सोमबार यति र तारा एयरका उडान यथावत छन्: एयरलाइन्स



काठमाडौं । अग्रणी हवाई संस्था यती एअरलाइन्स र तारा एअरले आजका लागि पूर्वनिर्धारित सम्पूर्ण उडानहरु यथावत रहेको जनाएको छ ।

यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा संचालकबीचको छलफल पश्चात उडान सुरक्षा र स्वास्थ्य मापदण्ड पालना गर्ने गरी प्रत्येक २० मिनेटमा एउटा उडानका कोटा तय गर्दा यतीले १० वटा उडान गर्ने कोटा पाएको थियो ।

हिजै साँझ बसेको मन्त्रिपरिषदको बैठकले सोमबार राति १२ बजे पश्चात आन्तरिक उडान बन्द गर्ने निर्णय गरेपछि यात्रुहरुको सुबिधालाई ध्यानमा राखि आज निर्धारित सम्पूर्ण उडान तालिका यथावत रहेको यती एअरलाइन्सले जनाएको छ । साथै उडानका लागि यथाशीघ्र सम्पर्क गर्नपनि यात्रुहरुलाई आह्वान गरेको छ ।

यती एअरलान्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार भोलिदेखि सम्पूर्ण उडानहरु बन्द हुनेभएपछि यात्रुहरुबाट आज उडान भर्ने माग बढेकोले यात्रुहरूको सुबिधालाई मध्यनजर गर्दै उडान सुरक्षा र स्वास्थ्य मापदण्डलाई अनुसार सम्पूर्ण उडानहरु यथावत गरेको हो ।

’कोटा प्रणालीअनुसारको उडान तालिकामा कतिपय गन्तव्यका हाम्रा उडानहरु बन्द गर्नुपरेको थियो, अब आज सम्पूर्ण उडान यथावत रहनेछ,’  बर्तौलाले भने  ।


क्लिकमान्डु