बानेश्वरका विभिन्न रेष्टुरेन्ट र मिठाइ पसलमा काठमाडौं महानगरको अनुगमन, कमजोर सफाइ



काठमाडौं । काठमाडौं महानगरपालिकाले मंगलबार बानेश्वरका विभिन्न मिठाई पसल, रेष्टुरेन्ट तथा थकाली खाना घरहरुमा गरेको अनुगमनमा स्वच्छता र सफाइको समस्या देखिएको छ ।

स्वास्थ्य विभागको नेतृत्वमा गएको अनुगमनका क्रममा वडा नं. १० मा रहेको द थकाली एण्ड सेकुवा क्याफे र थाकखोला ग्रुप प्रालिले सञ्चालन गरेको थकाली भान्छा, वडा नं. ३१ मा सञ्चालित कोलकत्ता स्वीट्स प्रालि, द बर्गर हाउस (सीएफसी), लोकप्रिय लुम्बिनी तन्दुरी भोजनालयको अनुगमन गरिएको थियो ।

महानगरका स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीकाअनुसार अनुगमन गरिएका सबैको भान्छामा सरसफाइ र स्वच्छताका दृष्टिले कमजोर छन् । परिकार बनाउने कच्चा पदार्थहरु चामल, दाल, मसलाको उपयोग म्यादका विषयमा सञ्चालकहरुलाई खास चासो नदेखिएको उनले बताए ।

भान्छामा काम गर्नेहरुको व्यक्तिगत सफाइ कमजोर पाइएको उनले बताए । उनीहरुले एप्रोनको सही प्रयोग गरेका छैनन् । फ्रिजमा राखिने बस्तुको व्यवस्थापन कमजोर छ । खाद्य अनुज्ञा पत्र प्राप्त नभएका, उपभोग्य मिति उल्लेख नभएका बस्तुहरुको प्रयोग देखिन्छ ।

यसरी उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पुग्ने गरी व्यवसाय सञ्चालन गर्ने होटल तथा मिठाइ पसल सञ्चालकलाई ३ दिनभित्र कार्यालयमा हाजिर हुन भनिएको छ ।

‘बर्गर हाउसको फ्रिजमा खान नमिल्ने मासु भेटियो । व्यवसायी आफूले मासु उत्पादन नगर्ने र आपूर्तिकर्ताबाट प्राप्त गर्ने भनेपछि आपूर्तिकर्तालाई लिएर ३ दिनभित्र कार्यालयमा उपस्थित आदेश जारी गरिएको फारम दिइएको छ ’, निरीक्षण अधिकृत एवं खाद्य पदार्थ गुणस्तर नियमन तथा पशुपंक्षी महाशाखा प्रमुख डा. अवधेश झाले भने, ‘थकाली भान्छा घरको किचनमा खाना पकाउने ठाउँमै बसेर खाना खाइरहेको भेटियो । यसरी हेर्दा सामान व्यवस्थापन, पकाउने तथा भण्डारण गर्ने पद्धति र खाना तयारीसँग सम्बन्धित व्यक्तिहरुको आचरणमा सुधार गर्नुपर्ने देखिन्छ ।’

पर्वलक्षित अनुगमनका क्रममा महानगरले आजदेखि बजार हेर्न थालेको हो । उपभोक्ताहरुले सुलभ मूल्यमा स्वच्छ र गुणस्तरीय सामान, मालमत्ता प्राप्त सकुन् भन्ने उद्देश्यले अनुगमनलाई निरन्तरता दिइएको हो ।


क्लिकमान्डु