स्याङ्जा २ र बाजुरामा मत गणना गर्न कांग्रेसको आग्रह: बुथ कब्जा नभएको दाबी



काठमाडौं । नेपाली कांग्रेसले स्याङ्जा क्षेत्र नं. २ र बाजुराको मत गणना गर्न निर्वाचन आयोगसँग आग्रह गरेको छ ।

मंगलवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति तथा स्याङ्जा क्षेत्र नं. २ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार धनराज गुरुङ, नेता प्रदीप पौडेल लगायतको टोली निर्वाचन आयोग पुगेर स्याङ्जा २ को मतगणना शुरु गर्न आग्रह गरेका छन् ।

त्यस्तै बाजुराको पनि मत गणना गर्न आग्रह गरिएको छ । कांग्रेस नेताहरुले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरुलाई भेट गरी मत गणना शुरु गर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाएका छन् । प्रमुख निर्वाचन आयुक्तसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोगलाई तुरुन्त मत गणना कार्य शुरु गर्न आग्रह गरिएको बताए ।

स्याङ्जा २ मा विधिवत रुपमा निर्वाचन सम्पन्न भएको भन्दै मत गणना रोक्नु आवश्यक नभएको उनले बताए । निर्वाचनको समय अवधिभर कुनैपनि घटना नघटेको जिकिर गर्दै वरिष्ठ नेता पौडेलले छानबिन समिति गठन गर्नु गलत भएको बताए ।
उनले बाजुरामा पनि तुरुन्त मत गणना गर्नुपर्ने बताए ।

‘स्याङ्जा क्षेत्र नं. २ को मत गणना स्थगित भएको विषयमा निर्वाचन आयोगमा आएका हौँ । बाजुरामा पनि स्थगित गर्नु नपर्ने ठाउँमा स्थगित भएको छ । कयौँ ठाउँमा स्थगित गरेको सहज रुपमा फेरि गर्नु भनि भनिदिएको छ फेरि । स्याङ्जामा निर्वाचन आयोगले बनाएको मतपत्र अनुसार मत खसेको छ । त्यहाँ कुन मान्छे कहाँ छ भन्ने कुराको कुरा होइन, मतदाता नामावलीमा नाम भएका मानिसहरुको भोट खसेको छ । अर्कोकुरा त्यसलाई विधिवत रुपमा यो चुनाव भयो, मतदान सम्पन्न भयो भनेर सबै दल र त्यहाँका पदाधिकारीहरुले हस्ताक्षर गरेर, मुचुल्का गरेर पठाएको कुरालाई रोक्न आवश्यक थिएन । यसलाई रोकेर अर्को अनाधिकृत कमिटी बनाएर पठाएर त्यसको नाममा फेरि अर्को केही खेल गर्न खोजेको हो कि ? भन्ने हामीलाई लाग्यो । छानबिन समिति पठाएको नै गलत भयो ‘ उनले भने ।

स्याङ्जा २ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहेका कांग्रेस उपसभापति धनराज गुरुङले निर्वाचन अधिकृतले समेत निर्वाचनमा धाँधली नभएको र कुनैपनि बुथ कब्जा नभएको राय दिइसकेकाले निर्वाचन आयोगले मत गणना शुरु गर्नुपर्ने बताए । उनले स्याङ्जा २ मा शान्तिपूर्ण रुपमा मतदान भएको दाबी गरे ।


क्लिकमान्डु