सुधिर बस्नेतले ७ दिनभित्र नविल बैंकको साढे ४६ करोड रुपैयाँ तिर्नुपर्ने



काठमाडौं । घरजग्गा व्यवसायी सुधिर बस्नेतले नविल बैंकलाई ४६ करोड ५२ लाख रुपैयाँ बुझाउनु पर्ने भएको छ ।

ऋण असूली न्यायधीकरणले बुधबार एक सूचना प्रकाशित गर्दै बस्नेतलाई ७ दिनभित्र उक्त रकम तिर्न ताकेता गरेको हो । तोकिएको समयमा ऋण नतिरे कानूनबमोजिम प्रक्रिया अघि बढाउने न्यायधीकरणले जनाएको छ ।

बस्नेतले कोहिनुर हिल हाउजिका नाममा १४ करोड ६ लाख ३४ हजार रुपैयाँ ऋण लिएका थिए । र, त्यसको ब्याजमात्रै ३२ करोड ४५ लाख ४८ हजार रुपैयाँ तिर्नुपर्ने न्यायधीकरणले जनाएको छ ।

बस्नेत आफैंले पनि २०७० सालमा गौरिबहादुर कार्की संयोजकत्वको बचत तथा ऋणको कारोबार गर्ने समस्याग्रस्त सहकारीका लागि उच्चस्तरीय जाँचबुझ आयोग समक्ष कोहिनुर हिल हाउजिङले नविल बैंकलाई २२ करोड ८० लाख ९२ हजार रुपैयाँ तिर्नुपर्ने स्वघोषणा गरेका थिए ।

बस्नेतले ऋण नतिरेपछि बैंकले उक्त ऋण असूली गरिपाउँ भनेर न्यायधीकरणसमक्ष मुद्दा हालेको थियो । उक्त मुद्दामा न्यायधीकरणले २०७७ पुस ७ गतेको र २०७९ बैशाख २३ गते बैंकको पक्षमा पैसला गरेको थियो ।

यद्यपि अहिलेसम्म बस्नेतले उक्त रकम नतिरे पछि न्यायधीकरणले बुधबार सूचना प्रकाशित गर्दै ७ दिनभित्र तिर्न ताकेता गरेको हो ।

‘यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र यस न्यायधीकरणको ऋण असूली शाखामा बुझाउन आउनु होला,’ सूचनामा भनिएको छ ।

बस्नेतले २०६१ साल भदौ २ गते कोहिनुर हिल हाउजिङ खोलेका थिए । उक्त हाउजिङमा नविल लगायतका बैंकहरुले ऋण दिएका थिए ।

बैंकको ऋण तिर्न नसकेर कालोसूचिमा परेका, ओरेन्टल को अपरेटिभका बचतकर्ताको बचत फिर्ता गर्न नसकेका र विभिन्न हाउजिङका बुकिङकर्ताको रकम फिर्ता गर्न नसकेका बस्नेत पटक पटक जेल समेत परिसकेका छन् । १२ वर्षदेखि चरम आर्थिक संकट झेलिरहेका बस्नेतलाई न्यायधीकरणको यो सूचनाले थप दवावमा पारेको छ ।

बस्नेतले ओरेन्टल सहकारीका बचतकर्ता र हाउजिङ तथा अर्पाटमेन्ट बुकिङकर्ता ७ हजार ५४६ जनासहितकोे सावाँ–व्याज गरी १६ अर्ब १ करोड रुपैयाँ तिर्नुपर्ने देखिएको समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको २०७५ सालको प्रतिवेदनमा उल्लेख छ ।

आयोगको प्रतिवेदन अनुसार सहकारी संस्थाले ऋणीहरुले समयमा कर्जा चुक्ता नगरेको भन्दै धितो स्वरुप चितवन, तनहुँ, कास्की दाङ, नवलपरासी पूर्व, मोरङमा धितो सकारेको जग्गा छ ।

यस्तै सहकारीको चल सम्पतितर्फ बस्नेतको २ लाख २९ हजारसहित १९ लाख ११ हजार रुपैयाँमात्र देखिएको थियो ।

यस्तै बस्नेतको नाममा सेयर नरहेपनि उनको श्रीमती नितु थाको नाममा ग्लोबल आईएमई बैंकमा संस्थापक १ लाख ३६ हजार २३३ र साधारण तर्फ ५० हजार ३८७ कित्ता सेयर, ग्लोबल आईएमई बैंकमा राजेश श्रेष्ठको साधारण ४०५, १२ हजार ५९६ र संस्थापक तर्फ ३४ हजार ५८ कित्ता सेयर रहेको छ भने प्रतिमा शर्माको प्रभु बैंकमा संस्थापक २६ हजार ९१५ र साधारण १० हजार २७ कित्ता सेयर रहेको देखिएको थियो ।

यस्तै सहकारी संस्थाकी कर्मचारी सन्ध्या भट्टराईले संस्थाको निक्षेप रकमबाट माछापुच्छ्रे बैंकको साधारण सेयर १३ कित्ता, बैंक अफ काठमाण्डूको साधारण सेयर ३०२, नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण ११५, आईसीएफसी फाइनान्सको साधारण २४०, नेशनल हाईड्रोपावरको ६ हजार, स्ट्यान्डर्ड चार्टर बैंकको साधारण १० सेन्चुरी बैंक ९ र शिद्धार्थ बैंकको १८६ कित्ता सेयर रहेको देखिएको थियो ।


क्लिकमान्डु