बढ्दैछ बीमाको दायरा र व्यवसाय



काठमाडौं । पछिल्लो ५ आर्थिक वर्षको तथ्यांकले बीमा व्यवसाय बढ्दै गएको देखाएको छ ।

बीमा समितिले सार्वजनिक गरेको तथ्यांअनुसार आर्थिक वर्ष २०७४/७५ मा सञ्चालनमा रहेका जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले ७३ अर्ब १५ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए । उक्त आवमा जीवन बीमा कम्पनीले ५१ अर्ब रूपैयाँको कुल व्यवसाय गरेका थिए । त्यस्तै, निर्जीवन बीमा कम्पनीले २२ अर्ब १४ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए ।

आर्थिक वर्ष २०७५/७६ मा बीमा कम्पनीहरूले ९५ अर्ब ३८ करोड रूपैयाँको व्यवसाय गरेका थिए । उक्त आवमा जीवन बीमा कम्पनीहरूले ७१ अर्ब रूपैयाँ र निर्जीवन बीमा कम्पनीले २४ अर्ब ३३ रूपैयाँ गरी सो रकम संकलन भएको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा जीवन बीमा कम्पनीहरूले ९५ अर्ब १५ करोड रूपैयाँ र निर्जीवन बीमा कम्पनीहरूले २५ अर्ब ८३ करोड रूपैयाँ गरी कुल १ खर्ब २० अर्ब ९८ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए ।

आव २०७७/७८ मा आईपुग्दा बीमा कम्पनीहरूले १ खर्ब ५२ अर्ब ६६ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए । उक्त आवमा जीवन बीमा कम्पनीहरूले १ खर्ब २० अर्ब ९४ करोड रूपैयाँ र निर्जीवन बीमा कम्पनीहरूले ३१ अर्ब ७२ करोड रूपैयाँ गरी सो रकम संकलन भएको थियो ।

गत आवमा बीमा कम्पनीहरूको व्यवसाय १६.४८ प्रतिशतले बढेर १ खर्ब ७७ अर्ब ८१ करोड रूपैयाँ पुगेको थियो । गत आवमा जीवन बीमा कम्पनीहरूले १ खर्ब ३८ अर्ब रूपैयाँ र निर्जीवन बीमा कम्पनीहरूले ३९ अर्ब १७ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए ।

यस्तै, चालु आवको पहिलो महिना अर्थात् साउन महिनामा बीमा कम्पनीहरूले १९ अर्ब ५४ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । जुन अघिल्लो आवको तुलनामा ०.३४ प्रतिशतले कम हो । कम्पनीहरूले गत आवको साउन महिनामा १९ अर्ब ६० करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए ।

चालु आवको साउन महिनामा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरूले १५ अर्ब ५ करोड ७४ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो आवको तुलनामा कम्पनीहरूले ९.३५ प्रतिशतले व्यवसाय घटेको हो ।
अघिल्लो आवमा कम्पनीहरूले १६ अर्ब ६१ करोड रूपैयाँ संकलन गरेका थिए ।

साउन महिनामा निर्जीवन बीमा कम्पनीहरूले ४ अर्ब ४७ करोड ५४ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो आवको तुलनामा निर्जीवन बीमा कम्पनीहरूको कुल व्यवसाय ४९.६८ प्रतिशतले बढेको हो । अघिल्लो आवमा निर्जीवन बीमा कम्पनीहरूले २ अर्ब ९९ करोड रूपैयाँ संकलन गरेका थिए ।

व्यवसायसँगै पहुँच पनि बढ्दै

विगत ६ वर्ष अघि अर्थात आर्थिक वर्ष २०७२/७३ मा बीमाको पहुँचमा आएको जनसंख्या १० प्रतिशतमात्रै थियो ।

तर, सो तथ्यांक पनि वृद्धि हुँदै गएको छ ।

बीमा समितिले उपलब्ध गराएको पछिल्लो ७ वर्षको तथ्यांक अनुसार नेपाली बीमा बजारमा बीमाको दायरमा विस्तार हुँदै गएको देखिन्छ । समितिको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२/७३ मा बीमाको दायरामा आएको जनसंख्या १० प्रतिशतमात्रै थियो । आव २०७३/७४ मा आइपुग्दा बीमाको दायरामा आएको जनसंख्या ११ प्रतिशतमा पुग्यो । २०७४/७५ मा आईपुग्दा बीमाको दायरा अझै बढ्दै गएको देखिन्छ । सो आर्थिक वर्षमा बीमाको दायरामा आएको जनसंख्या बढेर १४ प्रतिशतमा पुग्यो । आव २०७५/७६ मा आईपुग्दा बीमाको दायरामा आएको जनसंख्या १७ प्रतिशत पुग्यो ।

बीमाको दायरमा आएको दायरा २०७६/७७ मा आइपुग्दा २२ प्रतिशत पुग्यो ।

आर्थिक वर्ष २०७७/७८ मा आइपुग्दा बीमाको दायरामा आएको जनसंख्या २५ प्रतिशत पुग्यो । गत आवमा बीमाको दायरामा आएको जनसंख्या प्रतिशत ४१.२० प्रतिशतमा पुगेको थियो ।

गत आवमा जीवन बीमाको दायरामा आएको जनसंख्या प्रतिशत ३८.२६ प्रतिशत छ । चालु आवको पहिलो महिना अर्थात् साउन महिनामा पनि बीमाको दायरामा आएको जनसंख्या प्रतिशत ३८.२६ प्रतिशत नै छ ।


क्लिकमान्डु