एमालेले चुनाव हार्छ: माधव नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा पराजय हुने देखेपछि एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारलाई परमादेशबाट बनेको भनेर लाञ्छना लगाउने गरेको आरोप लगाएका छन् ।
लोकतान्त्रिक वाम गठबन्धन काठमाडौं–२ द्वारा बिहीबार काठमाडौंमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष नेपालले परमादेशबाट बनेको सरकार भनेर ओली एण्ड कम्पनीले दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक रहेको टिप्पणी गरे ।
तत्कालीन एमाले र माओवादी केन्द्रको सहकार्यमा मात्रै २०७४ सालको निर्वाचनमा जनताले बहुमत दिएको सत्यलाई समेत ओलीले अस्वीकार गरेर झुट प्रचार गरिरहेको नेपालको भनाइ थियो ।
उनले जनताले दिएको मतलाई स्वीकार गरेर सरकार चलाउन नसक्ने ओलीलाई आसन्न निर्वाचनमा पराजित गराउन पनि मतदातालाई अपिल गरे ।
‘सर्वोच्च अदालतको आदेशबाट बनेको सरकार होइन । यदि संसदमा बहुमत नभएको भए, संसदमा बहुमत सदस्यले समर्थन नगरेको भए सर्वोच्च अदालतले त्यसलाई स्विकार गर्ने अवस्था बन्ने थिएन । परमादेशबाट बनेको सरकार भनेर केपी ओली एण्ड कम्पनीले जुन लाञ्छना लगाउने काम गरेको छ । त्यो अत्यन्तै आपत्तिजनक छ । त्यो दूराग्रहयुक्त पराजयको पीडाबाट आएको अभिव्यक्ति मात्रै हो’ उनले भने । अध्यक्ष नेपालले ओली नेतृत्वको विपक्ष गठबन्धनलाई राष्ट्रघाती भन्दै आक्रोश व्यक्त गरे ।