बानेश्वरस्थित संसद भवन तत्काल खाली गर्न सरकारसँग पर्यटन बोर्डको माग



काठमाडौं । नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले वीरेन्द्र अन्तर्राष्ट्रिय कन्भेन्सिङ सेन्टर (बिआइसीसी) स्थिति संसद् भवन तत्काल खाली गर्न सरकारसँग माग गरेका छन् ।

सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको अर्थतन्त्रमा मेला महोत्सवमा विद्यमान चुनौती र आगामी तयारी कार्यक्रममा बोल्दै वरिष्ठ निर्देशक ऐरले सरकारसँग यस्तो माग गरेका हुन् ।

काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरका मेला महोत्सव गर्नको लागि अन्तर्राष्ट्रिय स्तरको हल आवश्यक रहेको भन्दै उनले बिआईसीसी भवन संसद बस्नको लागि नभई अन्तर्राष्ट्रिय प्रदर्शनी हलका रुपमा सञ्चालनका लागि भएकाले तत्काल खाली गराउनु पर्ने बताए । उनले सरकारले ठूलाठूला मेला महोत्सव आयोजना गर्न हल निर्माण गर्नुपर्ने बताए ।

उनले भने, ‘काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको हल आवश्यक छ । वीरेन्द्र अन्तर्राष्ट्रिय कन्भेन्सिङ सेन्टर (बिआईसीसी) संसद् भवन चीनले अन्तर्राष्ट्रिय स्तरको हलका लागि दिएको हो । त्यो संसद बस्ने स्थान होइन, बिआईसीसी हललाई जतिसक्दो खालि गराउनुपर्छ, त्यो अन्तर्राष्ट्रिय प्रदर्शनी हल हो, सरकार चलाउने हल होइन, बिआईसीसी अन्तराष्ट्रिय प्रदर्शनी हल चीन सरकारको सहयोगमा बनेको हो, मेला महोत्सव तथा प्रदर्शनी गर्न हामीलाई दिइएको सम्पती हो, जुन प्रयोजनाका लागि दिइएको हो त्यसैका लागि प्रयोगमा ल्याउनुपर्छ ।’

उनले प्रदर्शनी स्थल पूर्वाधार विकासका लागि निजी क्षेत्रसँग पर्यटन बोर्डले सकरात्मक भूमिका खेल्ने बताए । उनले मेला महोत्सव गर्न पर्यटन बोर्ड निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको पनि बताए ।


क्लिकमान्डु