१ खर्ब १५ अर्ब ५० करोडले थपियो बेरुजु, कुल बेरुजु ४ खर्ब ८३ अर्ब पुग्यो



काठमाडौं । एक वर्षमा १ खर्ब १५ अर्ब ५० करोड रुपैयाँ बेरुजु थपिएको छ ।

महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनमा संघीय सरकार कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र अन्य समिति तथा संस्थातर्फ लेखापरीक्षण गर्दै उक्त बेरुजू देखिएको हो ।

यसरी कुल बेरुजु ४ खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा १५.४६ प्रतिशतले बढी हो ।

महालेखा परीक्षक कार्यालयका अनुसार उक्त वर्ष ५ हजार ६६५ निकायको ४३ खर्ब ७७ अर्ब १७ करोड १६ लाख रुपैयाँको लेखापरीक्षण सम्पन्न भएको छ ।

महालेखा परीक्षक कार्यालयका अनुसार कारबाही टुंगो लगाउनुपर्ने बेरुजू ३ खर्ब ४५ अर्ब ५६ करोड ३ लाख रुपैयाँ छ । जुन अघिल्लो वर्षको तुलनामा ३४.१७ प्रतिशतले बढी हो ।

कार्यालयका अनुसार असुल गर्नुपर्ने बेरुजु ३३ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ र नियमित गर्नुपर्ने बेरुजु ६९ अर्ब ६१ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।

नियमित गर्नुपर्ने बेरुजुमध्ये अनियमित भएको २० अर्ब ७१ करोड ४४ लाख रुपैयाँ, प्रमाण कागज पेश नभएको बेरुजु ४८ अर्ब ६५ करोड ९३ लाख रुपैयाँ र शोधभर्ना नलिएको बेरुजु २४ करोड ६ लाख रुपैयाँ रहेको छ । साथै पेस्की लिएको ११ अर्ब ६९ करोड २८ लाख रुपैयाँ रहेको छ ।


क्लिकमान्डु