लघुवित्तबाट ऋण लिने ऋणीको संख्या ३२ लाख नाघ्यो



काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूबाट ऋण लिने ऋणीको संख्या ३२ लाख नाघेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको २०७८ चैत महिनासम्मको विवरणअनुसार ६५ लघुवित्तबाट ३२ लाख ४७ हजार २७६ जनाले ऋण लिएका हुन् ।

जसमध्ये पुरूष ऋणीको संख्या ९२ हजार ८०३ छ । भने महिला ऋणीको संख्या ३१ लाख ५४ हजार ४७३ छ । ६५ लघुवित्तमध्ये सबैभन्दा धेरै कर्जा छिमेक लघुवित्तबाट लिएका छन् ।

छिमेक लघुवित्त कम्पनीबाट ऋण लिने ऋणीको संख्या २ लाख ५६ हजार ४११ छ । निर्धन उत्थान लघुवित्तबाट ऋण लिने ऋणीको संख्या २ लाख ३५ हजार १३५ छ । जीवन विकास घुवित्तबाट ऋण लिने ऋणीको संख्या २ लाख १४ हजार २२४ छ ।

लघुवित्त संस्थाको कर्जा तथा सापटी २०७८ असारको तुलनामा २३.५३ प्रतिशतले बढेर २०७८ चैत मसान्तमा ३ खर्ब ९२ अर्ब ५ करोड रूपैयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंककाअनुसार लघुवित्तको कुल कर्जामध्ये सबैभन्दा धेरै कर्जा कृषिक्षेत्रमा प्रवाह देखिन्छ । २०७८ चैतसम्ममा लघुवित्तले प्रवाह गरेको कुल कर्जामध्ये ४६.०२ प्रतिशत कृषिक्षेत्रमा गएको छ । २०७८ असारमा यस क्षेत्रको कर्जाको अंश ४४.८२ प्रतिशत थियो ।

यस्तै, लघुवित्तले घरेलु तथा लघु उद्योगमा ३.४१ प्रतिशत, सेवा व्यवसाय क्षेत्रमा ३०. ८९ प्रतिशत, थोक कर्जा शिर्षकमा १२.६९ प्रतिशत र अन्य शिर्षकमा ६.९९ प्रतिशत कर्जा प्रवाह गरेका छन् ।

लघुवित्तहरूको पुँजी स्रोतको रूपमा रहने निक्षेप १ खर्ब २७ अर्बबाट बढेर एक खर्ब ५२ अर्ब रूपैयाँ पुगेको छ । त्यस्तै अन्य बैंक तथा वित्तीय संस्थाहरूबाट लिने सापटी १ खर्ब ८९ अर्ब रूपैयाँ पुगेको छ ।

खुद्रा कर्जा प्रदायक लघुवित्त कम्पनीहरूले ३ खर्ब ९२ अर्ब रूपैयाँ बराबरको कर्जा लगानी गर्दा ११ अर्ब दुई करोड रूपैयाँ बराबरको कर्जा निष्क्रिय भएको छ । २०७८ असारको तुलनामा निष्क्रिय कर्जा २३.५३ प्रतिशतले बढेको हो । २०७८ असार मसान्तसम्ममा निष्क्रिय कर्जाको अनुपात २.९७ प्रतिशत थियो ।

राष्ट्र बैंकका अनुसार ६५ लघुवित्तमा ५७ लाख ७२ हजार १५५ जना सदस्य आवद्ध छन् । जसमा पुरूष सदस्यको संख्या १ लाख ६० हजार १६४ छ । भने महिला सदस्यको संख्या ५६ लाख ११ हजार ९९१ रहेको छ ।

लघुवित्तका कुल केन्द्र संख्या ४ लाख १९ हजार ७३७ र कुल समूह संख्या १३ लाख २९ हजार १५३ छ ।

हाल ६५ वटा लघुवित्त वित्तीय संस्थाहरूमध्ये ४ वटा थोक कर्जा प्रदायक संस्था छन् । गत असार मसान्तसम्ममा ७० वटा लघुवित्त वित्तीय संस्थाहरू रहेकोमा मर्जरसँगै संख्या घटेर ६५ मा सीमित भएको हो ।

राष्ट्र बैंकका अनुसार २०७८ चैतसम्ममा लघुवित्तका कुल शाखा कार्यालयको संख्या ५ हजार २० छ । लघुवित्तका यी शाखा कार्यालयहरूमा २३ हजार ३५२ जनाले रोजगारी पाएका छन् । २०७७ चैतमा २ हजार ७५६ जनाले रोजगारी पाएका थिए ।


क्लिकमान्डु