कोरोना कहरलाई यसरी बदल्न सकिन्छ कृषि क्रान्तिमा, यस्तो संयन्त्र बनाऔं: भरत ढकालको लेख
कृषिले कुल गार्हस्थ उत्पादनमा एकतिहाई योगदान दिएको छ भने दुइतिहाईभन्दा बढी नागरिकहरुको मुख्य पेशा कृषि नै हो भन्ने गरिन्छ । बढीभन्दा बढी नागरिकको आश्रित पेशा कृषि भएता पनि यसले देशको अर्थतन्त्रमा जति सकारात्मक प्रभाव पार्नु पर्ने हो, त्यो हुन सकेको छैन । करिव ३ दशक अघिको निर्यातमुखी कृषि अब आयातमा निर्भरता बढ्दैछ । कृषिलाई रेमिट्यान्सले विस्थापित गरिरहेको तीतो यथार्थ हाम्रो सामु छर्लङ्ग छ । देशको दीगो र आत्मनिर्भर अर्थतन्त्रका लागि कृषि क्षेत्रको विकास र विस्तार गर्नु पर्ने कुरामा कसैको दुइमत सायद नहोला ।
नेपालमा उपलब्ध जनशक्ति (श्रमशक्ति), भूबनोट, जलवायु र संभावनालाई विश्लेषण गर्ने हो भने कृषिले अहिलेसम्म धेरै फड्को मारीसक्नु पर्ने हो । तर, कृषिमा आवद्ध जनशक्ति र उत्पादनलाई तुलना गर्ने हो भने प्रतिव्यक्ति उत्पादकत्व अत्यन्तै न्यून छ । किन नेपालको कृषि हातमुख जोड्नेमात्र आधार बन्न पुग्यो ? किन यसमा व्यवसायिकता ल्याउन सकिएन ? किन यसलाई निर्यातको मुख्य क्षेत्र बनाउन सकिएन ? किन युवाहरुको रहरको (आकर्षक) पेशा बनाउन सकिएन ? विश्लेषण यहीँबाट शुरु गर्नु पर्दछ ।
हामी कहाँ चुकेका छौं ? हाम्रो विगतका रणनीति, योजना र परिचालनमा कहाँ कमजोरी भयो ? दुइतिहाईभन्दा बढी जनशक्तिको पेशा हुँदा किन अपेक्षित परिणाम आउन सकेन ? किन कृषि उपजको आयात बृद्धि भइरहेको छ ? नेतृत्व र नीति निर्माणको तहमा बस्नेले कृषि क्षेत्रको विकास र प्रवद्र्धनको लागि अध्ययन गरेनौं कि ? विदेशमा भएका कृषि क्रान्तिलाई अवलोकन गरेनौं कि ? कृषिको नाममा भाषण, सभा र गोष्ठीहरु गरेनौं कि ? अनुदान वितरण र तालिमका कुरा गरेनौं कि ?
तर वास्तविकता, झनपछि झन् कमजोर क्षेत्रकोरुपमा कृषि भएको हाम्रो अगाडि छ । यसर्थ, नेपालको कृषि क्षेत्रको रुपान्तरणबिना हामीले अपेक्षा गरे अनुरुपको रोजगारी सिर्जना र गरिबी न्युनिकरणमा अगाडि बढ्न सक्दैनौं । कृषि क्षेत्रमा टड्कारोरुपमा देखा परेको समस्या भनेको कृषकको उपजले न्यायोचित मूल्य र बजार नपाउनु हो । जब किसानले आफ्नो लागत र जोखिममा उचित प्रतिफल पाउँदछन्, यो क्षेत्र पनि व्यवसायिक र रोजाईको पेशामा रुपान्तरण हुन बेर लाग्दैन ।
अब, कृषिलाई व्यवसायिक बनाउनको लागि संस्थागत संयन्त्रको आवश्यकता पर्दछ । यसको लागि उपभोक्ताको माग र रोजाई अनुसारको गुणस्तरीय उपज किसानबाट उत्पादन गराई सोको सुनिश्चित प्रतिफल किसानले पाउने बजार प्रणालीको विकास गर्नु पर्दछ ।
कोरोना भाइरस नेपालीका लागि यसरी बन्न सक्छ अवसरः भरतराज ढकालको बिचार
नेपालको गरिवीको दर विगतका केही वर्षहरुदेखि क्रमशः घट्दै आइरहेको तथ्यांकले देखाएको छ । यसको प्रमुख कारण लाखौंको संख्यामा विदेशिएका नेपालीहरुले पठाएको रेमिट्यान्सको योगदान नै प्रमुख कारण हो भन्नेमा कसैको विमति छैन । अहिले विश्वव्यापी महामारी भइसकेको कोरोना भाइरसको संक्रमणको कारणले विदेशिएका अधिकांश नेपालीहरु बेरोजगार भई स्वदेश फर्कने करिब निश्चितजस्तै भइसकेको छ । ती लाखौं नेपालीहरु स्वदेश फर्कन पाउँ भनी सरकारलाई हारगुहार पनि गरिरहेका छन् । वैदेशिक रोजगारमा जाने तयारीमा रहेका युवाहरु चाहेर वा नचाहेर यहीँ रोकिने अवस्था आएको छ ।
फर्कने र रोकिने श्रमशक्ति अब देशमा रहनु पर्ने अवस्था भएकोले हालकै अवस्था रही रहेमा बेरोजगारीको समस्या विकरालरुपमा देखा पर्नेछ । बेरोजगारीले सामाजिक र आर्थिक विसंगति निम्त्याउने छ । अराजकता र अनुशासनहिनता मौलाउने छ । जबसम्म यो जनशक्तिलाई उत्पादनमूलक र श्रृजनशील कार्यमा आवद्ध गराउन सकिँदैन, त्यसले अस्थिरतालाई मलजल गर्र्नेछ । यसर्थ, कृषि क्षेत्र नै यस्तो क्षेत्र छ, जसमा यो जनशक्तिलाई सहजै, छिटो र शीघ्र प्रतिफल प्राप्त हुने कार्यमा परिचालन गर्न सकिन्छ । यसमा सरकारले उपयुक्त वातावरणको लागि नीतिगत व्यवस्था गर्न सक्दछ भने संस्थागत क्षेत्रबाट कृषि क्षेत्रको विकास, प्रवद्र्धन र बजारीकरण गर्न निजी क्षेत्रका कम्पनीहरुले अहम् भूमिका खेल्न सक्दछन् ।
हाल कृषि क्षेत्रमा भूमिका खेलेको व्यक्तिगत पहल र संरचना अपारदर्शी, ठूलो जोखिम लिन नसक्ने, आवश्यक सम्पूर्ण पूर्वाधार विकास गर्न नसक्ने र अनेकन सीमितताको घेरामा बाँधिएकोले संस्थागत प्रणालीलाई प्रोत्साहन गर्नु पर्ने आवश्यकता देखिएको छ । किसानहरु गुणस्तरीय उत्पादनमा मात्र केन्द्रीत रही भण्डारण, बिक्री बितरण, मूल्यमा हुने उतार चढाव र संभावित जोखिमहरुको बारेमा चिन्ता लिनु नपर्ने वातावरण बनाउन सकेमा उत्पादन बृद्धि पनि हुने र बढी भन्दा बढी कृषकलाई कृषि क्षेत्रमा आकर्षित गर्न सकिन्छ ।
उत्पादनपूर्व र उत्पादन पश्चातका क्रियाकलाप र साधनहरुमा संस्थागत क्षेत्रको संलग्नता बढाउन सकेमा अहिले भएका वेथितिहरुमा न्यूनीकरण गर्दै प्रतिफलको सुनिश्चितता किसानहरुलाई प्रदान गर्न सकिन्छ ।
कृषि उत्पादनको लागि विभिन्न प्रकारका साधनहरुको आवश्यकता पर्दछ । उपयुक्त प्रविधि, बीऊ, मल, औजार, औषधी, सिंचाई, ज्ञान, सीप, पूँजी र श्रमले कृषि उत्पादनलाई ग्यारेन्टी गर्दछ । श्रमको लागि नेपाली जनशक्ति पर्याप्त छ, पूँजीको लागि नेपालमा बैंक तथा वित्तीय संस्थाहरुको उल्लेख्य उपस्थिति रहेको छ ।
नेपाल राष्ट्र बैंकले कृषि क्षेत्रमा लगानीको लागि निर्देशित पनि गरेको छ । यो वाहेकका अन्य साधन र उपकरणको पहूँच विस्तारको लागि निजी वा सहकारी वा गैरसरकारी संस्थाहरुको पहलमा ठूला-ठूला नाफामूलक वा सामाजिक उद्यमहरुलाई परिचालन गर्नु पर्दछ । यस्ता संस्थाहरुले बजार जोखिमहरुलाई आफैंले सहन गर्न सक्ने, कृषि पूर्वाधार विकासमा लगानी गर्न सक्ने, स्वयंले रोजगारी सिर्जना गर्न सक्ने, वस्तु र सेवाको गुणस्तर सुनिश्चित गर्न सक्ने, किसानमा विश्वास आर्जन गर्न सक्ने, स्वदेशी र विदेशी बजारसम्म आफ्नो पहूँच विस्तार गर्न सक्ने संभावना देखिन्छ ।
कृषकहरुको खेतबारीमा उब्जनी भएको कृषि उपजहरुलाई बजारसम्म पुर्याई किसानहरुको जीवनस्तरमा गुणात्मक परिवर्तन गर्न यस्ता कम्पनीहरुले कृषि चक्र निमार्ण गर्न सक्दछन् । कृषि क्षेत्रमा क्रियाशील हुने यस्ता संस्थाहरुले स्थानीय वडा, गाउँपालिका, नगरपालिका, जिल्ला, प्रदेश र केन्द्रमा रहेका सरकारी र गैरसरकारी निकायहरुसंगको समन्वयमा कृषि उद्यमशीलता विकासको लागि उल्लेख्य भूमिका खेल्न सक्दछन् । साथै, उत्पादक र उपभोक्ताहरुलाई सहज तवरले जोड्न व्यवस्थापकीय कार्यहरु गर्न सक्दछन् ।
जब–जब नेपालमा विभिन्न प्रकारका विपत्तिहरु आउँछन्, त्यतिबेला कृषिलाई निकै सम्झने गरिन्छ । कृषिका विभिन्न संभावनाहरु र विकल्पहरुका बारेमा चर्चा हुन्छन् । एक प्रकारको प्रतिवद्धताहरु पनि आउँछन् । सरकारले योजनाहरु पनि ल्याउँछ । तर परिणाम उपलब्धीविहीन हुन्छन् । चाहे त्यो भूकम्प र नाकाबन्दीको बेला होस् वा अखाद्य र विषाधियुक्त खाद्यवस्तुहरु पैठारी हुँदाको बेलामा होस्, चर्चा र परिचर्चाहरु निकै भए । हुनु स्वाभााविक पनि हो, किन भने नेपालको भूबनोट र जलवायुले कृषि उत्पादनको विशिष्ट संभावनाहरु प्रदान गरेको छ ।
अब, हाम्रो मौलिक सिकाइहरुलाई एकीकृत गरी प्रविधिको उच्चतम प्रयोग गर्दै यही संभावनाहरुलाई रुपान्तरण गर्ने बेला आएको छ । हाम्रो हिँजोका दिनमा भएका कमी-कमजोरीहरुलाई आत्मसाथ गर्दै, सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी निकाय, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्थाहरु, सहकारी संस्थाहरु, कृषि विमा र कृषकहरु बीचमा आपसी सहयोग, सहकार्य, विश्वासका साथ अगाडि बढ्नुको विकल्प छैन ।
नेपालको कृषि क्षेत्रलाई एकीकृतरुपमा विकास र प्रवर्द्धन गरी कृषकलाई व्यवसायिक बनाउन निम्न पहलकदमीहरुको आवश्यकता पर्दछ । यदि सबै सरोकारवालाहरु मिलेर कार्य गर्न सक्यौं भने असंभव पनि छैन ।
पहिलोः हिँजोको दिनमा गाउँमा खेतीकिसानी गर्ने जनशक्ति थिएनन्, किनभने उनीहरु या त विदेश पलायन भएका थिए, वा सहर पसेका थिए । व्यवसायिकरुपमा खेती गर्न चाहेनन्, वा आकर्षित गर्न सकिएन वा गर्न चाहनेहरुले श्रमिकहरु पाएनन् । यसो भनिरहँदा, हामी नेपालीहरु सहरमा वा विदेशी भूमिमा विभिन्न जोखिम लिएर कठिनभन्दा कठिन र तल्लोस्तरको काम गर्न पनि तयार भयौं । यदि गाउँमा नै अविच्छिन्न नगद पैसा आउँथ्यो र हामीले कृषि कर्मलाई मर्यादित पेशाकोरुपमा लिन्थ्यौं भने घर परिवार छोडेर विदेशिने रहर सायद हुने थिएन । आज अवस्था र परिस्थिति बदलिएको छ । ठूलो संख्यामा रहेका सहर केन्द्रित जनशक्ति गाउँ प्रवेश गरिसकेका छन् । विदेशी भूमिमा रहेका जनशक्तिहरु स्वदेश फर्कन तम्तयार छन् ।
अब हाम्रो जनशक्तिलाई विभिन्न वर्गमा विभाजन गरी उनीहरुको क्षमता र सीप अनुसारको जिम्मेवारी र उद्यममा परिचालन गर्नै पर्दछ । शिक्षित तथा व्यवसायिक कृषि गर्न सक्ने जनशक्तिलाई ठूलो क्षेत्रफलमा व्यवसायिक कृषकको रुपमा विकास गर्ने र विशेष सीप तथा दक्षता नभएका धेरै जनशक्तिलाई कृषि क्षेत्रमा रोजगार सिर्जना गराई देशलाई कृषिमा आत्मनिर्भर बनाउनु पर्दछ ।
दोश्रोः हाल कृषि पेशामा संलग्न भएका तथा कृषि पेशा सञ्चालन गर्न तयार भएका कृषकहरुलाई उनीहरुको आवश्यकता बमोजिमको विश्वसनीय र गुणस्तरीय कृषि उत्पादनका सामाग्रीहरुको समयमै उपलब्धताको अभाव रहेको छ । उपयुक्त कृषि प्रविधिहरुको अपर्याप्तता, पूँजीको अभाव वा महँगो पूँजीको कारणले कृषिमा लगानी गरे अनुरुपको प्रतिफल प्राप्त गर्न सकिरहेका छैनन् । यो समस्या समाधानको लागि धेरै तहगत बिक्री गर्ने बजार प्रणालीभन्दा ठूला ठूला कृषि कम्पनीले सिधै समुदायस्तरको सामुदायिक संस्था वा सहकारी संस्थालाई बिक्री गर्ने परिपाटीको विकास गर्न सकेमा छिटो र सुपथ मुल्यमा गुणस्तरीय उत्पादनका साधनहरुको उपलब्धताको सुनिश्चितता हुने देखिन्छ ।
तेश्रोः कृषिको बिक्री वितरण वा बजारीकरणको सन्दर्भमा प्रमुख २ वटा समस्याहरु रहेका छन् । विकसित देशहरुमा बजारको अध्ययन (उपभोक्ताको माग, खपतको परिमाण, मौसम अनुसारको कृषि उपजको रोजाई, पोष्ट हार्भेष्ट व्यवस्था र उद्योगमा खपत) को आधारमा उत्पादनको क्षेत्र निर्धारण गर्छन् । र, ती उत्पादनहरु सहजै बजार खपत हुन्छन् । तर हामी एक अर्काको देखासिकीमा उत्पादन गरेर बजार खोज्न हिँड्छौ । यसरी उत्पादन गर्दा कि त किसानहरुको उत्पादन बजारको मागभन्दा धेरै भई बजार मूल्य उत्पादन लागतभन्दा कम पनि हुन सक्दछ । जसले किसानहरुलाई कृषि पेशा मै वितृष्णा पैदा गराउँछ । अथवा, बजारको मागअनुसार उत्पादन नहुँदा ती कृषि उपजहरु आयात गर्नु पर्ने र मूल्य पनि धेरै तिर्नु पर्ने हुन्छ । नेपालमा कृषि उद्योगहरुमा ध्यान नगएकोले व्यवसायिक उत्पादनले बजार पाउन सकिरहेको छैन । फलस्वरुप, ठूलो मात्रामा तयारी खाद्य वस्तुहरु आयात गरी महँगो मूल्यमा आम उपभोक्ताले खरिद गर्नु परेको तितो यथार्थ हामीमाझ छ । सञ्चालनमा रहेका केही कृषि उद्योगहरुले सतप्रतिशत वा बढी भन्दा बढी कच्चा पदार्थहरु आयात गरी ती उद्योगहरु संचालन गरीरहेका छन् । यो परिदृष्यमा नेपालमा कृषि उत्पादनको सहज खपत वा प्रसोधन गर्ने व्यवस्था गरी उद्योगहरु संचालनमा ल्याउनु पर्ने देखिन्छ । यस्तो कार्य गर्न कृषिसँग सम्बन्धित कार्य गर्न स्थापना भएका कम्पनी वा संस्थाहरुले गर्न सक्दछन् । सरकारले यस्ता कम्पनीहरुलाई प्रोत्साहन गर्ने नीति ल्याउनु पर्ने देखिन्छ ।
चौथोः नेपालको भूगोल अनुसारको कृषि उत्पादन र उत्पादकत्व बृद्धिको लागि आवश्यक अनुसन्धान र प्रसार हुन सकेको छैन । निजी क्षेत्रलाई कृषिमा आकर्षित गर्न सरकारी निकायले अनुसन्धान र प्रसारमा लगानी बढाउनु पर्ने देखिन्छ । कतिपय अवस्थामा कृषिको पूर्वाधार विकासमा सरकारी तवरबाट लगानी र सहजीकरण गर्नु पर्ने हुन्छ । तर सोही हाम्रो देशमा अभाव देखिन्छ । नेपालको भूबनोट अनुसार विभिन्न प्रकारका कृषि उपजहरुको लागि अत्यन्तै अनुकुलित वातावरणीय संभावनाहरु हिमाल, पहाड र तराइमा रहेका छन् । यो भौगोलिक विशिष्टतामा उत्पादनको प्रचुर संभावनाहरु हुँदाहुँदै पनि बीऊ, बोटविरुवाको पौष्टिक तत्व, औजारहरु र अन्य आवश्यकताको लागि आंशिक वा पूर्णरुपमा परनिर्भर रहेका छौं । स्वेदशी प्रविधि र उपकरणहरुमा प्रवद्र्धनात्मक सरकारी योगदानको खाँचो रहेको छ ।
माथि उल्लेखित कृषिमा व्याप्त समस्या र चुनौतिहरुलाई अवसरमा बदल्नको लागि संस्थागत तवरमा स्थापना हुने कृषि सम्बन्धी कम्पनीहरुले निम्न कार्यहरु गर्न सक्दछन् ।
१. कृषक, कृषक समुह तथा सहकारी संस्थाहरुलाई बजारको माग अनुसारको बृहत उत्पादनको पकेट क्षेत्र बनाई कृषि उपजको उत्पादनमा जोड गर्ने । कृषकहरुलाइ आवश्यक हुने कृषि सामाग्रीहरु (मल, बिऊ, आधुनिक उपकरण, औषधी, बिरुवा आदि) समयमा नै उपलब्ध गराइदिने, कृषकले उत्पादन गरेको उपजलाई खेर जान नदिई खरिदको ग्यारेन्टी गर्ने र कृषकको उत्पादन लागत तथा जोखिमको मात्रा अनुसार नाफासहितको प्रतिफल सुनिश्चिता गरिदिने । यसले कृषकहरुलाई उत्पादनमा उत्प्रेरित गरी कृषि उपजको आयातलाई प्रतिस्थापन गर्न सक्छ । सहरी क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरुको लागि कौसी खेती तथा रक्षान खेतीको अभ्यास गराउन आवश्यक पर्ने कुराहरुको (प्याकेजसहित) सेवा प्रदान गर्न सहजीकरण गर्ने ।
२. कृषकहरुलाई आवश्यक पर्ने गुणस्तरीय कृषि सामाग्रीहरु जिल्लास्तरीय कृषि श्रोत केन्द्र र त्यसको मातहत हरेक स्थानीय तहमा रहने कृषि सम्पर्क केन्द्र (सहकारी संस्था) मार्फत समयमा उत्पादनका साधनहरु उपलब्ध गराउने र कृषकहरुको उत्पादनलाई यही माध्यमबाट संकलन गरी बजारसम्म पहूँच बढाउने । यो प्रणालीले कृषकहरुलाई गुणस्तरीय कृषि उत्पादनका साधनहरुको समयमै सहज र सुपथ मूल्यमा उपलब्ध हुनुको साथै धेरैभन्दा धेरै व्यवसायिक किसानहरुको विकास गर्न सकिन्छ ।
३. विश्वमा विकसित भई सकेका उपयुक्त प्रविधिहरुलाई नेपालमा भित्राई नेपाली कच्चा पद्धार्थ, सीप र जनशक्ति परिचालन गरी अनुसन्धान गरेर कृषि उद्योगको स्थापना गर्ने । यसले नेपालको अनुसन्धान लागतलाई जोगाउन मद्दत गर्दछ । संभावनाको आधारमा नेपाली ज्ञान र सीपको प्रयोग गरी अन्य देशहरुलाई उपयुक्त प्रविधिहरुको विकास र निकासीमा पनि जोड दिन सकिन्छ । एक प्रदेश एक उत्पादन उद्योग (अनुसन्धान सहितको) र स्थानीयस्तरमा तिनै उद्योगहरुलाई सहयोग गर्ने घरेलु उद्योगहरुको स्थापना गर्ने । यसले नेपाली उत्पादनको प्रसोधन र खपत देशभित्र भई लाखौं नागरिकहरुलाई नयाँ रोजगारीको अवसरहरु प्रदान गर्नेछ ।
४. उत्पादित कृषि उपजहरुको भण्डारणको लागि ठूला-ठूला भण्डारण केन्द्रहरुको स्थापना गर्ने । मौसमअनुसार कृषकहरुले उत्पादन गरेका उपजहरुलाई संचित गरी बजारको माग अनुसार आपूर्ति गर्न सक्ने व्यवस्था मिलाउने । साथै, प्रशोधनजन्य उद्योगको लागि वर्ष भरीलाई आवश्यक पर्ने कच्चा पदार्थ भण्डारण गरी मागअनुसार स्वेदेशी तथा विदेशी बजारमा आपूर्ति गर्न सकियोस् ।
५. उत्पादन गर्ने किसान, बजारीकरण गर्ने कृषि कम्पनी र कर्जा लगानी गर्ने बैंक तथा वित्तीय संस्थाहरुबीच त्रिकोणात्मक सम्झौता गरी किसानको उत्पादन कृषि कम्पनीले किनि दिन्छन् । त्यसको आधारमा बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी गर्दछन र कृषि कम्पनीले किसानको उत्पादनको भुक्तानी सीधै किसानलाई नगरी जुन वित्तीय संस्थाले कर्जा लगानी गरेको छ सोही संस्थाको बैंक खातामा गरिदिने व्यवस्था हुनु पर्दछ । यस्तो प्रणालीको विकास हुन सकेमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी कृषि क्षेत्रमा स्वतः बढ्न पुग्दछ । नेपालमा समय समयमा तरलताको समस्या हुनुको मुख्य कारण भनेकै एकातिर बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी उत्पादनमुलक क्षेत्रमा केन्द्रिकृत नहुनु हो भने अर्कोतिर कतिपय उत्पादनमुलक क्षेत्रहरु व्यावसायिक रुपले संचालन हुन नसक्नु हो ।
६. किसानले आफूले बिक्री गरेको कृषि उपज उपभोक्ताले कति मुल्यमा खरिद गरेका छन् । र, उपभोक्ताले आफूले खरिद गरेको वस्तु कुन किसानले वा कुन ठाँउमा उत्पादन भएको हो भन्नेजस्ता कुराहरुको जानकारी आवश्यक भएमा सजिलै थाहा पाउन सकिने प्रणालीको विकास गर्नु पर्दछ । दैनिक उपभोग्य वस्तु वा कृषि उपजहरुको बिक्री वितरण संस्थागतरुपले हुनु पर्दछ । संस्थागत प्रणालीको विकास गर्न सकेमा राज्यलाई मुल्य तथा गुणस्तरको अनुगमन र नियन्त्रण गर्न सजिलो हुने र उपभोक्ताले गुणस्तरीय वस्तु सर्वसुलभ दरमा प्राप्त हुन सक्छ ।
७. कृषक, व्यवसायी तथा उपभोक्ताहरु सबैको आवश्यकतालाई परिपूर्ति गर्नको लागि गुणस्तरीय र सर्वसुलभरुपमा कृषि उपज र उत्पादनका साधानहरुको जाँच तथा परीक्षण केन्द्रको स्थापना गर्ने । साथै कृषिमा योगदान गर्न नयाँ सोच र योजनाका साथ आउने कृषि विद्यार्थी तथा व्यवसायीहरुको लागि इन्कुवेशन केन्द्रमा समावेश गरी आवश्यक पूँजी तथा अन्य सहयोगहरु गर्ने ।
उल्लेखित कार्यहरु संचालन गरी देशको कृषि अर्थतन्त्रलाई उकास्नको लागि मुक्तिनाथ विकास बैंकको समेत लगानी रहेको मुक्तिनाथ कृषि कम्पनी तत्परताका साथ अगाडि बढी रहेको छ । कृषिको मूल्य श्रृङखलामा आवद्ध हुने सम्पूर्ण कृषकहरु, सहकारी संस्थाहरु, सरकारी निकाय, कृषि उद्यमी, गैरसरकारी संस्थाहरु, र आम उपभोक्ताहरुलाई यस कम्पनीले लक्ष्य अनुरुप सहकार्य र सहजीकरण गर्ने नै छ ।
सम्बन्धित पक्षहरुबाट पनि आ-आफ्नो योगदान र सक्रिय भूमिकाको अपेक्षा गर्दछौं । यो सोचलाई यथार्थमा परिणत गर्न राज्यको नीतिगत व्यवस्था महत्वपूर्ण सहयोगी हुने भएकोले यसको प्रवद्र्धन र व्यवसायिक वातावरण निर्माणको लागि सरकारी निकायबाट पनि सकारात्मक सहयोगको अपेक्षा गर्दछौं ।
(लेखक भरतराज ढकाल मुक्तिनाथ कृषि कम्पनी र मुक्तिनाथ विकास बैंकका अध्यक्ष हुन् ।)