भारतले चिनी निर्यात प्रतिबन्ध एक वर्ष बढायो



एजेन्सी । भारत सरकारले चिनी निर्यात प्रतिबन्ध एक वर्ष बढाएको छ । भारत सरकारले २०२३ को अक्टोबरसम्म निर्यातमा प्रतिबन्ध गर्ने निर्णय गरेको हो ।

भारतले यसअघि जुन १ गतेदेखि ३१ अक्टोबरसम्म चिनी निर्यात नगर्ने निर्णय गरेको थियो । बजारमा खाद्यान्नसहित चिनीको मूल्य उच्च बढ्न थालेपछि बजारको मूल्य नियन्त्रण गर्न चिनी निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

त्यस्तै, अहिले भारत सरकारले उत्पादनका आधारमा जनतालाई मूल्यमा नियन्त्रण र उपलब्धता सुनिश्चित गर्न आगामी २०२३ को अक्टोबरसम्म निर्यातमा प्रतिबन्ध लगाएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

भारतको विदेश व्यापार महानिर्देशालयले एक सूचना जारी गर्दै आगामी सूचना जारी नभएसम्म निर्यात प्रतिबन्ध कायम रहेको जनाएको छ ।

ब्राजिलपछि भारत सबैभन्दा बढी चिनी निर्यात गर्ने देशमा पर्छ । भारतीय चिनी उत्पादन मिल्स संघकाअनुसार भारतले सन् २०२२/२३ मा ९० लाख टन चिनी निर्यात गर्ने रोयटर्समा उल्लेख छ ।


क्लिकमान्डु