एनआरएनएमा सहमति, चैत १० र ११ मा एकता महाधिवेशन



काठमाडौं । गैर आवासीय नेपाली संघ (एआरएनए) मा सहमति भएसँगै चैत ११ र १२ गते काठमाडौंमा एकताको महाधिवेशन हुने भएको छ ।

अध्यक्षका तीन जना उम्मेदवार कुल आचार्य, बद्रि केसी र रबिना थापाबीच सहमति भएसँगै एनआरएन विभाजन हुनबाट जोगिएको छ । अध्यक्ष पदका तीनै जना प्रत्यासीले मंगलबार संघको सचिवालयमा पत्रकार सम्मेलन गरी एकता महाधिवेशनका लागि आफूहरूबीच सहमति भएको जानकारी जनाएका छन् ।

यसअघि देखिएका सबै विवाद समाधान गरी संघलाई एकजुट बनाएर लैजान आफूहरूबीच सहमति भएको उनीहरूको भनाइ छ । अध्यक्ष कुमार पन्तले संस्थाको हितका लागि सबैले आ–आफ्नो कमजोरी स्वीकार गरेको बताए । पछिल्लो सहमतिले संस्थालाई एकजुट बनाएको उनको भनाइ छ।

अध्यक्षका उम्मेदवार एवम् संघका सल्लाहकार कुल आचार्यले संसारभरका नेपालीहरूलाई एकताबद्ध बनाउनुको विकल्प नभएको उल्लेख गरे । पद भन्दा पनि पद्धतिका लागि एकजुट हुनु परेको उनको भनाइ थियो । संस्थालाई एकजुट बनाएर अगाडि अहिलेको आवश्यकता रहेको उनले औल्याए ।

अध्यक्षका उम्मेदवारद्वय केसी र थापाले पनि संस्था जोगाउनु अहिलेको मुख्य आवश्यकता रहेको बताए । सहमति अनुसार प्रमुख संरक्षक शेष घलेले आयोजना गरेको महाधिवेशन रोक्न अध्यक्ष पन्तले आग्रह गर्ने छन् भने उच्च अदालत पाटनमा परराष्ट्र मन्त्रालयविरुद्ध दायर मुद्दा पनि पन्तले फिर्ता लिने छन् ।


क्लिकमान्डु