टिकटकमा विज्ञापन गर्न पाइने सुविधा थपिँदै, लाइभबाटै सामान खरिद गर्न सकिने



चिनियाँ भाइरल भिडियो एप ‘टिकटक’ले अमेरिकी इकमर्स बजारमा जबरजस्त हस्तक्षेप गर्ने रणनीति लिएको छ । सिलिकन भ्यालीका ठूला भनिने फेसबुक जस्ता ठूला सामाजिक सञ्जाललाई माथ दिने गरी रणनीति लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

चिनियाँ बाइटडान्स कम्पनीले सञ्चालन गर्दै आएको टिकटक प्रयोगकर्तामाझ निकै लोकप्रिय छ । यही लोकप्रियतालाई टिकटकले व्यवसायिक रुपमा पनि जबरजस्त उतार्ने योजना अनुसार आफूलाई अगाडि बढाएको छ ।

अब टिकटकको नयाँ व्यवसायिक रणनीति अनुसार फेसबुक जस्ता सामाजिक सञ्जालमा जस्तै विज्ञापन गर्न र त्यसबाट आम्दानी गर्न पाइने भएको छ । फाइनान्सियल टाइम्समा प्रकाशित पछिल्लो विवरणअनुसार टिकटकको लाइभस्ट्रिममार्फत् केही स्टेप फलो गरेर मात्रै पनि सपिङ गर्न सकिने गरी विकास गरिरहेको छ । टिकटकले यसै वर्ष थप नयाँ फिचरहरु समेत ल्याउन लागेको छ ।

टिकटकले पहिलो चरणमा लाइभ स्ट्रिममार्फत् विभिन्न ब्राण्डको विज्ञापन गर्नुका साथै प्रयोगकर्तालाई खरिद र बिक्रीको समेत अवसर प्रदान गर्नेछ । यसका लागि टिकटकले इकमर्स प्लेटफर्म सोफिफाइसँग साझेदारी गरेर फेसबुक जस्ता सामाजिक सञ्जाललाई टक्कर दिने तयारी गरेको हो ।

गत वर्ष फेसबुकले फोटो सेयरिङ एप इन्स्टाग्राममार्फत् इकमर्सलाई प्रबर्द्धन गरेको थियो । त्यसमार्फत् फेसबुकले डिजिटल प्लेटफर्ममार्फत् व्यवसाय गर्ने अभिप्रायले आफूलाई विकसित गरेको थियो ।

टिकटकका अनुसार टिकटकका ४० प्रतिशत यस्ता प्रयोगकर्ता छन् जसको फेसबुक अकाउन्ट छैन भने ६३ प्रतिशत प्रयोगकर्तासँग ट्विटर खाता छैन । हङकङ स्टक एक्सचेञ्जमा कम्पनीको मूल्य १६० बिलियन डलर बराबरको भ्यालुएसन छ । तर टिकटकका प्रबर्द्धक कम्पनी बाइटडान्सले भने १८० बिलियन डलर बराबरको भ्यालुएसन भएको दावी गरेको छ ।


क्लिकमान्डु