प्रचण्ड-माधव समूहद्वारा दोस्रो चरणका आन्दोलनका कार्यक्रम घाेषणा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा बिघटनको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेपछि प्रचण्ड–माधव समूहको नेकपा आन्दोलनरत छ ।
समूहले आज राजधानीमा कार्यक्रम आयोजना गरी दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
समूहले आगामी पुस २० गतेसम्म पालिकास्तरमा र २५ गतेसम्म वडा स्तरमा पार्टी भेला र संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको छ ।
त्यसैगरी पुस २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका र वडा स्तरमा संघर्ष समिति गठन गरिनेछ भने २१ गते संघीय राजधानी र विभिन्न् सहरी केन्द्रमा राजनीतिक पार्टीहरुसँग अन्तरक्रिया गर्ने समूले जानकारी दिएको छ ।
त्यसैगरी पुस २३ गतेसम्म नागरिक समाजसँग अन्तरक्रिया, २४ गते सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र र संविधानको पुस्तक दिने र राष्ट्रका नाममा क्षमायाना गरी गलत कदम सच्याउने अनुरोध गर्ने बताएको छ ।
समूहले २६ पुसमा सडक संविधान वाचन व्याख्या कार्यक्रम, २७ पुसमा सुदुरपश्चि, लुम्बिनी र प्रदेश नम्बर १ मा र २८ गते प्रदेश नम्बर २, गण्डकी र कर्णाली तथा २९ गते बाग्मति प्रदेशमा बृहत कार्यकर्ता भेला गर्ने समेत निर्णय गरेको छ ।
त्यसैगरी २८ पुसमा घरघरमा पर्चा वितरण, गाउँटोलमा कालो झण्डा गाड्ने, र असंवैधानिक र प्रतिगामी कदमविरुद्ध सबै वडामा ब्यानर राख्ने, २९ पुसमा निर्वाचन क्षेत्रस्तरीय कार्यकर्ता भेला, ३० पुसमा सबै वडामा विरोध प्रदर्शन र सभा गने निर्णय गरेको छ ।
साथै ५ माघमा सबै पालिकामा विरोध प्रदर्शन तथा सभा, १० माघमा राजधानीलगायतका सबै सहरी केन्द्रमा मोटरसाइकल र्याली, १६ माघमा प्रदेश १, गण्डकी, लुम्बिनी र कर्णाली र सुदुरपश्चिममा र १७ माघमा प्रदेश २ मा विरोध सभा गर्ने निर्णय गरेको छ । समूहले २२ माघमा वडा तहमा मसाल जुलुस, २३ माघमा राजधानीमा विरोध प्रदर्शन गर्ने समेत समूहले निर्णय गरेको छ ।
सबै सभा, प्रदर्शन तथा भेला शान्तिपूर्ण समेत हुने नेकपाले स्पष्ट पारेको छ ।