बीमा कम्पनीको चुक्ता पूँजीः जीवनको १९% र निर्जीवनको ८%ले बढ्यो, कुनको कति पुग्यो ?



काठमाडौं । बीमा कम्पनीहरुको चुक्ता पूँजी बढेको छ । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म्को तथ्यांकअनुसार जीवन बीमा कम्पनीको चुक्ता पूँजी १९.३८ प्रतिशत र निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी ८.७७ प्रतिशतले बढेको हो ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार जीवन बीमा कम्पनीको चुक्ता पूँजी १९.३८ प्रतिशतले बढेर ३९ अर्ब ९२ करोड ३ लाख ८६ हजार रुपैयाँ पुगेको हो ।

भने निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी ८.७७ प्रतिशतले बढेर २० अर्ब ४ करोड ८२ लाख ९९ हजार रुपैयाँ पुगेको हो ।

बीमा समितिका अनुसार गत आवको मंसिर मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी ३३ अर्ब ४४ करोड रुपैयाँ थियो भने निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी १८ अर्ब ४३ करोड १२ लाख रुपैयाँ थियो ।

राष्ट्रिय बीमा संस्थान बाहेक पूराना जीवन बीमा कम्पनी सबैको पुग्यो न्यूनतम चुक्ता पूँजी
बीमा समितिले जीवन बीमा कम्पनीको दुई अर्ब र निर्जीवन बीमा कम्पनीको एक अर्ब चुक्ता पूँजी अनिवार्य व्यवस्था गरेको थियो ।
समितिले २०७६ सालमा न्यूनतम चुक्ता पूँजी पुर्याउन निर्देशन दिएको थियो ।

समितिको निर्देशन बमोजिम पूराना जीवन बीमा कम्पनीतर्फ राष्ट्रिय बीमा संस्थान बाहेक अरु सबै कम्पनीको चुक्ता पूँजी पुगेको छ ।
पूराना जीवन बीमा कम्पनीले बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी अर्थात दुई अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याएका हुन् ।

राष्ट्रिय बीमा संस्थानको हालको चुक्ता पूँजी १८ करोड १० लाख रुपैयाँ मात्रै छ ।

जीवन बीमातर्फ नेपाल लाइफको धेरै
जीवन बीमा कम्पनीतर्फ नेपाल लाइफ कम्पनीको चुक्ता पूँजी धेरै छ । नेपाल लाइफको चुक्ता पूँजी ७ अर्ब १९ करोड ९९ लाख रुपैयाँ छ ।
नेशनल लाइफको ३ अर्ब ३९ करोड ८ लाख, प्राइम लाइफको २ अर्ब २७ करोड ९६ लाख रुपैयाँ छ ।

१० नयाँ जीवन बीमा कम्पनीमध्ये ५ को पुग्यो
सञ्चालनमा रहेका १० जीवन बीमा कम्पनीमध्ये पाँच कम्पनीले बीमा समितिले तोकेबमोजिमको न्यूनतम चुक्ता पूँजी पुर्याएका छन् ।

यूनियन लाइफ, ज्योति लाइफ,सानिमा लाइफ, प्रभु लाइफ र रिलायन्स लाइफले बीमा समितिले तोकेबमोजिम अर्थात् दुई अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याएका हुन् ।

सञ्चालनको अनुमति पाएका १० जीवन बीमा कम्पनीमध्ये पाँच कम्पनीले भने सर्वसाधरणका लागि साधारण सेयरनै जारी गर्न बाँकी छ ।
रिलायवल नेपाल, सिटिजन लाइफ, सन नेपाल लाइफ, आइएमई लाइफ र महालक्ष्मी लाइफले सर्वसाधारणका लागि आईपीओ जारी गर्न नै बाँकी छ ।

सर्वसाधारणमा सााधारण सेयर जारी गरेपछि यी कम्पनीको पनि समितिले तोके बमोजिमको चुक्ता पूँजी पुग्ने छ ।

राष्ट्रिय बीमा कम्पनी बाहेक सबै निर्जीवनको न्यूनतम चुक्ता पूँजी पूग्यो
निर्जीवन बीमा कम्पनीतर्फ राष्ट्रिय बीमा कम्पनी बाहेक सबै कम्पनीको पूँजी बीमा समितिले तोके बमोजिम पुगेको छ ।

राष्ट्रिय बीमा कम्पनीले भने बीमा समितिले तोके बमोजिमको न्यूनतम चुक्ता पूँजी पुर्याउन बाँकी छ । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीको चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ छ ।

शिखरले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद निष्काशन गर्न बीमा समितिबाट अनुमति पाएर नेपाल धितोपत्र बोर्डमा पुगेको छ । बोर्डबाट अनुमति पाएर ३० प्रतिशत हकप्रद निष्काशन पश्चात शिखरको चुक्ता पूँजी २ अर्ब २८ करोड रुपैयाँ पुग्नेछ ।

पूँजी वृद्धि गर्ने पक्षमा बीमा समिति
बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गर्ने तयारी गरिरहेको छ । हाल भएको चुक्ता पूँजी कम भएको र जोखिम बढ्दै गएको हुनाले कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गरिने आन्तरिक तयारी भईरहेको बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताउँदै आएका छन् ।

हाल सञ्चालनमा आएका निर्जीवन बीमा कम्पनीका लागि न्यूनतम चुक्ता पूँजी १ अर्ब र जीवन बीमा कम्पनीहरुको लागि न्यूनतम चुक्ता पूँजी २ अर्ब रुपैयाँ तोकिएको छ ।


क्लिकमान्डु