एभरेष्ट बैंक र लक्ष्मी बैंकबीच फेरि मर्जरको छलफल
काठमाडौं । लामो समयसम्म चर्चामा रहेको एभरेष्ट र लक्ष्मी बैंकको मर्जर ४ वर्षअघि ‘च्याप्टर’ क्लोज भएको थियो । राष्ट्र बैंकले नै इन्करेज गरेको उक्त मर्जर प्रक्रिया सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) रिपोर्टसम्म पुग्यो । डीडीए रिपोर्ट आएपछि एभरेष्ट बैंक मर्जर प्रक्रियाबाट पछि हट्यो ।
डीडीए रिपोर्टमा सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठले सोचेभन्दा फरक आइदियो । बिके श्रेष्ठले लक्ष्मी बैंकका १०० कित्ता सेयरधनी भएकालाई एभरेष्ट बैंकको ३५ कित्तामात्रै दिने प्रस्ताव गरे । तर, डीडीएमा लक्ष्मीमा १०० कित्ता हुनेले एभरेष्टको ५० कित्ता हुनुपर्ने देखिएको थियो । यद्यपि ४५ सम्म पाए पनि लक्ष्मी बैंक मर्जरमा जान तयार थियो । तर, बिके श्रेष्ठले ३० बाट बार्गेनिङ गरेर ३५ सम्ममात्रै दिन तयार भएपछि च्याप्टर क्लोज भएको थियो ।
असफल प्रयासको तीतो अनुभव बोकेका यी दुई बैंकबीच फेरि मर्जरको छलफल शुरु भएको चर्चा छ । यद्यपि यो अत्यन्तै प्रारम्भिक अवस्थामा छ ।
एभरेष्ट र लक्ष्मीको मर्जरमा चुकेको राष्ट्र बैंक प्राइम र ओममा नचुकोस्, अब यसो गरौं
पछिल्लो समय बैंकले प्रगति गर्न नसकेपछि एभरेष्टका अध्यक्ष श्रेष्ठ विगतमा मर्जर नगरेर गल्ती गरिएछ भन्ने निष्कर्षमा पुगेका छन् । एकातिर बैंकले अपेक्षित बिजनेश बढाउन नसक्दा त्यसको असर नाफामा देखिन थालेपछि र उमेर घर्र्किएसँगै विश्वासिलो व्यक्ति तथा समूहको जिम्मा लगाउने सोचमा भएको श्रेष्ठका निकटस्थहरु बताउँछन् ।
‘बीके श्रेष्ठले आफ्नो उमेर ढल्किदैँ गएपछि आफ्नो सम्पत्तिको संरक्षक खोजिरहेका छन्, ९१ वर्ष नाघेका श्रेष्ठले अहिलेको अवस्थामा राजेन्द्र खेतानलाई बढी विश्वास गरेका छन्,’ स्रोतले क्लिकमाण्डूसँग भन्यो, ‘फलस्वरुप पछिल्लो समय खेतान् र श्रेष्ठबीच मर्जरको छलफल हुन थालेको छ ।’
स्रोतका अनुसार दुई बैंकका केही सञ्चालकबीच पनि यस बिषयमा विभिन्न चरणमा छलफल भएको छ । राजेन्द्र खेतान लक्ष्मी बैंकका सबैभन्दा ठूलो सेयरधनी हुन्, खेतानले आफूले चाहेको निर्णय गराउन सक्छन् ।
बनेपामा रहेको मायोज चाउचाउ उत्पादक कम्पनी हिमालयन स्न्याक्समा भएको आगलागीमा आफ्नै लगानी रहेको एभरेष्ट इन्स्योरेन्सबाट अग्रिम भुक्तानी लिएको विषयमा बीमा समितिले प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोमा उजुरी गरेपछि खेतान लामो समय फरार भएका थिए । त्यसपछि पारिवारिक भागबण्डामा खेतानले सुचिकृत कम्पनीहरु आफूले लिए र प्राइभेट कम्पनीहरु भाईलाई दिए । हिमालयन स्न्याक्स प्रकणरपछि गुमेको शाख जोगाउन खेतानलाई अझैसम्म हम्मेहम्मे परेको छ । लक्ष्मी बैंकलाई आक्रमकरुपमा प्रस्तुत गर्नुभन्दा मर्जरमा गएर ठूलो बनाउने र स्थिर प्रकृतिको राम्रो प्रतिफल खाएर बस्ने खेतानको सोच छ ।
र, अर्को कुरा खेतानका छोरा छैनन् । छोरीको रुचि पनि बिजनेशमा भन्दा सामाजिक कार्यमा बढी भएकाले पारिवारिक भागबण्डामा खेतानले ‘हाइली रेगुलेटेड’ बिजनेश रोजेका हुन् । हाइली रेगुलेटेड सार्वजनिक कम्पनीमा निजी कम्पनीमा जस्तो कडा मिहेनत गर्नु पर्दैन । नियामक निकायको निगरानीमा रहेर व्यावसायिक व्यक्तिहरुले संस्था चलाएर लगानीमा प्रतिफल दिन्छन् । जसकारण खेतान यस्ता संस्थातर्फ मोहित भएका हुन् ।
उता एभरेष्ट बैंकका अध्यक्ष श्रेष्ठ छोराछोरीले बैंक चलाउन नसक्ने निष्कर्षमा पुगेका छन् । र, बैंक चलाउन सक्ने व्यक्ति समूहलाई एभरेष्टको जिम्मा लगाउन चाहन्छन् ।
पछिल्ला वर्षहरुमा लगातार हकप्रदमार्फत् लगानी थपिरहेको २० प्रतिशतको साझेदार पञ्जाव नेशनल बैंक अहिले आफैं समस्यामा परिरहेको छ । थप लगानी गर्नुपर्ने अवस्था आए हात झिक्ने प्रष्ट संकेत पनि पीएनबीले गरिसकेको स्रोतहरुको दावी छ । बिजनेश बढाउनका लागि पुँजी बढाउनुपर्ने आवश्यकता छ, जसकारण पनि श्रेष्ठ दवावमा छन् ।
पीएनबीसँग खटपट भएपछि पीएनबीले पठाएका प्रमुख कार्यकारी अधिकृत जीके नेगीसहित ३ उच्च व्यवस्थापकलाई फिर्ता पठाउने निर्णय गरिसकेको छ । नेगीसहित एभरेष्टको सीइओ भएको १५ महिनामै पीएनबी फिर्ता पठाउने निर्णय गर्दै लक्ष्मी बैंकका पूर्वसीइओ सुदेश खालिङलाई एभरेष्टको सीइओमा नियुक्ति गरिएको छ । एभरेष्ट बैंकको इतिहासमै खालिङ पहिलो नेपाली सीइओ हुन् ।
खालिङलाई एभरेष्टले सीइओ बनाएपछि नै धेरैले यी दुई बैंकबीच मर्ज हुन्छ भनेर लख काटिसकेका थिए । किनभने, लक्ष्मी र एभरेष्टबीच मर्जरको प्रारम्भिक छलफलदेखि डीडीएको प्रक्रियासम्म खालिङ संलग्न छन् । मर्जरको अवरोधका जानकार सीमित व्यक्तिमध्ये खालिङ पनि एक हुन् ।
‘एभरेष्ट र लक्ष्मीलाई मर्ज गर्ने योजना अनुसार नै खालिङलाई एभरेष्टको सीइओ बनाइएको हो,’ स्रोतले भन्यो ।
खालिङ बैंकिङ क्षेत्रमा राम्रो क्षमता भएका बैंकरको रुपमा परिचित छन् । एभरेष्टको सीइओ नियुक्ति हुनुभन्दा १५ दिनअघिसम्म उनी सिटिजन्स बैंकको सञ्चालक थिए । त्यसअघि उनी लक्ष्मी बैंकको सीइओ थिए ।
राष्ट्र बैंकको नियमअनुसार कुनै बैंकको सञ्चालक अर्को बैंकको सीइओमा नियुक्ति हुनका लागि आवश्यक पर्ने समयाअवधि अर्थात् कुलिङ पिरियडका कारण खालिङले एभरेष्ट बैंकको सीइओका रुपमा औपचारिक रुपमा पदभार सम्हाल्न पाएका छैनन् । आगामी भदौ तेस्रो सातामात्रै औपचारिक पदभार सम्हाल्ने खालिङले अहिले अनौपचारिकरुपमा सीइओकै भूमिका निर्वाह गरिरहेका छन् ।
फेरि शुरु भएको मर्जरको मध्यस्थकर्ताको भूमिका उनले राम्रोसँग निभाउन सक्ने अपेक्षा गरिएको छ ।
यसकारण आवश्यक छ बीकेलाई सम्पत्तिको संरक्षक
बीकेले एभरेष्ट बैंकका संस्थापक सञ्चालक मैत्रीदेव पाठकपछि निरन्तर अध्यक्षका पदमा कार्यरत छन् । उमेरले ९१ वर्ष काटे पनि लामो समयमसम्म बैंकको बागडोर सम्हाल्ने विश्वासिलो पात्र नभेटेकै कारणले अध्यक्षको कार्यभार आफैंले सम्हालेको जानकारहरु बताउँछन् । आफ्नो सक्रिय जीवनकालमा उनले मनग्ये पैसा कमाइसकेका छन् ।
उनको दुई सन्तानमा छोरा मुकुन्द श्रेष्ठ र छोरी प्रतिमा श्रेष्ठ हुन् । मुकुन्द संयुक्त राष्ट्र संघमा लामो समयसम्म काम गरेर अवकास पाएका व्यक्ति हुन् । उमेरले ६० काटिसकेका छन् । उनलाई बीकेले कैयन पटक नेपालमा भएका आफ्ना सम्पूर्ण व्यवसाय सम्हाल्नभन्दा पनि उनले त्यसतर्फ ध्यान नदिएको स्रोतहरुको भनाइ छ ।
बिके श्रेष्ठ पदमुक्त भए, अब को हुन्छ एभरेष्ट बैंकको अध्यक्ष ? यस्तो छ नालीबेली
एसबिएल कम्पनीको अध्यक्ष बिके श्रेष्ठ हुन् । व्यवस्थापन मात्रै छोरा मुकुन्दले हेर्छन् । यो कम्पनीले होमियोपेथिक औषधि, आयुर्वेदिक औषधि र कस्मेटिक उत्पादन तथा बिक्री वितरण गर्छ ।
बिकेले पहिले नै छोरा मुकुन्दलाई नेपाल ल्याउन खोजेका थिए । तर, मुकुन्दले नेपाल त कुनैपनि हालतमा नआउने बरु भारतसम्म भए आउँछु भन्ने अडान लिएपछि उनलाई एसबिएलको जिम्मा दिइएको हो ।
‘मुकुन्दजीको आफ्नै लगानीका केही संगीत कम्पनीहरु छन् भन्ने सुन्नमा आउँछ तर अहिले उनी भारतमा रहेको आफ्नै बाबुको औषधि उत्पादक एसबीएल कम्पनी सम्हालेर बसेका छन्,’ स्रोतले भन्यो, ‘छोरी प्रतिमालाई बैंकिङ तथा व्यवस्थापन सम्बन्धी राम्रो ज्ञान छैन । त्यसैले उनी आफू रहँदा नै आफ्नो सम्पत्तिको राम्रो संरक्षकको खोजीमा छन् ।’
प्रतिमा श्रेष्ठ बिकेकी छोरी हुन् । उनी नेपालमै बस्छिन् । बिहे गरिसकेकी छोरी डिभोर्सपछि बिकेले आफूसँगै राखेका छन् । र, उनलाई आफ्नो सम्पूर्ण कारोबारमा संलग्न गराएका छन् ।
‘बिकेजी छोरीलाई असाध्यै मायाँ त गर्नुहुन्छ तर सारा सम्पत्ति नै जिम्मा लगाएर उत्तराधीकारी बनाउन चाहिँ तयार देखिनु हुन्न,’ स्रोतले भन्यो ।
अर्को संभावना भनेको बिकेका नाती प्रतिक श्रेष्ठको । उनी पनि भारतको सिक्किममा बस्छन् । त्यहाँस्थित बिकेको मदिरा कम्पनी नाती प्रतिकले सम्हाल्छन् । प्रतिकले हिमालयन बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठकी छोरीसँग बिबाह गरेका छन् । उनीहरु सिक्किम छोड्न रुचाउँदैनन् ।
मौद्रिक नीतिसम्म पर्ख र हेरको नीति
पहिलो पटक भएको मर्जरमा आपसी मदभेद स्वाप रेसियोले ल्याएको हुँदा यसपटक पूरानै डीडीए रिपोर्टलाई आधार मानेर प्रक्रिया अघि बढाउन श्रेष्ठ बढी लचक देखिएका छन् ।
जसकारण मर्जरका लागि लक्ष्मी बैंकको तर्फबाट राखिएका अधिकांश शर्तहरु एभरेष्टले सहजै स्वीकार गरिहेको स्रोतको भनाइ छ ।
‘अहिले मर्जर कमिटी गठन नै भएको त छैन, दुई बैंकहरुको सञ्चालकबीच एक तहमा पक्का सहमति भएपछि मात्र कमिटी गठन गर्ने कुरा आएको छ,’ स्रोतले भन्यो, ‘मर्जरपछि बन्ने बैंकको नाम एभरेष्ट बैंक रहने, सीइओ पनि एभरेष्टकै (सुदेश खालिङ) रहने र लक्ष्मी बैंकलाई अध्यक्ष दिने प्रारम्भिक समहमति भइसकेको छ ।’
मर्जरका लागि औपचारिक शुरुवात मौद्रिक नीतिपछि मात्रै गर्ने दुबै बैंकको तयारी छ ।
‘मौद्रिक नीतिसम्म पर्ख र हेरको नीति अबलम्बन गरिएको छ,’ स्रोतले भन्यो, ‘राष्ट्र बैंकले मर्जरलाई विषेश जोड दिएको खण्डमा यी दुई बैंकले तत्कालै औपचारिकरुपमा प्रक्रिया शुरु गर्छन् । नत्र केही लम्बिन सक्छ ।’
राष्ट्र बैंकका अधिकारीहरुले मौद्रिक नीतिले वाणिज्य बैंकहरुबीचको मर्जरलाई विषेश प्राथमिकता दिने बताइरहेका छन् । पहिले मर्जरको गहन छलफल गरेका, क्रस होल्ङि भएका र अन्य व्यवसायमासमेत साझेदारी गरेका व्यक्ति तथा समूहलाई राष्ट्र बैंकले अनौपचारिकरुपमा दवाव दिन थालेको छ ।
‘यसअघिक गभर्नर डा. चिरञ्जीवि नेपालले एभरेष्ट र लक्ष्मीलाईं आफ्नो कार्यकालमा मर्ज गराएर बिग मर्जरको शुरुवात गर्न चाहन्थे तर बिकेले धोका दिए,’ स्रोतले भन्यो, ‘जसरी हिमालयन र इन्भेष्टमेन्ट बैंकलाई राष्ट्र बैंकले अनौपचारिरुपमा दवाव सिर्जना गरेर भनौं वा प्रोत्साहन गरेर मर्जरमा लग्यो त्यसरीनै यी दुई बैंकलाई पनि मर्जरमा लाने खोजिरहेको छ ।’
बिकेले धोका दिएपछि रिसाएका तत्कालीन गभर्नर डा. नेपालले ७४ वर्षभन्दा बढी उमेर भएका व्यक्ति बैंकको सञ्चालक बन्न नपाउने निर्देशन जारी गरेका थिए । राष्ट्र बैंकको उक्त आदेशलाई सर्बोच्च अदालतले उल्ट्याएपछि बिकेको पद जोगिएको थियो ।
राष्ट्र बैंकले मर्जरमा जान दवाव दियो भने एभरेष्टका लागि लक्ष्मी र लक्ष्मीका लागि एभरेष्ट नै सबैभन्दा उपयुक्त पार्टनर हुने निष्कर्ष निकाल्दै दुबै पक्षले मर्जरको कुराकानी अघि बढाएको स्रोतको दावी छ ।
मर्जरमा एभरेष्ट बैंकको असफल इतिहास
नेपालमा मर्जरसम्बन्धी नीति आउनुभन्दा पहिला एभरेष्ट र इन्भेष्टमेन्ट बैंकबीच मर्ज हुने विषयमा केही छलफल चलेको थियो । तर, इन्भेष्टमेन्ट बैंकका कर्मचारीले मर्जरमा जान नहुने भन्दै विरोध गरेपछि त्यो प्रयास तुहिएको थियो ।
त्यसपछि राष्ट्र बैंकबाट मर्जरको नीति आयो । मर्जरको नीति आएपछि एभरेष्टले तत्कालीन किष्ट बैंकसँग मर्जरको छलफल गर्यो । तर प्रारम्भिक छलफलमै स्वाप रेसियोमा कुरा नमिलेपछि थप प्रक्रिया नै अघि बढेन ।
किष्टपछि एभरेष्टले कुमारी बैंकसँग मर्जरको छलफल गर्यो । त्यो पनि सफल भएन । यसअघि लक्ष्मीसँग गरेको छलफल पनि सफल भएन ।
अहिले फेरि लक्ष्मीसँग मर्जरको छलफल शुरु भएको छ । यो सफल हुन्छ वा हुँदैन त्यो भने हेर्न बाँकी नै छ ।
एभरेष्ट बैंकमा बीके श्रेष्ठको स्वामित्व कति ?
गत आर्थिक वर्षको असार मसान्तसम्मको वित्तीय विवरण अनुसार एभरेष्ट बैंकमा ४९.११ प्रतिशत संस्थापकहरुको, ३०.८६ प्रतिशत सर्वसाधारण लगानीकर्ताको र २०.०३ प्रतिशत लगानी पञ्जाब नेशलन बैंकको लगानी छ ।
संस्थापकहरुको लगानीमा पनि बीके श्रेष्ठ र उनका परिवारका सदस्यको गरी ३८.८४ प्रतिशत सेयर स्वामित्व छ ।
बैंकमा सबैभन्दा धेरै बीकेकी छोरी प्रतिमा श्रेष्ठको १४.८४ प्रतिशत छ । बीके श्रेष्ठकै नाममा रहेको होटल स्नो लाइनको ९.३१ प्रतिशत र श्रेष्ठ स्वयंमको नाममा ९.१८ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
यस्तै, बीके श्रेष्ठका दाजु नेपाल कृष्ण श्रेष्ठका नाममा ५.४७ प्रतिशत र उनकी श्रीमति राधा श्रेष्ठको नाममा ०.०४ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
यसबाहेक बैंकको संस्थापक अध्यक्षका छोरा शान्तदेव पाठककको स्वामित्वमा ६.३२ प्रतिशत, अरुणमान शेरचनका नाममा ३.२ प्रतिशत र आनन्दरत्न तुलाधरको स्वामित्वमा ०.७५ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
अरुणमान शेरचन बीके श्रेष्ठका विश्वासपात्र हुन् । बैंकको सञ्चालन समितिको बैठकमा बीके श्रेष्ठ नउपस्थित हुँदा शेरचनले नै अध्यक्षता ग्रहण गर्ने गरेका छन् । त्यसैले श्रेष्ठले गरेको बैंक मर्जर सम्बन्धी निर्णयमा बहुमत हुने प्रष्ट छ ।
यस्तो छ बैंकको अवस्था
पछिल्ला केही वर्षलाई हेर्ने हो भने एभरेष्ट बैंकले सन्तोषजनक प्रगति गर्न सकेको देखिँदैन । विगतेका ४६ महिनामा एभरेष्ट बैंकले निक्षेप ३३.१६ प्रतिशतले मात्रै बढाएको छ भने कर्जा ४२.९० प्रतिशतले मात्रै बढाएको छ । यो अवधिमा नाफा भने ३३.२६ प्रतिशतले घटेको देखिन्छ ।
०७७ असार मसान्तमा बैंकले कूल १ खर्ब ४३ अर्ब ५४ करोड निक्षेप संकलन गरी १ खर्ब १२ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । त्यसयताका १० महिनामा बैंकले निक्षेप जम्मा १२ अर्ब रुपैयाँले र कर्जा १६ अर्ब रुपैयाँले बढाएको छ । ०७८ बैशाख मसान्तसम्म आइपुग्दा बैंकले कुल १ खर्ब ५ अर्ब ८१ करोड निक्षेप संकलन गरी १ खर्ब २८ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
चालु आर्थिक वर्षको १० महिनामा बैंकले १ अर्ब ७२ करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ । यो तथ्यांकका आधारमा प्रक्षेपण गर्दा बैंकले चालु आर्थिक वर्षमा २ अर्ब रुपैयाँको हाराहारीमा मात्रै नाफा कमाउने देखिन्छ । जबकी एभरेष्टको पुस्ताका बैंकहरुले यो अवधिमा ३ देखि ४ अर्ब रुपैयाँ नाफा कमाउने देखिन्छ ।
यस्तो छ पछिल्लो ४ वर्षको तथ्यांक
Evrest Bank | Deposite | Loan | Profit | Capital | NPL | Distributable Profit | |
2074/75 | 115511706000 | 89927570000 | 2581682000 | 8106863000 | 0.2 | ||
2075/76 | 129550539000 | 104568222000 | 3046109000 | 8106863000 | 0.16 | 2188038000 | |
2076/77 | 143545475000 | 112195372000 | 2499994000 | 8510207000 | 0.22 | 3571814000 | |
2077/78 Chait | 155655693000 | 120375538000 | 1507446000 | 8933717000 | 0.12 | 3,360,939,000 | |
2077/78 Baisak | 153818750000 | 128504410000 | 1722970000 | 8933720000 |