अवैध व्यापार बढ्दा स्वदेशी उद्योग प्रभावित भएः अध्यक्ष अग्रवाल



काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले अवैध व्यापार बढ्दै जाँदा स्वदेशी उद्योगलाई नकारात्मक असर गरेको बताएका छन् ।

नेपाल उद्योग परिसंघले आयोजना गरेका ‘मेक इन नेपाल स्वदेशी समिट’ संवाद सम्मेलनमा अग्रवालले भन्सार छलेर विदेशबाट आउने कमसल सामानले नेपाली उद्योगलाई नकारात्मक असर पारिरहेको बताए ।

सन् १९९० मा भएको पहिलो चरणको आर्थिक सुधारको नीतिले कार्यले निरन्तरता नपाउँदा नेपालमा औद्योगिक विकास हुन नसकेको अग्रवालको भनाइ छ ।

‘हाम्रो संरचनात्मक समस्या देखिएका छन् । पछिल्लो तीन दशकमा भारत र बंगलादेशले औद्योगिक क्षेत्रमा हाँसिल गरेका प्रगतिबाट हामीले केही सिक्न सकेका छैनौं,’ अग्रवालले भने, ‘उत्पादनमुलुक उद्योगको विकास नहँुदासम्म कुनै पनि देशको अर्थतन्त्र बलियो हुन सक्दैन् ।’

उनले निजीक्षेत्रमैत्री कानून ,उदारीकरण र संरचनात्मक सुधारबाट भारत र बंगालादेशले उत्पादन मुलक उद्योगमा गरेको क्रान्तिबाट हामीले सिक्नु पर्ने बताए ।

नेपालमा पनि अझै पनि निजीक्षेत्रमैत्री कानून र संरचनात्मक सुधार हुन नसक्दा उत्पादनमुलक उद्योगको संख्या बढ्न नसकेको अध्यक्ष अग्रवालले बताए ।

‘३४ वटा नीतिगत सुधारको आवश्यकता छ । नेपाली वस्तुप्रति दृष्टिकोण परिवर्तन गर्दै स्वदेशी वस्तुमा आकर्षण पैदा गर्नुपर्छ,’ अग्रवालले भने, ‘लगानी निरुत्साहित गर्ने कानूनमा सुधार हुनुपर्छ । उद्योग स्थापना गर्दा आधाभन्दा बढी लगानी जग्गा खरिदमा खर्च गर्नु परेको छ ।’

अग्रवालले प्रत्यक्ष विदेशी लगानीका नियमहरु समय सापेक्ष सुधार हुन नसक्दा नेपालमा विदेशी लगानी बढ्न नसकेका बताए ।


क्लिकमान्डु