मोरङ ६: लालबाबु पण्डितभन्दा डा. शेखर कोइरालाको ७७१ मत धेरै



बिराटनगर । मोरङ निर्वाचन क्षेत्र नं. ६ मा लगातार अग्रता बढाउँदै गएका नेपाली कांग्रेसका उम्मेद्वार डा. शेखर कोइरालाले मतान्तर पनि बढाउँदै गएका छन् । पछिल्लो परिणाम अनुसार कोइरालाले उनका निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेद्वार लालबाबु पण्डितलाई ७७१ मतले पछि पारेका छन् ।

निर्वाचन आयोगका अनुसार दिउँसो २ बजेसम्ममा कुल ७ हजार ७ सय ४७ मत गणना भइसकेको छ । जसमा कांग्रेसका कोइरालाले ३५ सय ३८ मत ल्याएका छन् भने एमालेका पण्डितले २७ सय ६७ मत ल्याएका छन् । यो निर्वाचन क्षेत्रमा कुल ५८ हजार ८ सय २७ मत खसेको थियो ।

यो निर्वाचन क्षेत्रबाट २०७४ को चुनावमा वाम गठबन्धनका उम्मेद्वार पण्डितले कोइरालालाई झिनो मतान्तरले पराजित गरेका थिए । केपी ओली प्रधानमन्त्री हुँदा केही समय सामान्य प्रसाशन मन्त्री बनेर पण्डित विवादमा मुछिएका थिए । त्यसपछि भने उनको क्रेज घटेको थियो।

उता नेपाली कांग्रेसको महाअधिवेशनमा पार्टी सभापितमा शानदार मतसहित पराजय भोगेका कोइरालाको लोकप्रियता भने त्यसपछि झन् झन् बढेको थियो ।


क्लिकमान्डु