नेपालका उद्योगहरुले तलब भत्तामा मात्रै वार्षिक १ खर्ब ७ अर्ब रुपैयाँ खर्च गर्छन्



काठमाडौं । नेपालका उद्योगहरुले एक वर्षमा तलब भत्तामा मात्रै १ खर्ब ७ अर्ब ८९ करोड रुपैयाँ खर्च गर्दैै आएको पाइएको छ ।

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षण–२०७६ अनुसार ६० हजार १८५ वटा उद्योगले उक्त रकम खर्च गर्छन् ।

सर्वोक्षण अनुसार साना र ठूला उद्योगमा उक्त अवधिसम्म प्रत्यक्षरुपमा ४ लाख ९१ हजार २२७ जना उद्योगसँग जोडिएका छन् । जसमा जागिरे मात्रै ३ लाख ८१ हजार ६८७ जना छन् । ती जागिरे कर्मचारीहरुको तलब र भत्तामा मात्रै उक्त रकम खर्च हुने गरेको छ ।

सर्वेक्षण अनुसार सबैभन्दा बढी उत्पादनमुलक क्षेत्रले ३ लाख ४६ हजार १४३ कर्मचारीको तलब र भत्तामा ९५ अर्ब ७७ करोड रुपैयाँ खर्च गर्दैै आएको छ ।

त्यसैगरी जलविद्युत्, ग्यास तथा एयर कन्डिसनिङ सप्लाइ गर्ने उद्योगहरुले १७ हजार२३८ जना कर्मचारीलाई वार्षिक ६ अर्ब ९२ करोड रुपैयाँ खर्च गर्दै आएको छ ।

विभागका अनुसार खानेपानी, फोहोर व्यवस्थापनलगायतका गतिविधिमा संलग्न उद्योगहरुमा कार्यरत १२ हजार ५८७ कर्मचारीका लागि २ अर्ब ४० करोड रुपैयाँ तलब तथा भत्तामा खर्च हुन्छ भने खानी तथा भूगर्भ उद्योगमा कार्यरत ५ हजार ७१९ कर्मचारीका लागि वार्षिक रुपमा १ अर्ब ८० करोड रुपैयाँ भत्ता र तलबमा खर्च हुने गरेको छ ।

विभागका अनुसार ९ जनासम्म कर्मचारी कार्यरत उद्योगलाई साना र १० वा सोभन्दा बढी कर्मचारी कार्यरत उद्योगलाई ठूलो उद्योगका रुपमा वर्गीकरण गरेको छ ।


क्लिकमान्डु