वर्षदिनमा इन्टरनेटका ग्राहक ५ लाख थपिए, कुन कम्पनी कति अगाडि ?



काठमाडौं । मुलुकमा इन्टरनेट विस्तार तीव्र भइरहेको बेला वर्षदिनमा इन्टरनेट सेवा प्रदायकका ग्राहक ५ लाखबढी थपिएका छन् ।

कोरोना संकटले वर्कफ्रम होम र अनलाइनमा आधारित व्यवसाय बढेसँगै इन्टरनेट जोड्नेको संख्यामा पनि वृद्धि भएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको भदौ महिनाको म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (एमआइएस) रिपोर्टअनुसार हाल सञ्चालनमा रहेका ४४ इन्टरनेट सेवा प्रदायकहरुले पछिल्लो एक वर्षको अवधिमा ५ लाख ८ हजार ४ सय ११ ग्राहक बनाउन सफल भएका छन् ।

नयाँ ग्राहक थप्नमा वर्ल्डलिंक सबैभन्दा अगाडि देखिएको छ भने उसलाई पछ्याईरहेको छ सुविसुले । सुविसुका समग्र ग्राहक नेपाल टेलिकमका भन्दा कम भए पनि नयाँ ग्राहक थप्नमा भने सुविसु अगाडि देखिएको छ ।

इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष सुधिर पराजुलीले ग्रामीण क्षेत्रमा पनि इन्टरनेट बिस्तार भइरहेकाले नयाँ ग्राहक थपिनेक्रम बढेको बताए ।

‘ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोगले पनि ग्रामीण क्षेत्रमा इन्टरनेट बिस्तार गर्न सहयोग पुगेको छ,’ क्लिकमान्डुसँग कुरा गर्दै पराजुलीले भने, ‘यसले ग्रामीण क्षेत्रमा पनि इन्टरनेट बिस्तार भइरहेको छ ।’

इन्टरनेट ग्राहक बढ्नमा लकडाउनले पनि धेरै सहयोग गरेको उनको भनाइ छ । जसले गर्दा इन्टरनेट पहुँच नभएका सहरदेखि ग्रामीण क्षेत्रका उपभोक्ताले यसमा जोडिएका छन् । स्कुल तथा कलेजले अनिवार्य रुपमा अनलाइन कक्षा सञ्चालन गरेपछि इन्टरनेट नभइनहुने माध्यम बनेको छ ।

विवरण हेर्ने हो भने वर्ल्डलिंकले यो वर्ष सबैभन्दा धेरै पाँच लाख ग्राहक बनाउन सफल भएको छ । उसले एक वर्षमा १ लाख ३८ हजार ५ सय १ जना थप्दै कुल ५ लाख ४३ हजार ग्राहक बनाएको छ ।

वर्ल्डलिंकपछि सबैभन्दा धेरै ग्राहक बनेका छन् नेपाल टेलिकमका । उसले अहिलेसम्म २ लाख ९३ हजार ७ सय ग्राहक बनाएको छ । पछिल्लो एक वर्षमा उसले ३७ हजार २ सय ग्राहक थपेको छ तर यो संख्या सुविसु, भायानेटका थपिएका ग्राहकभन्दा कम हो ।

सुविसुले पछिल्लो एक वर्षमा ग्राहक संख्या तीव्ररुपमा बिस्तार गरिरहेको छ । यसले भदौ महिनासम्म २ लाख ३४ हजार ग्राहक बनाउन सफल भएको छ । जसमध्ये ८१ हजार ग्राहक पछिल्लो एक वर्षमा बनेका छन् ।

ग्राहक संख्या बनाउनमा भायानेट र क्लासिकटेकको पनि तछाडमछाड चलिरहेको छ । उनीहरुले अहिलेसम्म प्रत्येकले १ लाख ६० हजार ग्राहक बनाएका छन् । पछिल्लो एक वर्षमा उनीहरु क्लासिक टेकले ४७ हजार ६ सय र भायानेटले ४३ हजार ३ सय ग्राहक थप्न सफल भएका छन् ।

उपत्यका बाहिरका इन्टरनेट सेवा प्रदायकमध्ये सबैभन्दा अगाडि देखिएको छ टेकमाइन्डस् । चितवनमा मुख्य कार्यालय रहेर त्यस क्षेत्रमा इन्टरनेट विस्तार गरिरहेको टेकमाइन्डस्ले अहिलेसम्म ७० हजार ग्राहक बनाउन सफल भएको छ । त्यस्तै पछिल्लो एक वर्षमा उसले थपेका ग्राहकको संख्या २७ हजार रहेका छन् ।

त्यस्तै, बजारमा प्रतिस्पर्धामा अगाडि रहेको कम्पनीहरुमा ब्रोडलिंक नेटवर्क एण्ड कम्युनिकेसन ४६ हजार ग्राहक रहेका छन् भने डिस मिडिया नेटवर्कले ३० हजार बनाएको छ ।

पछिल्लो समय बजारलाई हस्तक्षेप गर्दा आएको इन्टरनेट सेवा प्रदायक हो सिजी नेट । बजारमा चलेको शुल्कभन्दा आधा सस्तो दिएर जेठ १८ गतेदेखि सेवा शुरु गरेको सिजीले तीन महिनामा ३ हजार ग्राहक बनाएको छ ।

मुलुकमा हाल ४४ वटा इन्टरनेट सेवा प्रदायकहरु सञ्चालनमा रहेका छन् । संचालनमा रहेको यी कम्पनीमध्ये अधिकांश ग्राहक दश हजारभन्दा कम छन् । कति कम्पनीका त एक हजारभन्दा कम ग्राहक संख्यामात्र बनाएर बसेका छन् ।


क्लिकमान्डु