कर्णालीमा हवाई उडानमा भएको अनियमितता रोक्न अनलाइन टिकटको व्यवस्था



फाइल तस्बिर

काठमाडौं । वायुसेवा सञ्चालक संघ नेपालले कर्णाली प्रदेशका विमानस्थलमा अलपत्र परेका नागरिकहरुलाई उद्धार एवं यात्रा सहजताका लागि हवाई उडान थप गर्ने बताएको छ ।

मंगलबार कर्णाली प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी नेतृत्वको टोलीसँग भएको छलफलमा वायुसेवा सञ्चालक संघ नेपालले वायुसेवा कम्पनीहरुसँग भएका हवाई उडान थप गरेर अलपत्र नागरिकहरुलाई नजिकको विमानस्थलमा उद्धार गर्ने प्रतिवद्धता जनाएको हो ।

छलफलमा बोल्दै वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले कर्णाली प्रदेशमा वर्षाको कारण सडक मार्ग अवरुद्ध हुँदा हवाई उडानमा देखिएको विद्यमान समस्या समाधान गर्न निजी वायुसेवा सञ्चालकहरुसँग भएका जहाजको उडान थप गर्ने प्रतिवद्धता जनाए ।

उनले विमानस्थलहरुमा अलपत्र परेका यात्रुहरुलाई कर्णाली प्रदेशमा हुम्मा,जुम्ला र डोल्पाबाट उद्धार गरेर नजिकैको विमानस्थलमा उद्धार गर्ने तयारी गरेको बताए ।

उनले कर्णालीको हवाई उडान समस्या समाधान गर्न सरकार र निजी क्षेत्र दुवैले सहकार्य गर्नुपर्ने बताए ।

उनले सरकारले कर्णालीका विमानस्थलहरुमा अलपत्र नागरिकहरुको उद्धारको लागि नेपाल एयरलाइन्स र नेपाली सेनाको जहाज प्रयोग गर्नुपर्ने बताए ।

उनले कर्णालीमा हवाई उडानको लागि भइरहेको अनियमितता रोक्न अनलाइन टिकटको व्यवस्था गर्ने सहमति भएको बताए ।

‘कर्णालीमा देखिएको स्थानीय स्तरको समस्याको लागि सुरक्षाको विषयमा सुरक्षा संयन्त्रसँग समन्वय गर्ने र विमानस्थल भन्दा बाहिर बसेर हवाई उडानमा केही व्यक्तिले गरेका अनियमितता रोक्न विद्युतीय माध्यमबाट इटिकटको व्यवस्था गर्ने निर्णय भयो । विमानस्थलमा अलपत्र परेर बसेकका नागरिकहरुलाई तत्काल उद्धार गर्न नेपाल सरकारबाट सञ्चालित नेपाल एयरलाइन्स र नेपाली सेनाका केही जहाज पाउनुपर्‍यो ।’

कर्णाली प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले अविरल वर्षाको कारण कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमा हवाई उडान प्रभावित भएर यात्रुहरु अलपत्र हुँदा मानवीय संकट आउने अवस्था सिर्जना भएको बताए ।


क्लिकमान्डु