुम्बासी समस्या समाधान गर्न आयोग बनाएर काम तयार गरेको अवस्थामा सरकारले फेर्नुपर्ने, आयोग भङ्ग गर्नुपर्ने अनि कार्यकर्ता भर्ती गरेर आयोग बनाउनुपर्ने । त्यो आयोग कहाँ गयो?’ ओलीले प्रश्न गरे ।

ओलीले डोजर लगेर भत्काउने भए आयोग नचाहिने बताए ।

‘एकातिर समस्या समाधन गर्न आयोग छ । अर्कोतिर डोजर लगेर पेलेको छ । डोजर लगेर भत्काउने हो भने आयोग किन चाहियो?’उनले भने ।

सोमबार थापाथलीस्थित सुकुम्बासी बस्तीको संरचना हटाउन पुगेको काठमाडौं महानगर नेतृत्वको डोजर र नगरप्रहरीमाथि आक्रमण भएको थियो । त्यसक्रममा दर्जनबढी नगरप्रहरी घाइते भएका थिए ।

सुकुम्बासीहरुले भने विकल्प नदिइ आफूहरुलाई महानगरले हटाउन खोजेको आरोप लगाएका छन् ।


क्लिकमान्डु