वर्ल्डलिंकले नीतिगत अनुसन्धानमा सहयोग गर्ने



काठमाण्डौं । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशन्सले नीतिगत अनुसन्धानका लागि सहयोग गर्ने भएको छ ।

वर्ल्डलिंकले उद्यमशिलता विकासमा काम गरिरहेको दायित्व नेपाल मार्फत नीति निर्माण र प्रवद्र्धनमा सहयोग गर्न भएको हो ।

वर्ल्डलिंकको सहयोगमा उद्यमशिलताका लागि नवीनता, सहकार्य र सेवा दिँदै आएको दायित्वले तीन बर्षमा तीन वटा नीतिगत विषयवस्तुमा सहयोग गर्ने जनाएको छ ।

सरकारका सम्बन्धित मन्त्रालयको सहभागितामा तीन जनालाई दायित्व नेपाल नीति फेलोशिप प्रदान गर्ने गरी बिहीबार वर्ल्डलिंक र दायित्व नेपाल बीच सम्झौता भएको छ ।

नीति अनुसन्धान सम्बन्धी सो सम्झौतामा वर्ल्डलिंकका कम्युनिकेशन्सका अध्यक्ष दिलीप अग्रवाल र दायित्व नेपालका अध्यक्ष डा. पुकार मल्लले हस्ताक्षर गरे ।

सम्झौता अनुसार, लगानीमा पहुँच, युवा रोजगारी, महिलाको आर्थिक शसक्तिकरण, मूल्य श्रृंखला र शासन सुधार लगायतका विषयवस्तुमध्ये विश्वव्यापी प्रतिष्पर्धा मार्फत रिसर्च फेलो छनोट गरिनेछ भने उनीहरुले ३ देखि ६ महिनासम्म सम्बन्धित मन्त्रालयका सह-सचिवस्तरका अधिकारीहरुको मेन्टरिङमा नीतिगत अनुसन्धान गर्नेछन् ।

५ सांसद् र सम्बन्धित मन्त्रालयका ५ अधिकारीहरुको सहभागितामा १० विषयवस्तु छनोट गरेर विश्वव्यापी प्रतिष्पर्धा गरिने दायित्व नेपालले जनाएको छ ।

वर्ल्डलिंक कम्युनिकेशन्स अध्यक्ष अग्रवालले स्वदेशभित्र उद्यमशिलता विकासका लागि सहयोग पुर्याउनका लागि प्रमाणमा आधारित नीति निर्माण र प्रवद्र्धनका लागि फेलोशिप सहयोग गरेको बताए ।

‘विदेश पढ्न गएकालाई स्वदेश फर्कन र स्वदेशबाट विदेश जाने तरखरमा रहेका युवालाई नेपालमै बसी काम गर्ने वातावरण निर्माणका लागि रोजगारी दिन सक्ने गरी उद्यमशिलता विकास गर्नका लागि नीतिगत रुपमा गर्नुपर्ने सुधारमा सहयोग पुर्याउन सहयोग गरेका हौं,’ उनले भने ।

दायित्व नेपालका अध्यक्ष मल्लले वर्ल्डलिंकसँगको सहकार्यले युवा–सरकारबीचमा विश्वासका वातावरण निर्माणका साथै आर्थिक शुशासन अभिवृद्धिसँगै युवावर्गलाई आशा, उत्साह र परिवर्तित भएर अघि बढ्न सहयोग पुर्याउने बताए ।

दायित्व नेपाल सन् २०१३ देखि हालसम्म ५१ संघ, प्रदेश र स्थानीय सरकारका साथै २४ सांसदसँगको सहभागितामा उद्यमशिलता विकासका लागि नवीनता, ऋणमा पहुँच र सहकार्यका लागि ३० देशका १४१ युवासँग काम गरिसकेको संस्था हो ।


क्लिकमान्डु