मेरो सेयर एप अब आईओएसमा पनि



काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले सेयर कारोबार सहज बनाउन आईओएसबाट पनि प्रयोग गर्न मिल्ने ‘मेरो सेयर’ एप ल्याउने भएको छ ।

सिडिएससीले २०७७ असोज पहिलो साता मेरो सेयरको एप ल्याएको छ । उक्त एप ‘गुगल प्ले स्टोर’ मा अपलोड गरिएको छ । अब भने आईओएस मोबाइल फोन प्रयोग कर्ताले पनि मेरो सेयर प्रयोग गर्न पाउने भएका छन् । सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार चालु आव भित्र मेरो सेयर आईओएसमा उपलब्ध हुनेछ ।

अहिले त्यसको निर्माणकार्य धमाधम भइरहेको छ । उनका अनुसार आईओएसमा मिल्ने खालको एप एफ वान सफ्ट कम्पनीले नै यसको निर्माण गरिरहेको छ ।

यो एप निर्माण भएपनि आईओएस भर्सनका फोन बोक्नेहरुले पनि मोबाइलबाट नै मेरो सेयर प्रयोग गर्न सक्नेछन् । आइफोन बोक्नेहरुको सहजताको लागि यो एप निर्माण गरिरहेको सिडिएससीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पुर्ण प्रसाद आचार्यले बताए । उनका अनुसार विगत १ महिनादेखी निर्माण भइरहेको एपको ढिलामा असार नत्र त्यो भन्दा अघि नै सकिने छ । आईओएसमा पनि एन्ड्रोइडमा प्रयोग भएजस्तै सेवा पाउन सकिने छ ।

लगानीकर्ताहरुले सेयर विवरण, बजार मूल्यको पोर्टफोलियो, आईपीओ, एफपीओ तथा हकप्रद सेयर आवेदन, भारित औषत लागत गणना, इडीआइएस जस्ता सुविधा प्राप्त गर्नेछन् ।

कम्पनीले मेरो सेयर सफ्टवेयरलाई थप सरल, प्रयोगकर्ता मैत्री र सहज बनाउने उद्देश्यले एप बनाउन लागेको जनाएको छ । पछिल्लो समय सेयर बजार पूर्ण रुपमा अनलाइन मैत्री बन्दै जाँदा यो एप आवश्यक भएको सिडिएससीको भनाइ छ ।

सिडिएससीका अनुसार यो समाचार तयारपार्दासम्म ४१ लाख ६९ हजार ७३२ जना मेरो सेयर प्रयोगकर्ता रहेका छन् । डिम्याट खाता खोल्ने सेयर लगानीकर्ताको संख्या ५० लाख ५७ हजार ३४२ जना पुगेका छन् ।


क्लिकमान्डु