नेपालमा लगानी गर्न चिली इच्छुक, चेम्बर अफ कमर्सले सहकार्य गर्ने



काठमाडौं । दक्षिण अमेरिकी राष्ट्र चिली नेपालमा लगानीका लागि इच्छुक देखिएको छ ।

नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र नेपालका लागि चिलीका राजदूत जुवान एङगुलोबीच काठमाडौंको जमलस्थित चेम्बर भवनमा मंगलबार भएको भेटवार्तामा दुई देशबीच सहकार्य तथा लगानीका विभिन्न विकल्पमा छलफल भएको हो ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले पर्यटन, जलश्रोत, सूचनाप्रविधि तथा जडीबुटीजन्य क्षेत्रमा लगानीको सम्भावनाबारे राजदूत एङगुलोलाई अवगत गराएका थिए ।

नेपाल र चिलीबीचको कुटनीतिक सम्बन्ध ६० वर्षभन्दा पुरानो भएको सन्र्दभमा आर्थिक सम्वन्धलाई थप बलियो बनाउनु पर्नेमा अध्यक्ष मल्लले जोड दिए ।

‘दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पूरा भएको छ । सरकारी र निजी क्षेत्रबीचको सहकार्यमार्फत् आर्थिक सम्बन्धलाई थप बलियो र प्रभावकारी बनाउन चाहन्छौं,’ मल्लले भने ।

चेम्बर र चिली चेम्बर अफ कमर्सबीच बाणिज्य तथा लगानीका क्षेत्रमा सहकार्य गर्न पनि अध्यक्ष मल्लले आग्रह गरे । खासगरी नेपालको जलविद्युत् तथा पर्यटनको क्षेत्रमा लगानी र प्रतिफलको सुरक्षणबारे अध्यक्ष मल्लले राजदूत एङगुलोलाई जानकारी गराए ।

‘वैदेशिक लगानीको सुरक्षणका लागि नेपालले पछिल्लो समय नीतिगत तहमा थुप्रै सुधार गरिसकेको छ । आगामी वर्षको बजेटमा पनि सरकारले ५० वर्षसम्म जग्गा भाडामा उपलब्ध गराउने घोषणा गरेको छ, चिलीको लगानी सुरक्षण गर्न हामी प्रतिवद्धता जनाउँछौं,’ उनले भने ।

अन्तर्राष्ट्रियरुपमा बढी माग हुने वस्तुहरुको उत्पादनका लागि नेपाल उपयुक्त गन्तव्य भएको अध्यक्ष मल्लले बताए । नेपालमा जग्गाको मूल्य र श्रमको लागत सस्तो पर्ने भन्दै अध्यक्ष मल्लले चिलीको लगानीमा उद्योग खोलेर भारत, चीनलगायत दक्षिण एशिया, युरोप र अमेरिकी बजारमा बिक्री गर्न सकिने बताए ।

राजदूत एङगुलोले नेपालको वर्तमान आर्थिक अवस्था र लगानीको वातावरणबारे जानकारी लिएका थिए ।

नेपाल हिमालयको देश भन्दै उनले पर्यटनको क्षेत्रमा अथाह सम्भावना आफूले देखेको बताएका थिए । नेपालमा लगानीको सम्भावनाबारे आफ्नो देशको निजी क्षेत्र र नागरिकहरुलाई जानकारी गराउने राजदूत एङगुलोले प्रतिबद्धता जनाए ।


क्लिकमान्डु