टिकटक प्रतिबन्ध भएको भारतमा अर्को चिनियाँ एप ‘स्न्याक’को लोकप्रियता बढ्यो, २ करोड बढी डाउनलोड



भारत र चीनको सीमावर्ती क्षेत्र लद्दाखमा तनाव उत्पन्न भएसँगै भारतले हालसम्म २२४ वटा चिनियाँ मोबाइल एपमा प्रतिबन्ध लगाइसकेको छ । दुई देशका सैनिकहरुबीच झडप हुँदा हासम्म २० जना भारतीय सैनिकको मृत्यु भइसकेको छ ।

भारतले एपमा प्रतिबन्ध लगाएसँगै खासगरी अन्य सर्ट भिडियो क्याटागोरीमा नयाँ एपको बजार बिस्तारमा भने राम्रो सम्भावना देखिएको छ ।

यसैबीच टिकटकको विकल्पमा चिनियाँ एप ‘स्न्याक’को लोप्रियता भने ह्वात्तै बढेको छ । त्यति मात्रै होइन यसबीचमा भारतीय तथा अन्य विदेशी एपको डाउनलोडको संख्या निकै बढेको छ । जसमा स्न्याक भिडियो पनि समावेश छ ।

२१ जुलाईदेखि स्न्याक भिडियो भारतमा गुगल प्ले स्टोरमा निशुल्क उपलब्ध भएको वर्गमा टपमा छ ।

हालसम्म यो एप भारतमा मात्रै २ करोड ३० लाखभन्दा बढी पटक डाउनलोड भइसकेको छ । यो भिडियो एप बनाउने कम्पनी कुखाशु टेक्नोलोजीको कुवाई एप पहिले नै भारतमा प्रतिबन्ध भइसकेको छ । कम्पनीले एपको भारतमा पूरै सञ्चालन बन्द गरिसकेको छ ।

अगस्ट ३ मा भारतमा डाउनलोड हुने टपमा ५ वटा सर्ट भिडियोसँग सम्बन्धित एप थिए । जसमध्ये ४ वटा भारतीय एप थिए । यी चार एपमा एमएक्स टकटक, जोश, मोज र सेयरच्याट थिए । तर पछिल्लो १४ दिनमा स्न्याक भिडियो सबैभन्दा अगाडि छ ।

हाल यो भिडियो २७ जुलाईपछि मात्रै ८० लाखभन्दा बढी पटक डाउनलोड भइसकेको छ । यो एपले गुगल प्ले स्टोरमा ४.३ स्टार रेटिङ पाएको छ । यो एपको साइज ५० एमबी छ ।


क्लिकमान्डु