एमालेबाट टिकट नपाएका भुसालले रुपन्देही-१ बाट स्वतन्त्र उम्मेदवारी दिने



काठमाडौं । घनश्याम भुसालले सत्तारुढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

उनले आइतबार बिहान निजी निवासमा पत्रकार सम्मेलन गरी नेता भुसालले वामपन्थी एकताको पहल गर्ने उद्देश्यका साथ प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिन लागेको बताए । नेता भुसालले आफूलाई सत्तारुढ गठबन्धनका दलहरुले समर्थन गर्ने प्रतिवद्धता जनाएको जानकारी गराए । उनले आफूलाई नेकपा (माओवादी केन्द्र) ले आफ्नो चुनाव चिन्हबाट उम्मेदवारी दिन आग्रह गरेको भएपनि आफूले स्वतन्त्रबाट नै उम्मेदवारी दिन चाहेको बताए ।

नेता भुसालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनको तर्फबाट कुनै उम्मेदवारी नदिई आफूलाई सघाउने प्रतिवद्धता जनाएको जानकारी गराए । उनले आफू राजनीतिमा सक्रिय व्यक्ति भएकाले संसदबाटै राजनीतिमा प्रभावकारी भुमिका खेल्ने बताए ।

‘मलाई हिजो माओवादीका साथीहरुले विनम्रतापूर्व आफ्नो पार्टीको चुनाव चिन्ह लिएर स्वतन्त्रमा उम्मेदवारी दिन आग्रह गर्नुभएको थियो’ उनले भने ‘आफ्नो निर्वाचन चिन्ह लिएर चुनाव लड्न कमरेड प्रचण्डले पनि आग्रह गर्नुभयो । तर मैले स्वतन्त्र भएरै चुनाव लड्न चाहेको बताएँ । यसका लागि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं अन्य नेताहरुलाई धेरै धेरै धन्यवाद छ । मध्यराती १२ बजे प्रचण्डले गठबन्धनमा प्रधानमन्त्रीसँग सोध्नुपर्छ भन्नुभयो । राति नै मलाई फोन गरेर हामी गठबन्धनबाट त्यस क्षेत्रमा उम्मेदवारी दिँदैनाै‌ । तपाईलाई सहयोग गर्छौं भन्नुभएको छ ।’

नेता भुसालले वाम एकताको कुरा गरेकै कारण आफूलाई किनारा लगाइएको दाबी गरे । उनले नीति अनुसारको नेतृत्व आएको भए नेकपा एमाले भ्रष्टाचार नगर्ने नेताहरूको पार्टी बन्ने र एमाले नेतृत्वको सरकार रोजगार दिने पार्टी हुने दाबी गरे ।


क्लिकमान्डु