उचित व्यवस्थापन बिना महानगर डोजर लिएर बस्ती भत्काउन गयोः राष्ट्रिय भूमि आयोग



काठमाडौं । राष्ट्रिय भूमि आयोग, जिल्ला काठमाडौंले सुकुम्वासीहरुको उचित व्यवस्थापन बिना नै काठमाडौं महानगरपालिका डोजर लिएर बस्ती भत्काउन पुगेको आरोप लगाएको छ ।

आयोगले सबैको कुरा सुन्दा र बुझ्दा महानगरपालिका नै एकलौटी रुपमा अघि बढेको पाइएको बताएको हो । मंगलबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा राष्ट्रिय भूमि आयोग, जिल्ला काठमाडौंका अध्यक्ष श्यामकृष्ण प्रजापतीले महानगर सुकुम्वासीको उचित व्यवस्थापन नै नगरी यस किसिमले अघि बढ्छ भन्ने कल्पना नगरेको बताए ।

उनले आयोग अहिले लागत संकलन कार्यमा जुटिरहेको र चुनावका बेला आचारसंहीता लागू भएकाले काम गर्न नपाएको बताए ।

आयोगले लागत संकलन गरी वास्तविक सुकुम्वासीहरुको पहिचान नगरीकन महानगरले डोजर लिएर सुकुम्वासी बस्ती भत्काउन जाने कुरा उचित नभएको उनले बताए ।

सुकुम्वासीलाई कहाँ व्यव्स्थापन गर्ने भन्ने बारेमा सोचेर मात्रै महानगर अघि बढ्न आवश्यक रहेको उनको भनाइ छ । उनले (सोमबार) बिना कुनै जानकारी महानगरपालिका डोजर लिएर सुकुम्वासी बस्ती छिरेको भन्दै यस बस्तीमा त्रास पैदा भएको बताए । उनले यस्त गतिविधिलाई रोक्न र सही तरिकाबाट व्यवधानको हल निकाल्न वार्ताको विकल्प नरहेको बताए ।

अध्यक्ष प्रजापतीले सुकुम्वासीको लागि इचंगुनारायणमा बनाइएको अपार्टमेण्टमा बस्नै नदिने कुरा त्यहाँका वडाध्यक्षले गरेकाले महानगरले त्यसबारेमा स्पष्ट धारणा राख्नुपर्ने बताए ।

यसअघि पनि सो अपार्टमेण्टमा पुगेका सुकुम्वासीहरुलाई अस्वीकार गरिसकेको र अब पनि बस्न नदिने कुरा बारम्बार वडाध्यक्षले भनिरहेको भन्दै महानगरले समस्या समाधानको पहल गर्न जरुरी रहेको उनको भनाइ छ ।

उक्त अपार्टमेण्टमा १३४ परिवार राख्ने कुरा रहेको भएपनि आयोगले लागत संकलन गरेपछि मात्रै यति नै सुकुम्वासीहरु छन् भन्नेकुराको यकिन हुने उनको भनाइ छ ।

यता सोमबारदेखि आन्दोलनरत थापाथली सुकुम्वासी बस्तीका बासिन्दाहरु भने गरिबलाई देखाएर सधैँ सरकारले भिख माग्ने काम गरिरहेको तर समस्या समाधान नगरेको आरोप लगाए ।

सुकुम्वासी हुकुमबहादुर लामाले महानगरपालिकाले बस्ती भत्काए पनि पुनः सोही ठाउँमा बस्ने बताए । उनले बिना विकल्प जबरजस्ती उठाउनु नहुने र सधैँको लागि सबै सुकुम्वासीको समस्या समाधान हुनुपर्ने माग गरे ।सुकुम्वासीहरुले गरिबको बोल्दिने कोही छैन भनेर गीत गाउँदै आएको देखेर यस्तो प्रतिनिधिले मात्रै गरिबका सपना र मागहरु पूरा गर्छ भनेर भोट हाले पनि अहिले गरिबमाथि नै खनिएको आरोप लगाए ।

सुकुम्वासी बस्तीमा आज पनि बस्ती भत्किने डरले अशान्ति छ । केही समय अघिमात्रै उनीहरु काठमाडौं महानगरपालिका घेराउनमा पुगेका थिए ।

उनीहरुले सुकुम्वासी बस्ती प्रवेश गर्ने सबै सडकहरु बन्द गराएका छन् भने सडकभर टायर र ढुंगाहरु छरपस्ट देख्न सकिन्छ ।

एकीकृत वागमती सभ्यता विकास समितिले मंसिर ४ गतेसम्म अन्तिम म्याद राखेर नदी किनारका अतिक्रमित बस्ती खाली गर्न सूचना निकालेको थियो । सोही अनुसार बस्ती खाली गराउन महानगरको टोली पुगेदेखि नै थापाथली क्षेत्र तनावग्रस्त छ ।


क्लिकमान्डु