२ पाइटललाई २ महिना निलम्बनसहित ३ वर्षसम्म तलब नबढाउने गरी निगमको कारबाही
काठमाडौं । नेपाल वायुसेवा निगमले २ जना पाइटललाई २ महिना निलम्बनसहित ३ वर्षसम्म तलब वृद्धि नगर्ने निर्णय गरेको छ । विमान हेभी ल्यान्डिङ गर्ने २ पाइलटलाई उक्त कारबाही गर्ने निर्णय गरेको छ ।
निगमले गठन गरेको अध्ययन कार्यादलको रिर्पोटका आधारमा २ जनालाई पाइलटलाई कारबाही गर्ने निर्णय गरेको निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए ।
निगमले वाइडबडी ए३३० ‘मकालु’ उडान गर्दै हेभी ल्यान्डिङ गरेर सूचना नदिने २ जना पाइलटलाई उडानमा २ महिनासम्म उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको उनको भनाइ छ ।
साथै निगमले १५ वटा सेक्टरको उडानमा उनीहरुले सिनियर क्याप्टेनको साथमा उडान गर्नुपर्ने निर्णय गरेको छ । हेभी ल्यान्डिङ प्रकरणमा क्याप्टेन महेशमान डंगोल र पाइलट पाइलटद्वय सुनील श्रेष्ठलाई निगमले यस्तो कारबाही गरेको हो ।
यसैगरी, पाइलट श्रेष्ठलाई २ वर्षसम्म उडान कमान्ड गर्ने नपाउने र डंगोललाई ३ वर्षसम्मको तलब नबढाउने निर्णय गरेको हो । यो विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत छानबिन गरिरहेको छ ।
निगमले पाइलटद्वय सुनील श्रेष्ठ र महेशमान डंगोलले ८ जनवरीमा दोहाबाट काठमाडौं अवतरण गरेको विमान हेभी ल्यान्डिङ भएको थियो । तर, पाइलटले नियमित फ्लाइट डाटा विश्लेषण कार्यक्रममा जानकारी दिएका थिएनन् ।
मासिक रुपमा एयरबसले पठाउने म्यानुयल रिपोर्टमा विमान हेभी ल्यान्डिङ भएको विवरण पठाएपछि निगमले उक्त विषय छानबिन थालेको थियो ।
निगमले विमान हेभी ल्यान्डिङ भएको विषय ९ फेब्रुअरीमा थाह पाएको थियो । थाहा पाउने बित्तिकै किन जानकारी नगराएको भन्दै पाइलटहरुलाई सोध्दा उनीहरुले जवाफ नदिएपछि अनुसन्धानका लागि उनीहरुलाई उडानमा प्रतिबन्ध लगाइएको थियो ।
हेभी ल्यान्डिङ भएको विमान अहिले पनि ग्राउन्डेड छ । निगमले उक्त घटनाका छानबिनका लागि वरिष्ठ क्याप्टेन युवराजकुमार भट्टराईको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो ।
अन्तर्राष्ट्रिय हवाई सुरक्षा मापदण्ड तथा निगमको आफ्नै सुरक्षा व्यवस्थापन प्रणाली बमोजित आन्तरिक सुरक्षा जाँचबुझ गर्न भट्टराईको संयोजकत्वमा बनाएको समितिमा क्याप्टेन विजय लामा, मनिष कुमार साह र डम्बर रावत सदस्य थिए ।
यसैगरी नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि यो विषयमा छानबिन गर्न पूर्व सुरक्षा महाशाखामा प्रमुख भेषराज सुवेदीको संयोजकत्वमा कमिठी गठन गरेको छ। कमिठिले पनि अहिले अध्ययन गरिरहेको छ ।