हिमाल आरोहणका लागि २५७ जनाले लिए अनुमति, साढे १९ करोड राजस्व संकलन
काठमाडौं । कोरोना महामारीपछि थलिएको पर्यटन क्षेत्रमा सकारात्मक संकेत देखिएको छ । जारी सिजनमा विदेशी पर्यटकको संख्या न्यून भए पछि हिमाल आरोहणका लागि भने जारी सिजनमा मात्रै २५७ जनाले अनुमति लिएका छन् ।
सगरमाथा, अन्नपूर्ण, धौगालागिरि, नेप्से, मनास्लु, लोत्से, टुकुचे र पुमोरी हिमाल आरोहणका लागि विभिन्न ३१ वटा समूहले पर्यटन विभागबाट अनुमति लिएका छन् ।
जसमध्ये सबैभन्दा बढी सगरमाथा आरोहणका लागि मात्रै १३८ जनाले शुक्रबारसम्म अनुमति लिएका छन् भने अन्नपूर्ण हिमाल आरोहणका लागि ४४ जनाले अनुमति लिएका छन् ।
त्यसैगरी धौलागिरि हिमालका लागि १५ जना, नुप्से हिमालका लागि ९ जना, लोत्से हिमाल आरोहणका लागि ३० जनाले अनुमति लिएका छन् भने पुमोरी हिमाल आरोहणका लागि ५ जना र मनास्लु र टुकुचे हिमाल आरोहणका लागि विभागले १/१ जनाले अनुमति दिएको छ ।
विभागले २५७ जनालाई विभिन्न हिमाल आरोहणका लागि अनुमति दिएवापत १९ करोड ५३ लाख ७७ हजार ९५९ रुपैयाँ ८० पैसा राजस्व संकलन गरेको छ ।