विदेशिएका श्रमिकले कार्यस्थलबाटै मतदान गर्ने व्यवस्था मिलाउन माग



काठमाडौं । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ–नेपाल सम्बद्ध परिषद् तथा सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले वैदेशिक रोजगारीमा रहेका श्रमिकले कार्यस्थलबाटै मतदान गर्ने व्यवस्था मिलाउन माग गरेको छ ।

संस्थाहरूले कार्यस्थलबाट मतदान, श्रमिकको अधिकार नाम संयुक्त अभियान अगाडि बढाएकाले सो व्यवस्था मिलाउन माग गरेको हो ।

संस्थाहरूले यसअघि नै विभिन्न राजनीतिक दललगायत यससँग सम्बन्धित विभिन्न संस्थाहरूलाई प्रत्यक्ष तथा इमेलमार्फत् श्रमिकले मतदान गर्न पाउने व्यवस्था मिलाउन ध्यानाकर्षण गराएका थिए । तर, ध्यानाकर्षण गरेपनि कुनै पनि राजनीतिक पार्टीले प्रतिबद्धता नजनाएको संस्थाहरूको भनाइ छ ।

यसैगरी, संस्थाहरूले विशेषगरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कसरी मतदानामा सहभागी गराउने विषयमा जोड दिएका छन् । ‘नोट चल्ने तर भोट नचल्ने’ प्रवृत्ति रहेकाले आगामी दिनमा विदेशमा रहेका श्रमिकले पनि मतदान गर्न पाउने व्यवस्था गर्नुपर्ने संस्थाहरूले माग गरेका छन् ।

अधिवक्ता निलम्बर बडालले रेमिट्यान्सको आधारमा बजेट निर्माण गर्ने तर, विदेशमा रहेका श्रमिक मताधिकारबाट वञ्चित हुदै आएकाले अबका दिनमा कार्यस्थलबाटै मतदानको व्यवस्था गर्नुपर्ने बताए । विदेशमा रहेका श्रमिकले विदेशबाटै मतदान गर्न पाउनुपर्ने माग गर्दै आएका छन् । तर, राजनीतिक पार्टीहरूले यस क्षेत्रमा ध्यान नदिँदा श्रमिकहरूले मतदानबाट वञ्चित भएको उनको भनाइ छ ।

‘हामीले यही स्थानीय तहको निर्वाचनबाट विदेशी श्रमिकले मतदान गर्न पाउनुपर्ने माग गर्दै आएका थिए । तर, कार्य अगाडि बढ्न सकेन,’ उनले भने, ‘आगामी आउने प्रदेश संसद र संघीय संसदको निर्वाचनसम्ममा मतदानको व्यवस्था गर्न पाउनुपर्ने व्यवस्था मिलाउन सरकारसमक्ष छलफल गरिरहेका छौं ।’

विश्वका विभिन्न देशले वैदेशिक रोजगारीमा रहेका श्रमिकले सोही देशबाट मतदान गरिरहेको अवस्थामा नेपालले पनि विभिन्न विधि अपनाएर मतदानको सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ ।

त्यसैगरी, विदेशमा मात्रै नभएर आन्तरिक रुपमा पनि कार्यस्थलबाटै मतदान गर्न पाउनुपर्ने व्यवस्थाका लागि पनि विस्तारै अघि बढ्नुपर्ने जिकिर गरे ।

नेपाल ट्रेड युनियन (जीफन्ट)का अध्यक्ष विनोद श्रेष्ठले मतदानको व्यवस्था गर्नका लागि तथ्याङ्क सबैभन्दा महत्वपूर्ण रहेको बताए । अहिले सरकारसँग भारतसहित अन्य देशमा कति श्रमिक छन् भन्ने विषयमा यकिन छैन । त्यसैले, यकिन तथ्याङ्क भए मात्रै सहज तरिकाले कार्यस्थलबाट मतदान गर्न पाउने व्यवस्था मिलाउन सक्नेछ ।

साथै, संस्थाहरूले देशबाहिर मात्रै नभएर देशभित्र रहेका नेपाली श्रमिकले कार्यस्थलबाटै मतदान गर्न पाउने व्यवस्था मिलाउन माग गरेको छ । स्वदेश तथा विदेशमा मताधिकारको उमेर पुगेका नेपाली नागरिकहरूको मतदाता नामावलीमा नाम दर्ता गर्न तथा नेपाल बाहिरबाटै मतदान गर्न पाउने व्यवस्था गर्न आवश्यकअनुसार कानुनी व्यवस्था गर्नुपर्ने संस्थाहरूको माग छ ।

संस्थाहरूले इलेक्ट्रोनिक मतदान अथवा राजदूतावासको सहयोगमा मतदान केन्द्र नै राखेर मतदान गर्ने व्यवस्था मिलाउन सक्ने सुझाव दिएका छन् ।


क्लिकमान्डु