रुस-युक्रेन द्वन्द्वः अधिकांश नेपालीको उद्दार, ३८ परिवारले युक्रेन छाड्न मानेनन्



लण्डन । रुस युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीहरुको उद्दार कार्य सम्पन्न भएको छ ।

जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालहरु सुरक्षित स्थानमा पुगेकाले उद्दर कार्य सम्पन्न भएको बताए । खड्काले अन्य देशको तुलनामा नेपालीहरुको उद्दार कार्य निकै छिटोछरितो भएका कारणले युद्धमा नेपालीहरुको ज्यान सुरक्षित रहेको बताए । उनले उद्दरको कार्य सम्पन्न भएपछि उनीहरुको पुर्नस्थापना गर्ने कार्य चुनौती पूर्ण रहेको बताए ।

उनका अनुसार युद्ध शुरु भएपछि युक्रेनमा रहेका नेपालीहरु आफ्नो ज्यान बचाउन पोल्याण्ड, स्लोभाकिया, हंगेरी, स्पेन, जर्मनी, रोमानिया र माल्दावा लगायतको देशमा पुगे छन् ।

पछिल्लो तथ्यांक अनुसार हालसम्म पोल्याण्डमा ४६६ जना, स्लोभाकियामा ७८ जना, रोमानियामा २८ जना, हंगेरीमा ८ जना, र ४ जना माल्दावा पुगेका छन् । जम्मा ५८४ जना नेपालीहरु सुरक्षित गन्तन्यमा पुगेका छन् ।

राजदुत खड्का अनुसार ३ जना नेपालीहरुलाई भारतीय उडान मार्फत उद्दार गरिएको छ। उनीहरु भारतको नयां डिल्ली हुदै नेपाल जाने तयारीमा छन् ।

युक्रेनबाट निस्केका मध्ये ४० जना नेपालीले यात्रा अनुमति पत्र (ट्राभल्स डकुमेन्ट) लिएको जर्मनस्थित नेपाली दूतावासले जनाएको छ। करिब ३८ जनाको परिवार आफ्नो व्यवसायसहित स्थाई बसोबास गर्दै आएका कारण परिवारिक, कानुनी र व्यवहारिक कारणले युक्रेनमै रहेका छन् ।

एनआरएनएका उपाध्यक्ष डा. बद्री केसीले युक्रेन युद्दमा परेका नेपालीको उद्दारको लागि नेपाली समुदायले ठूलो सहयोग गरेका कारणले नेपालीहरुको समयमै उद्दार गरेर ज्यान बचाउन सफल भएको बताए । उनले नेपालीहरुको उद्दारको लागि संयुक्त राष्ट्रसंघका एजेन्सीहरुसँग काम गर्न इच्छुक रहेको बताउँदै गैरआवासीय नेपाली संघको संन्जाल संसारकै उत्कृष्ट लिस्टमा अन्तराष्ट्रिय समुदायले राखेको बताए । उनले एनआरएनए संजाल सकृय भएकै कारण छिटो उद्दार सम्भव भएको बताए ।

गैरआवासीय नेपाली संघका सहकोषाध्यक्ष लोक प्रसाद दाहालले युद्ध पिडित नेपालीहरुको पुर्नस्थापनको लागि आर्थिक संकलन गर्न आग्रह गरे । उनले युद्दमा परेका नेपालीहरुको दुःखमा साथ दिन सबैलाई हातेमालो गरेर अघि बढ्न अनुरोध गरे । समितिको बैठकले दाहालको संयोजकमा युद्द पिडितको लागि आर्थिक सहयोग संकलन समिति गठन गरेको समितिको प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

एनआरएनए पोल्याण्डका अध्यक्ष जीवन केसीले नेपालीहरुको सहयोगमा युद्ध पिडितहरुको उद्धार रव्यवस्थापन सफल भएको बताए । उनले युक्रेनबाट धेरै नेपालीहरु पोल्याण्डमा आएकोले उनीहरुको व्यवस्थापनको लागि ठूलो चुनौती रहेको बताए । उनले २०३ जना नेपालीहरुलाई संघको पहलमा बसोबासको व्यवस्था गरेको जानकारी दिए ।


क्लिकमान्डु