खल्तीको सीइओमा विनय खड्का नियुक्त, बजारलाई ‘डिसरप्ट’ गर्नेगरी काम गर्ने योजना



काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक खल्तीले विनय खड्कालाई प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्त गरेको छ । चार्टर्ड एकाउन्टेन खड्का यसअघि एनआईसी एसिया बैंकमा डिजिटल मार्केटिङ प्रमुख थिए ।

खल्तीले खड्कालाई बिहीबार सीइओका रुपमा नियुक्त गरेको खल्तीका निर्देशक अमित अग्रवालले जानकारी दिए ।

‘प्रतिभाशाली युवालाई सीइओका रुपमा पाउँदा हामी धेरै खुसी छौं,’ अग्रवालले भने, ‘उहाँको नेतृत्वमा कम्पनीले नयाँ उचाई लिनेमा हामी विश्वस्त छौं ’

बजारमा खल्तीलाई लिडिङ फिनटेक कम्पनीको रुपमा चिनाउने उद्देश्यसाथ काम गर्ने योजना रहेको खड्काले बताए ।

‘हामीले बजारलाई प्रभाव गर्नेगरी नै टिम बनाउँदै छौं,’ उनले क्लिकमाण्डूसँग भने, ‘बीचमा खल्ती सेलाएको हो कि भन्ने थियो । त्यसलाई काउन्टर गर्ने हिसाबले योजना बनाइरहेका छौं ।’

सकेसम्म ‘फाइनन्सियल इन्क्लुजन’लाई बढाउने हिसाबले नेपालको सबै ठाउँमा पुग्ने योजना रहेको बताए । २०१७ खल्ती शुरु गर्दा जुन किसिमको उत्साह र आक्रामक नीति थियो त्यसलाई निरन्तता दिएर काम गर्ने उनको भनाइ छ ।

खल्ती आफैमा इनोभेटिम फिनटेक हब भएकाले यसलाई युटिलिटी र मर्चेन्ट पेमेन्टमात्र नभएर अन्य विधामा पनि विस्तार गर्ने योजना उनको छ ।

‘आवश्यक भएको ठाउँमा पार्टनरसिप गरेर भए पनि कम्पनीलाई अग्रस्थानमा पुर्याउने गरी काम गर्छौं,’ उनले भने, ‘मेरो मुख्य उद्देश्य भनेकै प्रयोगकर्ताको विश्वसनीयता जित्ने र थप सुविधा दिने हो ।’

खड्काको करियर एनआईसी एसियाबाटै सुरु भएको थियो । त्यसपछि केही समय इसेवामा काम गरेर उनी पुनः एनआईसी एसियामै फर्किएका थिए । पछिल्लो समय मार्केटिङ हेडको रुपमा दुई वर्ष काम गरेरे खड्का खल्तीमा सीईओका रुपमा आएका हुन् ।

खल्तीमा अहिले २३० भन्दा धेरै युवाहरुले रोजगारी भएका छन् । उनीहरुको औषत उमेर २६ रहेको अग्रवालले आफ्नो फेसबुक वालमा उल्लेख गरेका छन् ।


क्लिकमान्डु