मोबाइल डेटा चलाएको आधारमा ११० प्रतिशतमा ब्रोडब्यान्ड इन्टरनेट पुग्यो भन्न मिल्छ ?



काठमाडौं । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको रिपोर्टलाई मान्ने हो भने मुलुकमा ब्रोडव्यान्ड इन्टरनेट चलाउने संख्या जनसंख्याभन्दा धेरै पुगिसकेको छ ।

उसले प्रकाशित गरेको पछिल्लो एमआईएस रिपोर्टअनुसार मुलुकमा ब्रोडव्यान्ड इन्टरनेट चलाउने संख्या ११०.६८ प्रतिशत पुगिसकेको छ । यसको अर्थ हो मुलुकको जनसंख्याभन्दा ब्रोडव्यान्ड इन्टरनेट चलाउनको संख्या धेरै छ ।

ब्रोडव्यान्ड इन्टरनेट चलाउनेको संख्या सतप्रतिशतभन्दा माथि लागेपनि यसमा ८० प्रतिशतभन्दा धेरै संख्या मोबाइलमा डेटा चलाउनेलाई राखिएको छ । प्राधिकरणको तथ्यांकअनुसार मोबाइल ब्रोडव्यान्ड चलाउन ग्राहक ८२.५५ प्रतिशत छ ।

प्राधिकरणले मोबाइलको जीपीआरएस अर्थात टुजीलाई ब्रोडव्यान्ड इन्टरनेटमा समावेश गरेको छैन् । मोबाइल ब्रोडव्यान्ड भन्नाले थ्रिजी र फोरजीलाई मानेको छ ।

अर्कोतिर हेर्ने हो भने तारबाट फिक्स्ड लाइनको इन्टरनेट प्रयोग गर्नेको संख्या न्यून छ । रिपोर्टअनुसार फिक्स्ड ब्रोडव्यान्ड चलाउनको संख्या २८ प्रतिशतमात्र रहेको छ । त्यसमा पनि वायरलेसन फिक्स्ड ब्रोडव्यान्ड चलाउनको संख्या ०.६९ प्रतिशतमात्र रहेको छ । पछिल्लो एक वर्षमा कुल मोबाइल ब्रोडव्यान्ड चलाउनको ५६.४२ प्रतिशतबाट ८२.५५ अर्थात २६ प्रतिशतले वृद्धि भएको छ तर फिक्स ब्रोडव्यान्ड भने १९.४० प्रतिशतबाट २७.४४ प्रतिशत अर्थात ८ प्रतिशतमा वृद्धि भएको छ ।

प्राधिकरणले मोबाइल डेटासहित ११० प्रतिशतमा ब्रोडव्यान्ड इन्टरनेट पुगेको भने पनि मोबाइल डेटालाई राखेर सतप्रतिशतमा इन्टरनेटको पहुँच भयो भन्न नमिल्ने केही विज्ञको तर्क छ । मोबाइलमा सिम राखेर एक पटक डेटा चलाउँदैमा त्यसलाई इन्टरनेटको पहुँच भएको भन्न नमिल्नेहरुको उनीहरको भनाइ छ ।

फिक्स्ड लाइनको इन्टरनेट जति संख्यामा पुग्छ त्यसलाई मात्र ब्रोडव्यान्ड इन्टरनेटको पहुँच भएको मान्नुपर्ने तर्क छ । इन्टरनेट सेवा प्रदायक संघका अनुसार फिक्स्ड इन्टरनेटको बिस्तार सहरी क्षेत्रमा राम्रो छ भने ग्रामीण भेगमा अझै पनि पुग्न सकेको छैन ।

पछिल्लो समय इन्टरनेट सेवा प्रदायकबीच चर्को प्रतिस्पर्धा भए पनि यो प्रतिस्पर्धा सहरी इलाकामा मात्र केन्द्रित छ । जसले गर्दा नयाँ व्यक्तिलाई फिक्स्डलाइनमा ल्याउने भन्दा पनि एकअर्काका ग्राहक तान्नेमात्र होडबाजी चलिरहेको छ । ग्रामीण क्षेत्रका उपभोक्ता अझै पनि थ्रिजी र फोरजीको महंगो डेटा चलाइरहेका छन् ।

मोबाइल ब्रोडव्यान्डको बिस्तार राम्रो भए पनि फिक्स्डलाइन भने धिमा गतिमा छ । वर्षदिन अभि १९.४० प्रतिशतमा रहेको फिक्स्डलाइन अहिले ८ प्रतिशतले मात्र वृद्धि भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार मुलुकमा १ सय २२ वटा इन्टरनेट सेवा प्रदायकले सञ्चालनको अनुमति मागे पनि ४४ वटा सञ्चालनमा आइसकेका छन् । इन्टरनेट सेवा प्रदायकहरु हरेक वर्ष वृद्धि भइरहेको अवस्थामा उनीहरुले नयाँ ग्राहक थप्न भने सकेका छैनन् ।

आधा दर्जन इन्टरनेट सेवा प्रदायकले मात्र राम्रो ग्राहक बनाउन सकेपनि अरुको अवस्था नाजुक छ । सबैभन्दा धेरै वल्र्डलिंकका ग्राहक ५ लाख नाघिसकेका छन् भने त्यसपछि सुविसु, नेपाल टेलिकम, भायानेट, क्लिासिक टेकले अगाडि रहेका छन् । फिक्स ब्रोडव्यान्ड इन्टरनेटमा एक लाइन जोडिदा ४ जनाले प्रयोग गर्छन् भन्ने मान्यता छ ।


क्लिकमान्डु