कोरोना असरः तारा एयरको आम्दानी ७७ प्रतिशतले घट्यो



काठमाडौं । तारा एयरको आम्दानी ७७ प्रतिशतले घटेको छ । कोरोना महामारीका कारण आन्तरिक उडान बन्द हुँदा त्यसको सिधा असर कम्पनीको आम्दानीमा परेको हो ।

कम्पनीका अनुसार अपरिष्कृत वित्तीय विवरण अनुसार २०२१ मा कम्पनीको आम्दानी जम्मा २१ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ । जबकी कम्पनीले सन् २०२० मा ९४ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । त्यसैगरी तारा एयरले सन् २०१९ मा १ अर्ब ५६ करोड ८० लाख रुपैयाँ सन् २०१८ मा १ अर्ब ४१ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

हालै तारा एयरले ८८ करोड ७० लाख १८ हजार रुपैयाँ बराबरको ऋणका लागि रेटिङ समेत गराएको छ । कम्पनीसँग अहिले पनि ४० लाख १६ हजार डलर ऋण समेत छ ।

पछिल्लो एक वर्षमा विदेशी पर्यटकहरु अत्यन्तै न्यून संख्यामा आएको र विदेशी नागरिकहरुबाट हुने डलर आम्दानी घट्दा त्यसको सिधा असर आम्दानीमा परेको हो ।

कम्पनीले हाल स्टोल रुटमा उडान गर्दै आएको छ । कम्पनीले पर्यटकीय दृष्टिले पहाडी तथा हिमाली जिल्लामा उडान गर्दै आएको छ ।

तारा एयरले सन् २०१९ को डिसेम्बरमा दुई वटा डोर्नियर एयरक्राफ्ट बिक्री गरेको थियो । जसलाई ट्विन अटर एयरक्राफ्टले बिस्तापित गर्ने योजना बनाएको थियो । तर महामारीका कारण तारा एयरको बजार हिस्सामा पनि ठूलो गिरावट देखिएको छ । तारा एयरको सन् २०१९ मा बजार हिस्सा स्टोल रुटमा ५२ प्रतिशत रहेकोमा सन् २०२० मा घटेर ४१ प्रतिशतमा सीमित भएको छ ।

तारा एयरले उडान गर्ने मुख्य गन्तव्यहरु लुक्ला र जोमसोमको उडानमा ६८ प्रतिशत कटौती हुँदा त्यसको असर वित्तीय अवस्थामा देखिएका हो । तारा एयरले ५२ प्रतिशत उडान लुक्लामा गर्दै आएको छ भने पोखरा र जोमसोममा १६ प्रतिशत उडान गर्दै आएको छ ।

थामसेर्खु ग्रुप अन्तर्गत सञ्चालित तारा एयर स्टोल रुटमा उडान गर्दै आएको छ । ग्रुपले एयरलाइन्ससँगै हस्पिटालिटी, ट्राभल एजेन्सी,लगायतका क्षेत्रमा पनि व्यवसाय बिस्तार गरेको छ । तारा एयरको भगिनी संस्था यति एयरलाइन्सले भने ट्रंक र स्टोल दुबै रुटमा उडान गर्दै आएको छ ।


क्लिकमान्डु