चुनावपछि पनि बैंकिङ प्रणालीमा अपेक्षितरुपमा निक्षेप बढेन



काठमाडौं । स्थानीय तह निर्वाचनपछि पनि बैंकिङ प्रणालीमा अपेक्षितरुपमा निक्षेप बढ्न सकेको छैन । निर्वाचनपछि ठूलो परिणाममा निक्षेप बढ्ने अपेक्षा गरिएको थियो ।

गत वैशाख ३० गते स्थानीय तह निर्वाचन सकिएको छ । निर्वाचनपछि प्रणालीमा १३ अर्ब रुपैयाँ मात्रै निक्षेप थपिएको छ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघका अनुसार वैशाख ३० गते निक्षेप ४३ खर्ब ७० अर्ब रुपैयाँ रहेकोमा जेठ १३ गतेसम्म आइपुग्दा ४३ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ ।

संघका अनुसार जेठ ६ गतेसम्म निक्षेप ७ अर्बले बढेर ४३ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको थियो । १३ गतेसम्म आइपुग्दा थप ६ अर्ब रुपैयाँले बढेर ४३ खर्ब ८३ रुपैयाँ पुगेको छ ।

यस्तै यो २ साताको अवधिमा ६ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।

वैशाख ३० गतेसम्म ४१ खर्ब ९१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा १३ गतेसम्म आइपुग्दा ४१ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ ।

जेठ ६ गतेसम्म आइपुग्दा २ अर्ब रुपैयाँले बढेर ४१ खर्ब ९४ अर्ब रुपैयाँ रहेको थियो । जेठ १३ गतेसम्म आइपुग्दा एक साताको अवधिमा कर्जा प्रवाह ४ अर्ब रुपैयाँले बढेर ४१ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ ।


क्लिकमान्डु