सुरक्षाका उपाय अपनाएर उद्योग खोल्ने तयारी गर्दै सरकार



काठमाडौं । लकडाउन लम्बिने सम्भावना बढ्दै गएपछि सरकारले सुरक्षाका उपायहरु अपनाएर केही उद्योगहरु सूचारु गर्ने तयारी गरेको छ ।

खाद्यान्न, औषधि र अन्य उद्योगहरु अब खोल्नुपर्ने भन्ने दबाब बढेसँगै सरकारले यसमा तयारी शुरु गरेको हो । यसका लागि अहिले उद्योग मन्त्रालयसँग छलफल भइरहेको स्रोतले बताएको छ ।

‘बैशाख १५ गतेपछि पनि लकडाउन बढ्ने सम्भावना बढेको छ, यसले लामो समयसम्म उद्योग र आयोजनाहरु बन्द हुँदा त्यसले पार्ने असर ठूलो हुने हुँदा सरकारले यसको तयारीमा जुटेको हो,’स्रोतले भन्यो ।

स्रोतका अनुसार उद्योगस्, व्यवसायी तथा अर्थविद्हरुले पनि सुरक्षाका उपाय अवलब्मन गरेर काम खोल्न सुझाव दिँदै आएका थिए । बन्द भएका हाइड्रोपावर, उत्पादनजन्य उद्योगहरु लामो समयसम्म बन्द भइराख्ने हो भने पछि आपूर्तीमा समस्या हुने देखिएकाले सरकारले यसतर्फ ध्यान दिएको हो ।

कोरोना भाइरसको महामारीका कारण यतिबेला मुलुक लकडाउनमा बसेको १ महिना पुग्न थालेको छ । यसअवधिमा नेपालमा ३१ जनामा कोरोना भाइरसको पुष्टि भएको छ भने अझ देखिने सम्भावना बढेको छ ।

यस्तो अवस्था बैशाख १५ गते लकाउन हट्ने कुनै संकेत छैन । त्यसैले लकडाउनको समय अझ लम्बिँदा यसको असर उद्योग क्षेत्रमा सबैभन्दा बढी पर्ने भएकाले सरकारले उद्योगहरु, ठूलो आयोजनाहरु खोल्ने तयारी गरेको हो ।

साथै कृषि क्षेत्रमा पनि केही खुलुको गरी पहिलो चरणमा काम सुचारु गर्ने तयारी भइरहेको उद्योग मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

‘पहिलो चरणमा अत्यावश्यक र आयोजना सुचारु गर्ने विषयमा छलफल भएको छ, यो बैशाख १५ गतेभित्रै हुने निर्णय हुने सम्भावना छ,’ उनले भने ।


क्लिकमान्डु