ढुक्क हुनुहोस्, उद्योगीको काम मन्त्रालयले ३ दिनमै गर्छ- उद्योग राज्यमन्त्री दुगड



बिराटनगर । उद्योग राज्यमन्त्री मोतीलाल दुगडले उद्योगीलाई कुनै पनि व्यवसायीको कम अब मन्त्रालयले नरोक्ने बताएका छन् ।

बिराटनगरमा आयोजित बिराट एक्सपोलाई सम्बोधन गर्दै मन्त्री दुगडले विगतमा भए पनि आफू मन्त्री भएर आइसकेपछि काम नरोकेको बताए ।

‘उद्योगीको काम जेन्युन छ भने ३ दिनमा हुन्छ, ढुक्क हुनुहोस अब समस्या हुँदैन,’ उद्योगीलाई सम्बोधित गर्दै उनले भने ।

उनले निजी क्षेत्रको मनोबल घटेको कुरा भइरहेको भन्दै त्यसमा आफू सहमत नभएको बताए ।

‘अहिले मुलुकमा स्थायीत्व छ । राजनीति, राजनीतिज्ञ, जनता परिपक्क भएका छन् । मुलुकमा बन्द हड्ताल पनि बन्द भइसकेको छ, यस्तो अवस्थामा मनोबल घटाउनु पर्ने आवश्यक छैन,’ उनले भने ।

उनले उद्योग मन्त्रालय उद्योगीको अभिभावकीय दायित्व निर्वाह गर्दै कुनै पनि मन्त्रालयमा काम परे उद्योग मन्त्रालयमार्फत् जाँदा सहज हुने समेत बताए । उनले उद्योगीलाई एकपटक लाइसेन्स दिइसकेपछि सबै काम सहजीकरण गरिदिने काम मन्त्रालयको भएको बताए ।

विगतमा चिनी मिल, पाम आयलका समस्या भएको र आफूले समस्या समाधान गरेको भन्दै उद्योगीका समस्यालाई पनि सहजीकरण गर्ने र सुल्झाउने काम गर्ने बताए ।

उनले निजी क्षेत्रलाई सरकारले ज्वाँईको व्यवहार गर्ने बताउँदै सरकार निजी क्षेत्रलाई जहिले पनि सहयोग गर्न तयार रहेका प्रष्ट पारे ।


क्लिकमान्डु