प्राइम लाइफले बढाएर सार्वजनिक गर्‍यो नयाँ बोनसदर



काठमाडौँ । प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को तुलनामा बढाएर नयाँ बोनसदर सार्वजनिक गरेको छ ।

इन्स्योरेन्सले मुनाफामा सरिक हुने (बोनस आर्जन) गर्ने गरी जारी गरिएका जीवन बीमालेखहरूअन्तर्गत आव २०७७/७८ का लागि प्रतिहजार न्यूनतम ३५ रूपैयाँदेखि अधिकतम ८० रूपैयाँसम्म बोनसदर दिने भएको हो ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कनसम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट भदौं ३० गते स्वीकृत भएपश्चात बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।

आव २०७६/०७७ मा इन्स्योरेन्सले प्रतिहजार न्यूनतम ३२ रूपैयाँ र अधिकतम ७५ रूपैयाँ बोनसदर कायम गरेको थियो ।

कम्पनीले सावधिक जीवन बीमालेखअन्तर्गत बीमा अवधिअनुसार प्रति हजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रूपैयाँ बोनसदर कायम गरेको छ ।

यस बीमा योजनामा २५ देखि माथिका बीमा अवधिका लागि ७० रूपैयाँ बोनसदर कायम गरिएको कम्पनीले जानकारी दिएको छ ।

यस बीमा योजनाअन्तर्गत कम्पनीले ० देखि ९ वर्षे बीमा अवधिका लागि प्रतिहजार ३५ रूपैयाँ, १० देखि १४ वर्षे बीमा अवधिका लागि ४० रूपैयाँ, १५ देखि १९ वर्षे बीमा अवधिका लागि ४५ रूपैयाँ र २० देखि २४ वर्षे बीमा अवधिका लागि ५० रूपैयाँ बोनसदर कायम गरेको छ ।

कम्पनीको सावधिक तथा आजीवन बीमा योजनामा बीमितले बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ३६ रूपैयाँदेखि अधिकतम ७५ रूपैयाँ बोनसदर पाउने भएका छन् ।

यस बीमा योजनाअन्तर्गत कम्पनीले ० देखि ९ वर्षे बीमा अवधिका लागि प्रतिहजार ३६ रूपैयाँ, १० देखि १४ वर्षे बीमा अवधिका लागि ४५ रूपैयाँ, १५ देखि १९ वर्षे बीमा अवधिका लागि ५० रूपैयाँ, २० देखि २५ वर्षे बीमा अवधिका लागि ५७ रूपैयाँ र २५ देखि माथिका बीमा अवधिका लागि ७५ रूपैयाँ बोनसदर कायम गरेको छ ।

इन्स्योरेन्सको अग्रिम भुक्तानी सावधिक बीमालेखमा बीमितले प्रतिहजार न्यूनतम ५० रूपैयाँ र अधिकतम ८० रूपैयाँसम्म बोनसदर पाउने छन् ।

यस बीमा योजनामा इन्स्यारेन्सले १० देखि १४ वर्षे बीमा अवधिका लागि प्रतिहजार ५० रूपैयाँ, १५ देखि १९ वर्षे बीमा अवधिका लागि ५८ रूपैयाँ , २० देखि २४ वर्षे बीमा अवधिका लागि ६५ रूपैयाँ र २५ देखि माथिका बीमा अवधिका लागि ८० रूपैयाँ बोनसदर कायम गरेको छ ।

यस्तै, प्राइम जीवन उपहार (अग्रिम भुक्तानी) बीमा योजनाका लागि इन्स्योरेन्सले प्रतिहजार ४२ रूपैयाँ र प्राइम जीवन उपहार बीमा योजना(सावधि) का लागि प्रतिहजार ४० रूपैयाँ बोनसदर कायम गरेको छ ।

उल्लेखित बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी, दाबी, समर्पण मूल्य, चुक्ता मूल्य तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जानकारी दिएको छ ।

साथै, कम्पनीकाअनुसार आगामी बीमाङ्कीय मूल्याङकन बीमा समितिबाट स्वीकृत नभएसम्म भुक्तानी गर्ने सम्पूर्ण दाबीहरूमा यही बोनसदर कायम हुने छ ।


क्लिकमान्डु