सुपारी लगायत खाद्य सामाग्रीको आयात कोटा खारेज गर्न मञ्चको माग



काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्च नेपालले सुपारी लगायतको खाद्य सामाग्री आयात कोटा खारेज गर्न माग गरेको छ । मञ्चले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई विज्ञप्ति बुझाउँदै यस्तो माग गरेको हो ।

नेपाल राष्ट्र बैंकको सूचना अनुसार यस बर्ष बैदेशिक बिनिमय मुद्राको संचिति अत्यन्त न्यून हुन भएको छ । जसले गर्दा सरकारलाई बैदेशिक आयात निर्यात कारोबारमा सन्तुलन ल्याउन अप्ठयारो परिरहेको मञ्चले महसुस गरेको जनाएको छ ।

‘देशको आर्थिक बजारमा यस्तो बिषम स्थिति आईरहेको अवस्थामा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रको फागुन २६ मा प्रकाशित सूचना अनुसार चालु आब अबधिभरको लागी औद्योगिक प्रयोजनको नाममा सुपारी, मरिच, छोकडा, केराउको आयात अनुमति दिने निर्णय गरेको जानकारी पाउंदा आम उपभोक्ता आश्चर्य चकित भएको छ’ जारी विज्ञप्तिमा उल्लेख छ ।

जनताले कम प्रयोग गर्ने सुपारी, केराउ, मरिच र छोकडा आयात गर्दा बैदेशिक मुद्राको संचितीमा भार पर्ने उल्लेख छ । बिगतका बर्षहरुमा जस्तै सुपारी, मरिच र छोकडा अन्ततः भारतमा तस्करी भएर जाने लगभग निश्चित जस्तै रहेको छ ।

बैदेशिक मुद्रा अनावश्यक खर्च हुने र अर्को तर्फ तस्करी व्यापारलाई बढावा दिने काम हुने र नेपाली उपभोक्ता कुनै लाभ नहुने यस्तो असान्र्दभिक कामले सरकार र प्रधानमन्त्रीको छविमा समेत आंच पुग्ने भएकोले यस बिषयमा गम्भिरताका साथ बिचार गर्न आग्रह गरेको छ । सरकारले आयात इजाजत खुला गरेको उपरोक्त निर्णय तत्काल खारेज गर्न आग्रह गरेको छ ।

नेपाल सरकारलाई आर्थिक भार बढि पर्ने र दैनिक जीवनमा असर नपर्ने सामाग्रीको आयातमा नियन्त्रण गर्दै सरकारले अहिले अन्तराष्ट्रिय बजारमा बढ्दै गएको मूल्यबृद्धिलाई नजिकबाट अवलोकन गर्दै नेपाली बजारलाई कडाइका साथ नियमन गरी आम उपभोक्ताको दैनिक जिवन सहज बनाउनको लागी सरकारको स्वामित्वका सार्वजनिक संस्थानहरु मार्फत बजार हस्तक्षेप गर्ने वातावरण बनाउन आवश्यक रहेको मञ्चको भनाइ छ ।


क्लिकमान्डु