पाकिस्तानमा ५ वटा डेटिङ एप्समाथि प्रतिबन्ध
पाकिस्तान टेलिकम्युनिकेशन अथोरिटिले ५ वटा अनलाइन डेटिङ र लाइभ स्ट्रिमिङ एप्समाथि प्रतिबन्ध लगाएको छ । उक्त एप्सको प्रयोगले अनैतिक र नराम्रो गतिविधिमा टेवा पुगेको बताइएको छ ।
पाकिस्तान टेलिकम्युनिकेशन अथोरिटी (पिटिए)का अनुसार टिन्डर, ट्याग्ड, स्कोउट, ग्रिन्डर, से हाइ एप्समाथि प्रतिवन्ध घोषणा गरिएको छ । उक्त एप्सहरुको प्रयोगबाट समाजमा नराम्रो असर पुगेको आरोप लगाइएको छ ।
यसअघि पिटिएले प्रतिबन्ध भएका एप्सका व्यवस्थापनलाई नराम्रो प्रभाव पार्ने विषयवस्तुमाथि हेरफेर गर्न र लाइभ स्ट्रिममा पनि पाकिस्तानको स्थानीय कानून अनुसार सुधार गर्न भनेको थियो ।
समय सीमाभित्र उक्त प्लेटफर्महरुले सूचनाको कुनै जवाफ नदिएपछि प्रतिबन्ध गर्ने निर्णयमा पुगेको पिटिएले जनाएको छ ।
तर उक्त निर्र्णय डिजिटल राइट्स ग्रुपसम्म आधिकारिक रुपमा पुगेको छैन । देशका वयस्क समूहको स्वमूल्यांकनमाथि पिटिएले जबरजस्ती हस्तक्षेप गरेको आरोप पिटिएमाथि लागेको छ ।
डिजिटल राइट्स ग्रुपका साहजद अहमेदले भने– यदि वयस्कहरुले एप्समा जोडिन चाहे भने त्यो उनीहरुको रुचिको विषय हो, उनीहरु जोडिन हुने वा नहुने भन्ने राज्यले निक्र्यौल गर्ने विषय होइन् । साथै पिटिएको यो निर्णय हास्यास्पद भएको र यसको विकल्प मानिसले खोजेरै छाड्ने समेत उनको तर्क छ ।
लोकप्रिय सामाजिक सञ्जाल टिन्डरले पाकिस्तानी अधिकारीहरुसँग छलफल गरेर समस्या समाधान गरिने जनाएको छ । साथै टिन्डरले भनेको छ– हामीलाई हाम्रो उत्पादनबारे छलफल र सुधार गर्ने मौका दिएकोमा धन्यवाद दिन चाहन्छौ ।
लाइभ स्ट्रिमङ एप्लिकेशन विगो लाइभ बन्द गरेपछि सोसल मिडियामाथि पनि प्रतिबन्ध लगाउने निर्णय भएको हो । भिडियो सेयरिङ एप टिकटकमा पनि अनैतिक, अभद्र विषयवस्तु भएको भन्दै बन्द गर्ने चेतावनी दिइएको छ ।
यसअघि बन्द गर्न चौतर्फी दबाब आएपछि पिटिएले अनलाइन गेम पब्जीमाथि पनि प्रतिबन्ध लगाएको थियो । पछि आफ्ना विषयवस्तुमाथि हेरफेर गर्ने आश्वासन दिएपछि पब्जीमाथिको प्रतिबन्ध पिटिएले फुकुवा गरेको थियो ।